२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोठीमा पुर्याइएकी बालिका सात वर्षपछि घर फर्किंदा



अ+ अ-

काठमाडौं । १३ वर्षको उमेरमा आफन्तबाटै भारतको कोठीमा पुर्याइएकी एक बालिका सात वर्षपछि घर फर्केकी छन्। भारतको दिल्लीस्थित कागज कारखानामा काम लगाउने भन्दै लगिएकी ती बालिकालाई कोठीमा पुर्‍याइएको थियो। 

कक्षा ७ मा पढ्दै गरेकी ती बालिकालाई माइजू नन्दकली र उनकै दुई छोरी तारा र ममताले दिल्ली पुर्‍याएका थिए। बालिकाका बुवा सानैमा बिते। भाइबहिनी सानै थिए। आमाको दुःखलाई नजिकबाट देखेकी उनी काम पाउने र पैसा कमाउने प्रलोभनमा परिन् ।

‘काम कागज कारखानामा गर्ने हो। राम्रो कमाइ हुन्छ। आमाको दुःख पनि कम हुन्छ भनेपछि लोभिएँ,’ बिहीबार प्रहरीको सम्पर्कमा आएकी उनले भनिन्, ‘दिल्ली पुर्‍याएकै भोलिपल्ट दिदीहरूले कोठीमा धन्दा गर्न पठाए ।’ उनका अनुसार तारा र ममताले दिल्लीको जिपी रोडमा कोठी सञ्चालन गर्दै आएका छन्। 

उनले त्यही कोठीमा १५ महिना नारकीय जीवन बिताइन्। ‘दैनिक ४० जनासम्म ग्राहक आउँथे, यौन सम्पर्क गर्न नदिए पिट्थे,’ उनले भनिन्, ‘१५ महिना मेरा लागि १५ वर्षजस्ता भए ।’ घरबाट जाँदा महिनाबारी पनि नभएकी उनी कोठीमा पुगेपछि गर्भवती भइन्। कोठी सञ्चालककी पत्नीजस्तै बनाएर गर्भपतन मात्रै गराइएन, अस्पतालमा उनको पाठेघरसमेत झिक्न लगाइयो ।

‘पाठेघर झिकेपछि डाक्टरले ६ महिनासम्म पतिसँग यौन सम्पर्क नगर्नू भनेका थिए,’ उनले भनिन्, ‘एक महिनामै फेरि मलाई कोठीमा पुर्‍याएर धन्दा गर्न लगाइयो ।’ तारा र ममताले सञ्चालन गरेको कोठीको ५६ नम्बर कोठामा आफूलाई राखिएको उनले बताइन्। आफूलाई राखिएको कोठीमा धेरै नेपाली केटी रहेको जानकारी उनले दिइन्। 

कोठीमा पुर्याइएको १५ महिनापछि उनी एक दिन खाटबाट लडेर घाइते भइन्। ताराले स्कुटरमा राखेर उपचारका लागि भन्दै अस्पताल लाँदै थिइन्, उनले बीचैमा रोक्न आग्रह गरिन्। ‘धेरैचोटि आग्रह गर्दा पनि स्कुटर रोक्न नमानेपछि हाम फाल्छु भनेर धम्क्याएँ, त्यसपछि स्कुटी रोकिन्,’ उनले भनिन्, ‘त्यही मौकामा भागेर दुई दिनपछि मुम्बई पुगें ।’ महाराष्ट्रको पुणे बसपार्कमा अलपत्र परेकी उनलाई एक स्थानीय महिलाले धर्म छोरी बनाएर राखिन्।  

‘दिल्लीको नारकीय ठाउँबाट उम्किन पाउँदा खुसी थिएँ, मुम्बई पुगेपछि धर्म आमाले घर (नेपाल) आउन दिनुभएन,’ उनले भनिन्, ‘आफैंले एक अस्पतालमा काम गरेर केही पैसा कमाएँ, त्यसपछि भागेर नेपाल आइपुगेकी हुँ ।’  

उनलाई नेपाली बोल्न आउँदैन, अरूले बोलेको भने बुझ्छिन्। भाइको नाम याद थियो। घरको ठेगाना थाहा थियो। उनी तीजको दिन सात वर्षपछि आफ्नो घर आइपुगिन्। ‘आमा जिउँदै हुनुहुँदोरहेछ, आमालाई देखेपछि बहुत खुसी लाग्यो,’ उनले भनिन्, ‘घर पुग्दा स्वर्गमा आइपुगेजस्तो अनुभूति भयो ।’

बालिकाकी आमाले छोरीको खोजीका लागि सात वर्ष संघर्ष गरिन्। पटकपटक प्रहरी कार्यालय धाइन्। दिल्ली पुर्‍याउने नन्दकलीसँग छोरी ल्याइदिन हारगुहार गरिन्। ६ वर्षको निरन्तरको संघर्षपछि प्रहरीले अघिल्लो वर्ष माघ १८ गते मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा दर्ता गर्‍यो। ‘हामीसँग बालिका बेचिएको प्रमाण केही थिएन। 

मुद्दा दर्ता भए पनि कसैलाई पक्राउ गरेका थिएनौं,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले भने, ‘बेचिएकी बालिका नै दिल्ली–मुम्बई हुँदै नेपाल आएपछि एक महिलालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया सुरु गरेका छौं।’ प्रहरीका अनुसार बालिकाले नेपाली बोल्न भुलेकी छन्। ‘रजस्वला नहुँदा कोठीमा बेचिएकी बालिकाले पाठेघरसमेत झिकिएको बताएकी छन्,’ उनले भने, ‘घटना गम्भीर भएकाले हामीले त्यहीअनुसार अनुसन्धान प्रक्रिया अघि बढाएका छौं ।’

प्रहरीका अनुसार दिल्लीमा काम लगाउने भन्दै सुरुमा ममता बालिकाको घरमा पुगेकी थिइन्। ‘बहिनीलाई राम्रो काममा लगाउँछु, तपाईंका दुःख पनि कम हुन्छ भन्दै आएकी थिई,’ बालिकाकी आमाले भनिन्, ‘सानै उमेरकी छोरीलाई अर्काको देश पठाउन मनले मानेन, नाइँ भनेर पठाइदिएँ ।’ 

भोलिपल्ट फेरि ममताकी आमा घर पुगिन्। उनलाई पनि छोरी दिन मानिनन्। ‘म काममा गएको बेला फकाएर लगिछन्,’ बालिकाकी आमाले भनिन्, ‘भोलिपल्ट छोरी लिन जाँदा दिल्ली लगिसकेका रहेछन् ।’ प्रहरीका अनुसार बालिकाको घरबाट छिन्चुसम्म नन्दकलीले ल्याएकी थिइन् भने त्यहाँबाट ममताले दिल्ली पुर्‍याएकी थिइन्। प्रहरीले नन्दकलीलाई पक्राउ गरेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।