२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

एमसीसीबारे जनतामा उठेको असन्तुष्टि पहिला प्रष्ट पार अनि मात्र निर्णय (भिडियो सहित)

एमसीसीबारे जनतामा उठेको असन्तुष्टि पहिला प्रष्ट पार अनि मात्र निर्णय (भिडियो सहित)
अ अ+ अ-

नेपालको वर्तमान राजनीतिको उतारचढाव, अझ भन्ने हो भने किचलोले प्रत्येक नेपाली नागरिकलाई कुनै न कुनै हिसाबबाट असर परेको छ। एक किसिमको अन्योलताको वातावरण पनि सिर्जना गरेको छ।

त्यति मात्र नभएर अहिलेको जल्दोबल्दो विषय छ, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत जुन संयुक्त राज्य अमेरिकाको सहयोग नेपालमा भित्रिँदै छ, त्यसलाई लिएर नेपाली नागरिक र जनस्तरमा धेरै संवेदनशीलता प्रकट गर्ने मात्रै होइन, एक किसिमको आक्रोशको आवाज, विद्रोहको आवाज छ। उहाँहरू विद्रोहमा उत्रिरहनुभएको छ। यसप्रति सरकार, राज्य अत्यन्त नै संवेदनशील हुनु जरुरी छ। सम्बन्धित निकाय, मिलेनियममा च्यालेन्ज कर्पोरेसन र संयुक्त राज्य अमेरिका पनि नेपालीको भावना र उहाँहरूको जुन असन्तुष्टि छ, त्यसप्रति संवेदनशील हुनु जरुरी छ। 

नेपाली जनताको भावना र चित्त नबुझाईकन गरिएका क्रियाकलापहरूले मलाई लाग्छ, दूरगामी असर पर्नेछ। एक किसिमले प्रत्युत्पादक पनि हुनेछ। हुन त, हरेक राज्यको आफ्नो आन्तरिक नीति, परराष्ट्र नीति, ग्लोबल नीति हुन्छ। त्यो सबै राष्ट्रको हुन्छ, नेपालको पनि छ।

नेपालको विशेषता के हो भने नेपालको परराष्ट्र नीति चाहे त्यो विगतमा होस् या वर्तमानमा नै किन नहोस्, एउटा परराष्ट्र नीति असल नीतिमा आधारित, पञ्चशीलमा आधारित, सबै राष्ट्रहरूसँग मैत्रीपूर्ण वातावरण सिर्जना गर्ने, सौहार्दपूर्ण दौत्य सम्बन्ध कायम गर्ने नै रहँदै आएको छ। विश्व राजनीति विभिन्न तरिकाले धमिलिँदा पनि विभिन्न कालखण्डमा विभिन्न किसिमका उतारचढाव विश्व राजनीतिमा हुँदाखेरि, शक्तिशाली राष्ट्रहरू आ—आफ्नो कोणमा सीमित हुँदा पनि नेपालले विश्वलाई हेर्ने नजर जहिले पनि मैत्रीपूर्ण रहेको छ। र, सबै राष्ट्रसँग विभिन्न कोणमा उभिएका राष्ट्रहरू चाहे त्यो शितयुद्धमै किन नहोस्, सबैसँग त्यही किसिमको मैत्रीभाव मैत्रीपूर्ण वातावरण सौहार्दपूर्ण दौत्य सम्बन्ध नै कायम गर्दै आइरहको छ। 

त्यसैको प्रतिफल ती सबै राज्यहरूले विगतमा कुनै न कुनै हिसाबमा नेपाललाई सहयोग पुर्‍याउँदै आएको छ, नेपालको अर्थतन्त्र र अन्य विकासमा, सामाजिकस्तरमा सहयोग पुर्‍याउँदै आइरहेको छ। त्यसप्रति नेपाल र नेपालीहरू जहिले पनि कृतज्ञ छन्। र, त्यही किसिमको मैत्रीपूर्ण वातावरण रहिरहोस् भन्ने नेपाल र नेपालीहरूको चाहना हो।

