७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

संरक्षणको पर्खाइमा भिमादको ऐतिहासिक पुल, बर्सेनि बजेट फ्रिज

संरक्षणको पर्खाइमा भिमादको ऐतिहासिक पुल, बर्सेनि बजेट फ्रिज
अ+ अ-

तनहुँ । तनहुँको भिमादस्थित सेती नदीको पुरानो झोलुङ्गे पुलको संरक्षण हुन सकेको छैन । ऐतिहासिक र पुरातात्विक हिसाबले महत्वपूर्ण मानिए पनि सो पुल संरक्षणका लागि हालसम्म कुनै ठोस पहदकदमी हुन सकेको छैन ।

दिनप्रतिदिन पुल जीर्ण बन्दै गएको छ । मानिस हिँड्न प्रयोग गरिएका काठका फल्याक कुहिएर झर्न थालेपछि खाली हुँदै गएका छन् । दुई स्थानीय तह भिमाद नगरपालिका–७ र म्यादे गाउँपालिका– ५ जोड्ने यो पुलको लम्बाइ करिब १६ मिटर लामो छ । राजा सुरेन्द्र विक्रमशाहले गुठी स्थापना गर्नका लागि लालमोहर लगाएको शिलापत्रमा उल्लेख छ । श्रीकृष्ण शाही र ढुण्डीराज शाहीले ७०० रोपनी क्षेत्रफलमा गुठी दर्ता गराएका थिए ।

त्यही गुठीबाट उक्त झोलुङ्गे पुल निर्माण गरेको तथ्य फेला परेको छ । पुल निर्माणका लागि जिल्लाकै साविक ढोरफिर्दी हाल भिमाद नगरपालिकास्थित मिनाम खानीबाट फलाम उत्खनन गरी काँचो फलामलाई कुँदेर पुलको निर्माण गरिएको बताइन्छ ।

पुलमा जडान गरिएका सम्पूर्ण धातु कुनै पनि मेसिन तथा कलकारखानाबाट उत्पादन तथा प्रशोधन नगरी हातको सिप प्रयोग गरिएको देखिन्छ ।

स्थानीय खानीको फलाम प्रयोग गरी साङ्लाको झोलुङ्गे पुल बनाइएको हुनाले यसको ऐतिहासिक महत्व रहेको छ । अर्कोतर्फ स्थानीय कालीगढले नै पुल निर्माण गरेकाले यस पुलले ऐतिहासिक महत्व र पहिचान बोकेको छ ।

भिमाद नगरपालिका र गण्डकी प्रदेश सरकारले पुल संरक्षण तथा पुनःनिर्माण शीर्षकमा हरेक वर्ष आलोपालो बजेटको व्यवस्था गर्दै आएको छ । यस पुलसँग सम्बन्धित विज्ञ नभेटिँदा विनियोजित बजेट नै फ्रिज भएर गइरहेको छ ।

पुलको संरक्षण र मर्मत शीर्षकमा गण्डकी प्रदेश र भिमाद नगरपालिकाले पटकपटक गरी हालसम्म रु ९२ लाख बजेट विनियोजन गरिसकेको भीमाद नगरपालिका कार्यालयले जनाएको छ ।

भिमाद नगरपालिकाले आव २०७५/७६ मा रु ६० लाख, आव २०७६/७७ मा रु १२ लाख, आव २०७७/०७८ मा रु २० लाख विनियोजनसहित कूल रु ९२ लाख बजेट विनियोजन भइसकेको भीमाद नगरपालिकाकी सूचना अधिकारी टेकावती ढकालले जानकारी दिनुभयो ।

बजेट विनियोजन भए पनि जनशक्ति अभावका कारण निर्माण कार्य हुन नसकेको उहाँले बताउनुभयो । विसं २०७४ को निर्वाचनपश्चात् जनप्रतिनिधि आएदेखि नै बजेट विनियोजन हुँदै आए पनि काम हुन नसक्दा रकम फ्रिज भएर जाने समस्या रहेको छ ।

