६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसौं महाधिवेशनको तयारीमा एमाले, नेतृत्वमा आउँलान दोस्रो पुस्ता



अ+ अ-

काठमाडौं । संघीय संसद्को सबैभन्दा ठूलो दल नेकपा एमाले यतिबेला विधान महाधिवेशन र दसौं महाधिवेशनको तयारीमा जुटेका बेला सक्रिय राजनीतिको उमेर ७० वर्षे उमेर हदको विषयले प्राथमिकता पाएको छ। आगामी असोज १५ देखि १७ सम्म विधान महाधिवेशन र मंसिर १० देखि १३ सम्ममा दसौं महाधिवेशनको मिति तय भइसकेको अवस्थामा ७० वर्षे उमेर हद कायमै राख्न सकेमा नेतृत्व हस्तान्तरणको प्रक्रिया सहज हुने एमाले नेताहरूको दाबी छ। 

दसौँ महाधिवेशनमा कुन नेताले शीर्ष तहको कस्तो जिम्मेवारी पाउनेछन् भन्ने बारेमा पनि राजनीतिमा सक्रियताको विषय निर्धारण हुने नेताहरूको भनाइ छ। ‘अहिले नवौं महाधिवेशनमै रहेको ७० वर्षे उमेर हदको प्रावधान यथावत राखिएको छ जसले गर्दा शीर्ष नेताहरूको व्यवस्थापनलाई ध्यान दिँदै पार्टीको सक्रिय जीवनबाट विवाद गर्न सहज हुनेछ,’ एमाले स्थायी कमिटीका एक सदस्यले भने। उनका अनुसार शीर्ष नेताहरूलाई सहज व्यवस्थापन गर्न सके आगमी फागुनपछि नै एमालेको नेतृत्व विस्तारै दोस्रो पुस्तामा सर्नेछ।  

पार्टीमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ७० वर्ष उमेर हदको विषय हो। अहिले बनिरहेको विधान मस्यौदामा ७० वर्षे प्रावधान हटाइएको छैन। नवौं महाधिवेशनकै निरन्तरता हो। विधान मस्यौदा समितिको संयोजकमा हालका उपमहासचिव विष्णु पौडेल रहेका छन्। नवौँ महाधिवेशनकै यो व्यवस्था कायमै रहे आउँदो फागुनमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि ७० वर्ष पूरा भएर ७१ वर्षमा प्रवेश गर्नेछन्। 

मंसिरमै महाधिवेशन भए एक कार्यकालका लागि अध्यक्ष हुन पाउँनेछन्। एमालेमा ओली अध्यक्षमै दोहोरिएमा स्थानीय निकायको निर्वाचन र संघीय तथा प्रदेशको निर्वाचन ओलीकै नेतृत्वमा गराउने र पार्टीको अवस्था हेरी सरकारमा पार्टीका तर्फबाट ओलीलाई पठाउने त्यसपछि पार्टीको नेतृत्व दोस्रो पुस्ताले सम्हाल्ने योजना समेत बनाइएको छ। 

यद्यपि यो विषय ओली आफैले चाहे मात्रै सम्भव रहेको नेताहरूको भनाइ छ। तर ओलीले फागुन ११ पछि नै पार्टीका दोस्रो तहका नेतालाई अधिकार सुम्पेर विस्तारै राजनीतिक विश्राम लिने मनस्थिति बनाएको स्रोतको दाबी छ। यदि संघीय निर्वाचनसम्म ओली पार्टी नेतृत्वमा रहे ओलीसँगै हालका महासचिव ईश्वर पोखरेल र सुवास नेम्बाङ पनि बिदा हुनेछन्। 

‘केन्द्रीय कमिटीबाट पदाधिकारी चयन गर्ने विषय यही ७० वर्षे प्रावधानसँग जोडिएको छ तर विधान अधिवेशनमा यसको विरोध हुनसक्छ र पदाधिकारी प्रतिनिधिमार्फत चयन गर्ने व्यवस्था हुनसक्छ,’ एमालेका एक स्थायी कमिटी सदस्यले भने। उनका अनुसार दुईजना महासचिव हुने तथा वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिने र ओलीलाई पार्टी कामबाट विश्राम लिन लगाएर सरकारी कामको मात्रै जिम्मेवारी दिई ससम्मान बिदा गर्नेगरी व्यवस्थापन गर्न सकिने पनि एमाले नेताहरूले जनाएका छन्। 

