काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई समेत विपक्षी बनाई सर्वोच्चमा दायर गरेको रिटमाथिको आजको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।
न्यायाधीशद्वय दीपक कार्की र मीरा खड्काको इजलासमा मुद्दाको सुनुवाइ तोकिए पनि बेञ्च(बार समन्वय समितिको बैठक परेकोले हेर्न नभ्याइनेमा राखिएको हो । सो समितिमा वरिष्ठतम न्यायाधीशद्वय कार्की र खड्कासमेत रहेका छन् ।
नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै सर्वोच्चमा रिट दर्ता गरेको थियो ।
रिटमा एमालेले १४ जना प्रतिनिधिसभा सदस्यहरूलाई गरिएको कारबाहीलाई कार्यान्वयन नगरी उन्मुक्ति दिने गरी विपक्षीहरूबाट भएको आदेश तथा निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी रिट निवेदक दलले गरेको कारबाही निष्कासनको निर्णय कार्यन्वयन गर्नू /गराउनू भनी विपक्षीहरूको नाममा परमादेश प्रतिषेधको आदेश जारी गर्न माग गरिएको छ ।