पुलका लागि भनेर छुट्याएको बजेटबाट काम गर्न नसकेपछि त्यसै फ्रिज भएर गइरहेको छ । उहाँले भन्नुभयो, “पुरातात्विक महत्वको पुल भएकाले संरक्षणका लागि विज्ञ व्यक्तिको पनि अभाव रहेको छ ।”

पुल संरक्षणका लागि हालसम्म नगरपालिकाले विनियोजन गरेको रकममध्येबाट रु १० लाखको लागतमा स्वागत गेट बनाउनुबाहेक पुलकै लागि भनेर अन्य रकम खर्च भएको छैन ।

नगरपालिकाले प्रदेश सरकारसँग डिपिआर तयार गरी पुल संरक्षणको प्रयास गरे पनि बजेट माग गर्दा बजेट नपरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार करिब रु ५१ लाख ४१ हजारको डिपिआर तयार गरिएको थियो । बजेट छुट्याइए पनि फ्रिज हुँदै जाने समस्या रहेकाले गत आवदेखि बजेट विनियोजन नगरिएको नगरपालिका कार्यालयले जनाएको छ ।

पुलको संरक्षणमा चासो राख्दै आउनुभएका स्थानीय ध्रुवकुमार श्रेष्ठले यसअघि ऐतिहासिक पुलको संरक्षणका लागि नगरपालिकासँग स्पष्ट स्टिमेट नहुुँदा काम हुन नसकेको बताउनुभएको थियो । पुलको संरक्षणका लागि धेरै ठाँउ धाइयो, पुरातात्विक विभागले स्पष्ट योजना ल्याउन भने पनि स्टिमेट तयार गर्न ढिला हुँदा काम अघि बढाउन नसकिएको उहाँले दाबी गुर्नभयो ।

पुलको लठ्ठाको बाहिरीस्वरुप फलामको साङ्लो हेर्दा अझै पनि कतै खियासमेत लागेको देखिदैन । पुलको दुवै छेउका लठ्ठाहरु फलामको साङ्लो तयार पारेर जोडिएको छ । उक्त साङ्लो जमिनमा गाडिएको छ । पुलको साङ्लो निकै आकर्षक छन् । यसले पर्यटकलाई लोभ्याउन सक्छ । सेती नदी माथि मोटरेवल पक्की पुल निर्माणसँगै फलामे साङ्लो झोलुङ्गे पुलको अस्तित्व हराएको छ ।

श्रीकृष्ण शाहीले पुल नजिकैको परिसरमा शिवजी, नारायण, शङ्करेश्वरी महादेव, भगवती मन्दिर, झोलुङ्गे पुल र दुई वटा कलात्मक धर्मशाला निर्माण गरेका थिए । ढुण्डीराज शाहीले शिवजी मन्दिर निर्माण गरेको तथ्य पनि फेला परेको छ ।

आफ्नै गाउँठाउँको फलाम खानीबाट निकालिएको फलामबाट निर्मित झोलुङ्गे पुल संरक्षणमा नगरपालिकाले प्राथमिकतामा राखेको भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिनुभयो । पुरातात्विक विभागसँगको निगरानीमा रहेर काम गर्न नगरपालिकाले आवश्यक पहलकदमी गरिरहेको उहाँले बताउनुभयो ।

नगरपालिका पुल संरक्षणको अभियानमा रहे पनि पुरातात्विक विभागले उत्खनन गर्न नदिएकोले संरक्षणको कार्य अघि बढ्न नसकेको नगरप्रमुख सुवेदीले जानकारी दिनुभयो ।

“पुरातात्विक विभागको निगरानीमा रहेर काम गर्न पाइन्छ भने पनि हामी काम गर्न तयार छौँ”, उहाँले भन्नुभयो, “गौरवको विषय भएकाले यसको संरक्षणका लागि इच्छा शक्ति चाहिन्छ ।” आफ्नो कार्यकालमा संरक्षणको अभावमा ऐतिहासिक पुल भन्ने नबनाउन सक्रिय भएर लाग्ने आश्वसन नगरप्रमुख सुवेदीले दिनुभयो ।