१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

बाटो परिवर्तन गरेका ‘रोलमोडल’ किसान

बाटो परिवर्तन गरेका ‘रोलमोडल’ किसान
अ अ+ अ-

महोत्तरी । विगतमा माओवादीको सशस्त्र द्वन्द्वका बेला सुधीर नामले चिनिने महोत्तरीको भङ्गाहा–४ का ४० वर्षीय नारायण दाहालको परिचय अब पौरखी किसानमा फेरिएको छ । सशस्त्र द्वन्द्व प्रारम्भमै कमान्डरको भूमिका निर्वाह गर्नुभएका उहाँ अहिले आफ्नो गाउँबस्तीका समवयस्क साथी र पछिल्लो पुस्ताका लागि पौरखी किसानको उदाहरण बन्नुभएको हो ।

घर वरपर नै रहेको आठ कट्ठा जग्गाभित्र लटरम्म फलेका बोडी, परबल र लौकासहित तरकारी बालीमा दाहालको मेहनत फष्टाएको छ । बिहान ४ बजे ओछ्यान छोडेदेखि नै गाई/बाख्राको हेरचाह सकेर बारी पसेपछि आवश्यक स्याहार सुसार गर्ने, तरकारी टिप्ने र घरमै आइपुगेका तरकारी व्यापारीलाई आफ्नो उत्पादन तौलेर दिन भ्याइनभ्याइ हुने गरेको उहाँ बताउनुहुन्छ ।

विसं २०६५ को अन्त्यतिर माओवादी लडाकुको काम छाडेर गृहस्थीमा फर्कनुभएका दाहालले २०६८ यता भने खेतीमै आफ्नो भविष्य देख्न थाल्नुभएको छ । माओवादी लडाकुको जीवन त्यागेर फर्कंदा राज्यबाट जम्मा रु छ लाख २० हजार पाउनुभएका उहाँले त्यतिखेर त्यो रकमले छ कट्ठा जग्गा, एउटा साइकल र घरमा एउटा टिभी जोडेर सानो गाईगोठ बनाएको सुनाउनहुन्छ । “के के न गरौँला भनेर सशस्त्र द्वन्द्वमा होमिए,” दाहाल घरमै पुगेका सञ्चारकर्र्मीसँग भन्नुहुन्छ, “फर्केर आउने ठाउँ त गाउँ घर नै रहेछ ।” अहिले सशस्त्र द्वन्द्वमा होमिएको आफ्नो विगतप्रति दाहाललाई गुनासो छैन । “मैले नजिकबाट मृत्युलाई चिन्न सकेजस्तो लाग्छ, युद्धमा छँदा कैयौँ पटक संयोगले मात्र बाँचेको हुँ,” उहाँ भन्नुहुन्छ, “फेरि त्यो युद्धको प्रतिफल मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना त भयो नि, अब जनताको जीवनस्तर उकास्ने बाटोमा नेता लागिदिए हुन्थ्यो ।” जनताको अवस्थामा परिवर्तन नआउँदा भने भने मन कटक्क खाने गरेको दाहालको भनाइ छ ।

खेतीमा लागेयता आफ्नो मिहिनेत खेर गएको कहिल्यै महसुस गर्न नपरेको उहाँ सुनाउनुहुन्छ । “यसपालि वैशाखे तरकारी खेतीबाटै अहिलेसम्म रु एक लाख बराबरको तरकारी बेचिएछ,” आफ्नो पुगनपुग तीन महिना (चैत, वैशाख र जेठ) को कमाईबारे बताउँदै दाहाल अगाडि भन्नुहुन्छ, “यसपालि नयाँ वर्ष प्रारम्भसँगै कैयाँै पटक आएको चोटिलो वर्षासँगैको हावाहुरीले लहरे तरकारी र लहलहाउँदा रायोको बिरुवा लता¥यो, त्यसको उत्पादन लिन सकेको भए आम्दानी अझै बढ्थ्यो ।”

