२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकारलाई समर्थन



अ+ अ-

सुदूरपश्चिम  । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको सुदूरपश्चिम प्रदेशसभा, संसदीय दलको बैठकले प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । नेकपा (एमाले)बाट अलग भई गठन भएको सो पार्टीको धनगढीमा आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । 

नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा रहेको प्रदेश सरकारमा नवगठित उक्त दलसमेतको प्रतिनिधित्व रहेको छ । बैठकले संसदीय दलको विधान बनाउन समिति गठन गरेको प्रदेशसभा सदस्य दुर्गाकुमारी कामीले जानकारी दिनुभयो । सो पार्टीको संसदीय दलको नेताका लागि तीन जना आकांक्षी देखिनु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सो पार्टीका केन्द्रीय सदस्य एवम् आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी र तारालामा तामाङ आकांक्षी रहेको बताइएको छ । 

नेकपा (एमाले) को कैलाली र कञ्चनपुरको तत्कालीन अध्यक्षमा क्रमशःसोडारी र तामाङ हुनुहुन्थ्यो । कैलालीमा गठन भएको एमालेको समानान्तर समूहलाई केही दिन अघि नै नव गठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा रुपान्तरित गरिएको थियो । 

सुदूरपश्चिम प्रदेशसभामा एमालेबाट निर्वाचित १४ प्रदेशसभा सदस्य नवगठित पार्टीमा लागेपछि प्रदेशसभामा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । एमाले सभामुख बाहेक दश जना सदस्यमा सीमित भएको छ । यस्तै प्रदेशसभामा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ सदस्य छन् । जनता सामाजवादी पार्टीको विभाजनसँगै प्रदेशसभामा रहेका सो पार्टीका दुई सदस्य पनि छुट्टाछुट्टै दलमा आवद्ध हुनुभएको छ । राजपाका प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरीले लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गराउनु भएको थियो । अर्का प्रदेशसभा सदस्य मालामति रानाथारु जनता समाजवादी पार्टीमा नै रहनु भएको छ ।