अहिले एमसीसीअन्तर्गत जुन सहयोग आउँदैछ, यो बदलिएको विश्व राजनीतिको जुन परिवेशमा आइरहेको छ, त्यसप्रतिचाहिँ नेपाली जनसमुदायको असन्तुष्टि छ। बहुसंख्यक नेपाली जनसमुदायले आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रतामाथि प्रत्यक्ष हस्तक्षेप भएको महसुस गर्नुभएको छ, त्यो स्वाभाविक पनि हो। 

सबै राष्ट्रको नागरिकका लागि आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रता र आफ्नो राष्ट्रप्रतिको अधिकार र हक कायम रहोस् भन्ने सबैको इच्छा हुन्छ। यस मानेमा हरेक राष्ट्रले अहिलेको नेपालीको जुन मर्म छ, जुन भावना छ, त्यसलाई प्रत्येक नेपालीको नागरिकले बुझ्नु पनि हुन्छ, आइडेन्टिफाई पनि गर्नुहुन्छ। संयुक्त राज्य अमेरिकाकै नागरिकहरूले पनि आइडेन्टिफाई गर्नुहुन्छ। 

जब नेपालीलाई आफ्नो सार्वभौमसत्ता, आफ्नो स्वतन्त्रता सबैभन्दा महत्वपूर्ण लाग्छ, त्यही किसिमको भावना प्रकट गर्नुहुन्छ भने त्यो कुनै नौलो र असाधारण नागरिकको क्रियाकलाप होइन। त्यो प्रत्येक राष्ट्रको नागरिकले बुझ्छ। मलाई लाग्छ संयुक्त राज्य अमेरिकाले पनि यसलाई आइडेन्टिफाई गर्छ। 
त्यस मानेमा यो जुन असन्तुष्टि छ नेपाली नागरिकको– एमसीसीलाई लिएर, त्यसमा स्पष्ट गराइदिने, पारदर्शिता गराइदिने र हरेक बुँदामा नेपाली जनसमुदायलाई चित्तबुझ्दो वातावरण सिर्जना गरिदिने संयुक्त राज्य अमेरिका र नेपाल सरकारको उत्तरदायित्व बन्छ। 

किनकि, राष्ट्रको बहुसंख्यक नागरिकको भावनाविपरित, उहाँहरूको चाहनाविपरित यदि कुनै क्रियाकलाप गरिन्छ भने त्यसको दूरगामी असर पनि पर्न सक्छ। र, त्यो प्रत्युत्पादक पनि हुन्छ। 
आजको घडीमा विश्व राजनीतिको समीकरण केही बदलिएको छ, वातावरण बदलिएको छ।

शक्तिशाली राष्ट्रका भूमिकाहरू परिवर्तन भएका छन्। आज यो इन्फर्मेसन एजमा, इन्टरनेट एजमा हरेक राष्ट्रको क्रियाकलाप गतिविधिबाट हरेक राष्ट्रका नागरिकहरू, विशेषगरी युवाहरू सचेत र जानकार हुनुहुन्छ। उहाँहरूबाट कुनै पनि कुरा लुकेको हुँदैन। हरेक राष्ट्रले आफूलाई कसरी सञ्चालन गरिरहेको छ, विश्वमा उसले आफ्नो भूमिका कसरी प्रकट गरिरहेको छ, उसको ग्लोबल पोलिसी कस्तो हिसाबले सञ्चालन गरिरहेको छ भन्नेमा हरेक राष्ट्रको विशेषगरी युवा जनसमुदाय स्पष्ट, सचेत र जानकार हुनुहुन्छ। 

त्यसैले, शक्तिशाली राज्यहरूले आफ्ना क्रियाकलापहरू असाध्यै जिम्मेवारीपूर्वक सञ्चालन गर्नु अत्यन्त जरुरी छ।