दैनिक घरखर्चमा लगाइएको रकमको हिसाबमा राख्न नसकेको उहाँको भनाइ छ । त्यस्तै प्रत्येक वर्ष दसैँ, तिहार र अन्य चाडपर्वमा गरिने खर्चको पनि हिसाब राख्ने गरिएको छैन । “किसानी पेसाको घरगृहस्थीमा सबै हिसावकिताव राख्न नसकिने रहेछ,” दाहाल भन्नुहुन्छ, “तर चाडबाडको रमझम खेतीपातीले नै चलाएको छ भन्न त पाइयो नि ।”आफ्नो खेती प्राङ्गारिक भएकाले उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको उहाँ बताउनुहुन्छ । तरकारीमा लाग्ने किरा नियन्त्रणका लागि दाहाल आफैँ कीटनाशक औषधि बनाउनुहुन्छ । “यो नारायणास्त्र, यो ब्रह्मास्त्र र यो आग्नेयास्त्र” तरकारी बालीमा लाग्ने किरा नियन्त्रणका लागि आफैँले घरमा बनाएका कीटनाशक औषधि देखाउँदै उहाँ भन्नुहुन्छ, “गाईको गहुँत सङ्कलन गरेर नीमका पात र अन्य कीटनाशक वनस्पति मिलाएर बनाइएको औषधि हो, तरकारी बालीमा लाग्ने किराको सङ्ख्या र क्षतिको प्रकृति आङ्कलन गरेर मात्रा बनाएर छरिन्छ ।”

रामायण, महाभारतलगायत पौराणिक ग्रन्थमा प्रयोग गरेपछि खेर नजाने गरी वर्णन गरिएका शस्त्रअस्त्रको महत्व थाहा पाएर किरा नियन्त्रणका लागि बनाइएका औषधिको नाउँ त्यस्तै मिलाएर राखिएको दाहालको भनाइ छ । “इ यो हेर्नुहोस् , यो आग्नेयास्त्र हो” एउटा सिसीमा राखिएको झोल औषधि देखाउँदै उहाँ भन्नुहुन्छ, “भगवान् रामको वाण खेर जाँदैनथ्यो रे ! हो, यो त्यही ‘रामबाण’ हो, जस्को छिर्का प¥यो कि किरा खत्तम ।”

अहिले जताततै खेतीपातीमा कडा विषादीको प्रयोग बढेसँगै कडा प्रकृतिका रोग बढेकाले सबैलाई प्राङ्गारिक खेतीमा आकर्षित गराउनुपर्ने दाहालको सुझाव छ । “अमृत हुने वस्तु हाम्रै कारण विष बनाइएका छन्,” उहाँ भन्नुहुन्छ, “अब विषादी नियन्त्रणका लागि सरकारले अभियान नै चलाउनुपर्छ ।” साझा प्रयत्नबाट यो सम्भव हुने दाहालको विश्वास छ । बीउबिजन, मल र खेती प्रणाली पनि पुरानै रैथानेलाई नै फर्काउन पर्ने दाहालको सुझाव छ ।

उहाँको सङ्गतले गाउँका युवा पनि तरकारी खेतीबाट राम्रो उत्पादन लिन थालेका छन् । “विषादी नछरी किरा नियन्त्रण गर्न सकिने दाहालले अपनाउनुभएको तरिकाले हामीलाई लोभ्याएको छ,” दाहालको मिहेनत र खेती प्रणालीलाई अनुुसरण गर्न थालेका छिमेकी छेदीलाल महतो भन्नुहुन्छ, “आफ्नै वरपर पाइने विभिन्न वनस्पति र गहुँतबाट बनाइने औषधिबाट किरा नियन्त्रण गरिँदा स्वास्थ्य सुरक्षा र कीटनाशक विषादीमा हुने खर्चबाट बचिएको छ ।”

