२५ भाद्र २०८३, बिहीबार
,
Latest
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारु समुदायमा अटवारी पर्वको रौनक



अ+ अ-

राँझा । पश्चिम तराईका थारु समुदायमा धार्मिक एवं सास्कृतिक महत्वको अटवारी पर्वको रौनक छाएको छ । भदौ महिनाको कृष्णाष्टमीपछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै आज अटवारी पर्व मनाउँदै छन् । यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगामा सल्लाको धूप बनाइ बालेर भीमको पूजा गर्ने प्रचलन रहेको बाँकेका थारु अगुवा चन्द्र थारुले बताउनुभयो ।

उहाँका अनुसार व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्टयाएर बाँकी भाग वर्तालुले खाने चलन छ । अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने गर्छन् । अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चालगायत पकवान र माछाको सिद्रा वर्तालुले ग्रहण गर्छन् । यो पर्व थारु समुदायको दशैँपछिको ठूलो पर्वका रुपमा रहेको उहाँको भनाइ छ ।

थारु समुदायको बसोबास रहेका बाँकेसहित बर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायत क्षेत्रमा अटवारी पर्वलाई विशेष महत्वका साथ मनाइन्छ । यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् । 

अटवारी पर्वका अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिकाले आज र सोमबार गरी दुई दिन स्थानीय बिदाको निर्णय गरेको छ । गाउँपालिकामा ठूलो सङ्ख्यामा थारु समुदायको बसोबास रहेकाले उनीहरुलाई खुशीका साथ पर्व मनाउन दुई दिन स्थानीय बिदा गरिएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनुभयो । लुम्बिनी प्रदेशमा थारु समुदायको बाहुल्यता रहेका दाङ, बाँके र बर्दियाका अन्य स्थानीय तहले समेत अटवारी पर्वका अवसरमा स्थानीय बिदाको निर्णय गरेका छन् । (रासस)