कुन किसिमको छवि उहाँहरूले विश्वमा राख्नुभएको छ भन्नेप्रति पनि अत्यन्त संवेदनशील हुनुपर्छ। किनकि, उहाँहरूले कायम गरेको छविले नै अन्य राज्यहरूले, अन्य राज्यका नागरिकहरूले उहाँहरूको मूल्यांकन गर्ने हो।

पछिल्लो २५र३० वर्षमा अमेरिकाको जुन गतिविधि र क्रियाकलाप भएको छ, त्यसप्रति प्रत्येक राष्ट्रका नागरिकहरू, युवाहरू जानकार हुनुहुन्छ। चाहे त्यो अमेरिकाको अफगानिस्तानमा भएको भूमिका किन नहोस्, २० वर्षको उपस्थिति र टु ट्रिलियन डलरको खर्चबापत भएको जुन परिणाम छ, त्यसलाई पनि सबैले नियालिरहनुभएको छ। अन्य राष्ट्रमा पनि जुन क्रियाकलाप भएको छ, त्यसलाई पनि नजिकबाट नियालिरहनुभएको छ। 

विशेषगरी, शक्तिशाली राष्ट्रहरू संयुक्त राज्य अमेरिकाको आन्तरिक राजनीति कस्तो हिसाबले चलिरहेको छ भन्ने कुरामा पनि विश्वका नागरिकहरू जानकार हुनुहुन्छ। त्यसैले, पनि शक्तिशाली राष्ट्रहरूले आफ्नो छविप्रति अत्यन्तै संवेदनशील र जिम्मेवार हुनु जरुरी छ। 

किनकि, यदि छवि धमिलिएको खण्डमा, छवि बिग्रिएको खण्डमा फेरि विश्वले त्यो राष्ट्रलाई हेर्ने नजर पनि बदलिन सक्छ, परिस्थिति पनि बदलिन सक्छ। विश्वासको स्तर पनि घट्न सक्छ। आज आएर जुन सहयोग संयुक्त राज्य अमेरिकाले गर्दै छ, एमसीसीअन्तर्गत नेपाललाई, त्यसमा असन्तुष्टि प्रकट हुनुमा नेपाली जनसमुदायले सायद विश्वमा पछिल्लो २५र३० वर्षमा अमेरिकाले प्रदर्शन गरेको आफ्नो छविले पनि भूमिका खेलेको हुन सक्छ। 

जुन किसिमको एमसीसीको सम्झौतापत्र छ, त्यसमा लेखिएका बुँदाहरूप्रति असन्तुष्टि भएको छ। त्यसैले एउटा ठूलो जिम्मेवारी छ, शक्तिशाली राष्ट्रका लागि कि आफ्नो छविप्रति अन्य राष्ट्रका नागरिकहरूलाई विश्वास दिलाउनु र उहाँहरूको असन्तुष्टिलाई स्पष्ट पार्नुमा ठूलो भूमिका रहन्छ र यो भूमिका निर्वाह गर्न संयुक्त राज्य अमेरिका तयार रहनुपर्छ। 

किनकि, कुनै पनि राष्ट्रको नागरिकको चाहना र भावनाविपरित त्यो मुलुकमा गरिएको क्रियाकलाप कहिल्यै पनि सौहार्दपूर्ण हुँदैन र त्यसले दूरगामी असर पार्छ। त्यो प्रत्युत्पादक हुन सक्छ। त्यसैले, यो एमसीसीलाई लिएर नेपाल सरकार र संयुक्त राज्य अमेरिका नेपाली जनसमुदायको भावना र उहाँहरूको असन्तुष्टिप्रति स्पष्ट रूपमा प्रस्ट्याउन र प्रत्येक नेपाली नागरिकको चित्त बुझाउन अत्यन्त नै आवश्यक र जरुरी देखिन्छ।

-अभिनेता राजेश हमालको फेसबुकबाट