एमाले अध्यक्ष ओलीले पनि एकपटक प्रधानमन्त्री भएर बिदा हुने इच्छा व्यक्त गरे आगामी निर्वाचनपछि पार्टीको पोजिसनका आधारमा ओलीलाई नै अघि सार्न सकिनेगरी महाधिवेशनको बेला नेताहरूको व्यवस्थापनको उपाय निकाल्न लागिएको ओलीनिकट एक नेताले भने।  

७० वर्ष उमेर पुगेपछि एमालेको नवौं महाधिवेशनको हलबाट भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले जिम्मेवारीबाट आफैं हटेका थिए। अहिले पनि अमृत बोहोरा, महेन्द्र पाण्डे, केशव बडाल, सत्यनारायण मण्डललगायतका नेताहरूले जिम्मेवारी लिने अवस्था छैन। ११औं महाधिवेशनसम्ममा आइपुग्दा भीम रावल, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली पनि ७० वर्षका हुनेछन्। 

त्यसपछि भने सुरेन्द्र पाण्डे, विष्णु पौडेल, घनश्याम भुसाल, शंकर पोखरेल, योगेश भट्टराई, गोकर्ण बिष्ट, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवालीको काँधमा जिम्मेवारी आइपुग्नेछ। दसौं महाधिवेशन सकिएको डेढ वर्षपछि नै हालका महासचिव ईश्वर पोखरेल, सुवास नेम्बाङको पनि बिदाई हुने भएमा रावल, युवराज ज्ञवाली वा थापामध्ये एकजना नेतृत्वमा पुग्ने अवस्था छ। 

तर दसौँ महाधिवेशनमा एमालेभित्रको आन्तरिक समीकरण कसरी हुन्छ भन्नेमा निर्भर हुने नेताहरूको भनाइ छ। ‘विधान महाधिवेशनले ७० वर्षे उमेर हद कायमै राखेमा दोस्रो पुस्ताको नेताहरूलाई नेतृत्वमा पुग्न सहज हुनेछ नवौँ महाधिवेशनबाट पारित भएको यो उमेर हदलाई एक हिसाबले निकै वैज्ञानिक मानिएको छ । त्यो कायम राख्नु नै अहिलेका लागि दोस्रो पुस्ताका नेताहरूको सफलता हो,’ एक स्थायी कमिटी सदस्यले भने।  

उनका अनुसार विधान महाधिवेशनले नै आगामी नेतृत्वमा आउनसक्ने सम्भावित अनुहारलाई समेत निर्धारण गर्नेछ। ‘अहिले सबैभन्दा बढी दबाब हालका महासचिव पोखरेल र संसदीय दलका उपनेता नेम्वाङलाई परेको छ उनीहरू ओलीसँगै बिदा हुनुपर्ने अवस्था आए पार्टीको नेतृत्व लिनबाट बञ्चित हुनेछन्,’ ती स्थायी कमिटी सदस्यको भनाइ छ। 

महासचिव पोखरेलले त केही दिनअघि आगमी नेतृत्वको लागि आफू योग्य रहेको समेत बताइसकेका छन्। यसले गर्दा उनी आगामी नेतृतवको दाबेदार हुने भन्न सकिने आधारसमेत तय गरेका छन्। आकांक्षी भए पनि उनले अझै नेतृत्व लिन भने अग्रसरता भने देखाइसकेका छैनन्। पार्टी अध्यक्ष ओलीले पनि सधैंभरि आफू नेतृत्वमा नरहने उपयुक्त समय आएपछि नेतृत्व हस्तान्तरण गर्ने बताइसकेका छन्। तर उनले उपयुक्त समय कुन बेला हो भन्नेबारे केही खुलाएका छैनन्।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।