७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

आम्दानीको स्रोत बन्दैछ वन लसुन

आम्दानीको स्रोत बन्दैछ वन लसुन
अ+ अ-

भोजपुर । खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन (हाँडे लसुन) भोजपुरका अधिकांश वासिन्दाको राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक रुपमा यसको खेती थालनी नभएपनि यहाँका स्थानीयवासीले वन लसुन विक्री गर्दै आएका छन् ।

डिभिजन वन कार्यालय भोजपुरका अनुसार यसवर्ष मात्र यहाँबाट रु एक करोड बराबरको करिब ५५ टन वन लसुन बाहिएको छ । व्यावसायीहरुले वन कार्यालयबाट पूर्जी काटेर आधिकारिक रुपमा बिक्री गर्ने गर्दछन् भने कतिपयले सिधै बजारमा पु¥याउने गरेका छन् ।

वन लसुनको विक्रीबाट यस वर्ष जिल्लामा रु। एक करोड १० लाख बराबर रकम भित्रिएको वन कार्यालय भोजपुरले जनाएको छ । खेती नगरिएपनि खेतबारी पाखाभित्तामा यो लसुन प्रशस्त मात्रामा पाइने गर्दछ । एक पटक खेतबारीमा लगाएपछि सामान्य हेरचाह गरे मात्र पनि २०/२५ वर्षसम्म आम्दानी लिन सकिन्छ ।

स्थानीयवासीले यसलाई सङ्कलन गरेर सुकाएपछि प्रतिकेजी २२० देखि २५० रुपैयाँसम्म पाउने गरेका छन् । यसको गानोलाई उसिनेर सुकाएपछि बिक्रीको लागि योग्य हुने गर्दछ । एक रोपनी जग्गामा १२० केजीसम्म उत्पादन लिन सकिने कृषकहरु बताउँछन् ।

केही वर्षदेखि वन लसुनको व्यावसायिक कारोबार गर्दै आउनु भएका रुद्र लुइँटेलले यसको बजार माग धेरै रहेको बताउनुभयो । वार्षिक रुपमा भोजपुरबाट एक करोड बढी मूल्यको वन लसुन अन्य देशमा जाने गरेको उहाँले बताउनुभयो । लुइँटेलले भन्नुभयो, ‘‘बजारमा वन लसुनको माग धेरै छ । व्यावसायिक रुपमा खेती गर्ने हो भने पनि बजारको समस्या छैन ।’’ आफूले यस वर्ष नै ३५ टन लसुन बजारमा बिक्री गर्न सकेको उहाँको भनाइ छ ।

एक प्रकारको फूल जस्तो देखिने यो लसुन फागुन/चैत महिनामा सङ्कलन गर्ने गरिन्छ । यसरी सङ्कलन भएको लसुन स्थानीय ठेकेदारले झापा, काठमाडौँलगायत विभिन्न शहरमा मात्र नभई छिमेकी मुलुक भारतलगायत देशमा समेत निर्यात गर्ने गर्दछन् । स्थानीयमा व्यावसायिक धारणाको विकास भएमा वन लसुन राम्रो आम्दानीको स्रोत बन्ने व्यवसायी लुइँटेलले बताउनुभयो । यहाँका खेर गइरहेका जग्गालाई सदुपयोग गरेर यसको व्यावसायिक खेती गरे स्थानीयको आर्थिकस्तरमा सुधार ल्याउन टेवा पुग्ने देखिन्छ ।

वन लसुन आमचोक गाउँपालिकाको थिदिङ्खा, भोजपुर नगरपालिकाको दाँवा, बोखिम, आम्तेक, पौवादुङमा गाउँपालिकाको श्यामशिला, तिवारी भञ्याङलगायत जिल्लाका विभिन्न ठाउँमा प्रशस्त मात्रामा पाइन्छ । खेतबारीमा उम्रिएर धान, मकै, कोदोलगायत बालीलाई ढाकेर दुःख दिने भएकाले किसानले उखेलेर नष्ट गर्दै आएका छन् । ‘‘यो बिक्री हुन्छ भन्ने पहिला हामीलाई थाहा थिएन । हाम्रो ध्यान यसलाई कसरी नष्ट गरेर अन्य बालीलाई जोगाउने भन्नेमा जान्थ्यो । बिक्री हुने थाहा भएपछि अहिले सङ्कलन गरेर सुकाएर बेच्न थालेका छौँ’’ टेम्केमैयुङ–१ तिम्माका कृषक डम्बरबहादुर विष्टले भन्नुभयो,‘‘सङ्कलन भएको लसुन किन्न ठेकेदारहरु घरमा नै आउँछन् । यसलाई केलाएर सुकाउन चाहिँ अलि झन्झटिलो छ ।’’