मुलुककै समृद्धि र जनताको मुक्तिका लागि भन्दै विगतमा बन्दुक बोकेकोमा पश्चाताप नभए पनि समृद्धिको बाटो चैं अहिलेको बाटो नै उपयुक्त रहेको दाहालको निष्कर्ष छ । “कतिले बाटो फेरेछ भन्लान्, तर मुलुक समृद्ध र जनता सुखी बन्ने/बनाउने चैं उद्यमले नै हो ।” आफ्नो अहिलेको काम ‘उद्यम’ रहेको बताउनुहुने दाहाल गाउँ छिमेक वरपर ‘रोलमोडल’ किसान बन्नुभएको छ ।

“घरमा भेट्न आउने आफन्त होउन् कि अन्य छिमेकी यिनी (दाहाल) खेतीकै कुरा गर्छन्,” दाहालकै छिमेकी ८० वर्षीय रामनन्दन महतो भन्नुहुन्छ, “यिनले त बरालिएर हिँड्ने कति केटालाई आफ्नो सङ्गतमा ल्याएर मेहनती किसान बनाएका छन् ।” त्यही बस्तीमा तरकारी बाली फस्टाउन रसायनिक मल र किरा नियन्त्रण गर्न विषादी प्रयोग गर्दै आएका दाहालका समवयस्क किसानले अब आफैँले तयार पारेको कम्पोष्ट मल र घरायसी कीटनाशक औषधि प्रयोग गर्न थालेका छन् ।

आपूmले मेहनत र लगन लगाए पनि सरकारी निकायबाट कुनै सहयोग र भरथेग नपाइएको दाहाल लगायतका सो बस्तीका युवा किसानको गुनासो छ । “खेतीपातीमा किसानलाई सहयोग गरिन्छ भन्न रेडियो र छापाहरुमा भन्ने, लेख्ने गर्छन रे !” दाहालकै समवयस्क सो बस्तीका किसान चन्देश्वर राय दनुवार भन्नुहुन्छ, “तर, हामीसम्म त्यो कहिल्यै आइपुग्ने भएन ।” किसानका लागि छुट्याइएका रकम पनि भनसुन र ठूलाबडाकै प्रयोगमा जाने गरेका बस्तीका सोझा किसानको आम गुनासो छ । “न भरपर्दो सिँचाइ छ, न समयमा बीउबिजन पाइन्छ, मेहनत त हामी गर्छौं, बाँकी सबै ईश्वरकै भर छ,” बस्तीका सबैजसो किसानको समान गुनासो छ ।

खेतीपातीसँगै दाहालले अहिले बाख्रापालन सुरु गर्नुभएको छ । खोरमा पाँच/सातवटा बाख्रा जम्मा पार्नुभएका दाहाल त्यसको तयारीका लागि दुई वर्षपहिले नै डालेघाँसका बिरुवा रोपेर हुर्काएको बताउनुहुन्छ । बारीमा इपिलिपिल, बकाइनो र पट्मिरोसहितका पौष्टिक मानिने डाले घाँसका ५० रूख हुर्किसकेका र यसपालि फेरि १०० वटा जति रोपिएको छ । यो वर्षको अन्त्यसम्म २५ वटा बाख्रा पु¥याउने दाहालको लक्ष्य छ । “गर्दा नहुने भन्ने केही रहेनछ” दाहाल भन्नुहुन्छ, “सय पचासको गर्जो टार्न गाउँ पस्नुपर्ने म अहिले आफ्नो मेहनतले नै गाउँघरको सानोतिनो अड्कोपड्को टार्न सक्ने भएको छु ।”कृषिसँग सम्बन्धित सरकारी निकायहरु किसानसम्म नपुगेका दाहालको गुनासो छ । अहिले सुने जतिकै सरकारले बनाएको कृषि कार्यक्रम किसानसम्म पुग्ने हो भने पनि कृषि क्रान्ति नै हुने दाहाल बताउनुहुन्छ तर ती सरकारी कार्यक्रम किसानसम्म नपुगेको कुरा अनुगमन हुनुपर्ने दाहाल सहितका किसानको माग छ । रासस