काठमाडौं । प्रहरीले संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ ।
प्रहरीले व्यक्तिगत रिसिइबी, सुनियोजित हत्या, लुटपाटका लागि हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेपनि घरमा भएको सम्पत्ति र मृतकले लगाएको गरगहना सुरक्षित भएकाले लुटपाटका लागि हत्या भएको पाइएको थिएन भने बाहिरबाट आएर घटना गराएको पनि नदेखिएको प्रहरीले जनाएको छ ।
मृतक तेजबहादुर कार्कीका भतिजो समेत रहेका लोकबहादुर कार्कीले आफैंले ६ जनाको हत्या गरेको स्वीकार गरेका छन् ।
प्रहरीका अनुसार घटना भएको दिन तेजबहादुरले खेताला आउन भनेका थिए । लोकबहादुर र उनका भाइलाई पनि बोलाइएको थियो । तेजबहादुर घटना हुने दिन पनि बोलाउन गएका थिए । बाबु र भाइ घाँसका काट्न गएका थिए भने लोकबहादुर घरमै थिए ।
बिहानै उठाउँदा लोकबहादुर रिसाए । विगतदेखि नै आफूलाई गालीगलोज गरेको मनमा गढेको आक्रोश समेत भएकाले उनले तेजबहादुरलाई पछ्याउँदै गए । गोगनको रुख भएको स्थानमा पुगेपछि उनले टाउकोमा चिर्पटले हानेको पाइएको छ ।
२–३ पटक हानेपछि तेजबहादुर ‘लोकेले मार्यो’ भनेर कराएपछि त्यो सुनेर घरमा भएकी उनकी श्रीमती कमला र बुहारी रञ्जना दौडिँदै आए । त्यो देखेपछि लोकबहादुरले तेजबहादुरको शवलाई कान्लामुनि धकेलिदिए र काकी भएतिर गए ।
उनलाई पनि त्यही चिपर्टले हाने र खोल्सा तल झारिदिए । त्यो देखेर बुहारी रञ्जना बेहोस भएर ढलिन् । उनी उठ्नभन्दा पहिले नै लोकबहादुरले चिपर्टले हाने ।
कमला र रञ्जनालाई पछ्याउँदै आएका दुई नाबालक दिपेन र गोमालाई पनि लोकबहादुरले लखेटी–लखेटी चिर्पटले हानेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
यता ५ जनाको हत्यापछि उनी तेजबहादुरकै घरमा गए । त्यहाँ हजुरआमा पार्वती कुँडो पकाइरहेकी थिइन् । लोकबहादुरले उनको टाउको भित्तामा बजारेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
६ जनाको हत्या गरेपछि लोकबहादुर घरमा गई घटनामा प्रयोग भएको चिर्पट कुँडो पकाउन बालेको आगोमा हालेको पाइएको प्रहरीले जानकारी दिएको छ ।