• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

पोखरा महानगरपालिकाको बजेट प्रस्तुत गर्न दिने सहमति



पोखरा । पोखरा महानगरपालिकामा नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि नगरसभा अवरुद्ध भएको छ ।

नगरसभाबाट बजेट पारित हुनुअगाडि नै बजेटको रातो कितावमा प्रकाशन गरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बिरोध जनाएसँगै नगरसभा अवरुद्ध भएको हो ।

एमाले जनप्रतिनिधिहरुले बिरोध जनाएसँगै बजेट प्रश्स्तुतसमेत प्रभावित भएको छ । साढे ४ बजे शुरु भएको नगरसभामा एमालेबाट निर्वाचित प्रतिनिधि राधिका शाहीले रातो किताव च्यात्दै बजेट पारित हुनुभन्दा अगाडि रातो किताव छापेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले १७६ जना नगरपालिका सदस्यको अधिकार हनन् गरी लोकतान्त्रिक विधि, विधानलाई कुल्चँदै र नगरसभा सदस्यको अधिकारलाई कुल्चँदै बजेट प्रश्तुत भन्दा अगाडि नै रातो किताव छापेकाले एमाले बजेटमा सहभागी नहुने बताउनु भयो ।

त्यस्तै, महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले रातो किताव किन प्रकाशन गरियो भन्ने विषयमा आफू अनविज्ञ रहेको बताउनु भयो । उहाँले रातो किताव किन भनियो र किन छापियो मेयरले त्यसको जवाफ दिनुपर्ने बताउनु भयो ।

त्यस्तै, महानगरका मेयर धनराज आचार्यले किताव मस्यौदामात्र भएको र बजेटको अन्तिम रातो किताव नभएको भन्दै सभामा जवाफ दिनुभयो । उहाँले महानगरको नम्बर नघटोस् भनेर ‘लिजा’ (स्थानीय तह स्वमूल्यांकन प्रणाली)मा चढाउनका लागि लेखा शाखाले नियमित कामका क्रममा बजेट ड्राफ्ट तयार मात्रै गरेको बताउनु भयो ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आफूहरुको अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै सभामा नाराबाजी गर्नुभएको थियो । उहाँहरुले रातो किताव छापेको विषयमा मेयरको जवाफबाट चित्त नबुझेको भन्दै महानगरको सभा गृहबाहिर नाराबाजी गरेका थिए । उनीहरुको नाराबाजीपछि मेयर आचार्यले १० मिनेटका लागि नगरसभा स्थगित भएको घोषणा गरेका थिए ।

पोखरा महानगरले शुक्रवार (आज) नै करिव साढे ८ अर्बको बजेट प्रश्तुत गर्ने भएको छ । महानगरका मेयर र नेकपा एमालेका नगर सदस्यहरुबीच छलफल भएसँगै बजेट पेस गर्न दिने सहमति जुटेको छ ।