देशभरबाट सङ्कलन भएको यो लसुन डाबर नेपालमार्फत अन्य देशमा निर्यात हुने गरेको काठमाडौँमा व्यवसाय गर्दै आउनु भएका पुष्पराज खड्काले बताउनुभयो । प्रशोधन गरेर राम्रो खालको चेवनप्रासमा र त्यसबाट बाँकी रहेको वस्तु साबुनसँगै अन्य धेरै वस्तुहरुको उत्पादनमा प्रयोग हुने खड्काले जानकारी दिनुभयो ।

यो लसुन समुन्द्री सतहबाट ८०० मिटरदेखि दुई हजार मिटरसम्मको उचाइमा प्रशस्त मात्रामा पाइने डिभिजन वन कार्यालयले जनाएको छ । स्थानीयवासीको आयस्रोतमा वृद्धि गर्नको लागि आगामी दिनमा यसको खेतीलाई प्रोत्साहन गर्ने योजना रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख उदिमप्रसाद राईले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘ यहाँ धेरै वन लसुन उत्पादन हुने सम्भावना रहेकाले कृषकलाई यसतर्फ आकर्षित गर्न सकिएमा राम्रो आम्दानी गर्न सकिने भएकाले योजनावद्ध रुपमा काम गर्ने तयारीमा छौँ ।’’

रामप्रसाद राई गाउँपालिका—१ ओख्रेका एक सय बढी कृषकले यसलाई आमदानीको भरपर्दो स्रोत बनाउन थालेका छन् । एक कृषकले २०० देखि ४०० केजीसम्म विक्री गर्दै आएको स्थानीय कृषक डिबी राईले जानकारी दिनुभयो । राम्रो ढङ्गले सङ्कलन गर्न सके यसबाट मकै, आलुभन्दा राम्रो आम्दानी लिन सकिने कृषक राईको भनाइ छ ।

किसानले यसलाई फुलेको समयभन्दा पनि फूल झरिसकेपछि सङ्कलन गर्ने गर्दछन् । फूल फुलेको समयमा सङ्कलन गर्दा यसको तौल कम हुने कृषकको भनाइ छ । उचित समय पारेर सङ्कलन गरेमा एउटा गानो २५ ग्रामसम्मको हुने उनीहरुको भनाइ छ ।

के हो वन लसुन ?

नेपालको रैथाने विरुवा वन लसुनको वैज्ञानिक नाम लिलियम एसपिपी हो । यसको बोट सामान्यतः एकदेखि दुई फुटसम्म अग्लो हुन्छ । यसलाई एक प्रकारको फूलको रुपमा पनि लिन सकिन्छ । चिल्ला पातको छेउबाट सुन्दर फूलहरू फुलेको हुन्छ । तापक्रम र उचाइको आधारमा यसका फूलहरु सेतो, सुनौलो, हल्का पहेंलो फूलेको देखिन्छ भने यसको फूलमा छ वटा पुङ्केशर हुन्छ । यो बिरुवा वनस्पति जगतको लिली परिवारभित्र समावेश छ । यसको गानोमा लाग्ने पोटीहरू छाती दुख्दा खाने गरिन्छ भने यसलाई शक्तिबद्र्धक जडीबुटीको रुपमा पनि लिने गरिन्छ ।

शरीरमा तागत कम भएमा यसलाई खान सकिने स्थानीय जानकारहरुको भनाइ छ । वन लसुन घाउ, चोटपटक तथा शल्यक्रियाका बिरामीलाई औषधिको रुपमा प्रयोग हुने बताइएको छ । यसलाई कतिपय स्थानीयवासीले सजावटको लागि फूलबारीमासमेत रोप्ने गरेका छन् भने कतिपय कृषकले यसलाई मिचाहा प्रकृतिको वनस्पति रुपमा लिने गर्दछन् ।

भोजपुरलाई वन लसुनसँगै अन्य जडीबुटी उत्पादनको हिसाबले उर्बर जिल्ला मानिन्छ । यहाँ सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदमचाल, वन मूला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोठसल्ला, चिराइतो विखुम्बालगायत जडीबुटी पाइन्छ । रासस