२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ओमानसँग पाँच विकेटले पराजित



अ+ अ-

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको छ । 

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाएर १९६ रन मात्र बनाउन सक्यो । एक सय ९७ रनको विजयी लक्ष्य ओमानले ३१ दशमलव एक ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो । 

जतिन्दर सिंहको शतकमा ओमानले नेपाललाई सहजै पराजित गर्न सकेको हो । सिंहले उत्कृष्ट खेल प्रदर्शन गर्नुभयो । उहाँले ६२ बल खेल्दै १०७ रन बनाउनुभयो । प्लेयर अफ दी म्याच हुनुभएका उहाँले छ छक्का र १२ चौका प्रहार गर्नुभयो । यस्तै मोहमद नदिमले अविजित ३८, सुरज कुमारले २० र आयन खानले १८ रनको योगदान दिनुभयो । बलिङतर्फ नेपालका कुशल मल्ल र करन केसीले दुई/दुई तथा सुशन भारीले एक विकेट लिनुभयो । 

त्यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा आशिफ शेखले ९० रनको योगदान दिनुभएको थियो । उहाँले ११२ बल खेल्ने क्रममा एक छक्का र सात चौका प्रहार गर्नुभयो । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २१, करन केसीले २१, रोहितकुमार पौडेलले २० र सन्दीप लामिछानेले १६ रन बनाउनुभयो । बलिङतर्फ ओमानका बिलाल खानले चार, नेस्टोर धम्बाले दुई तथा जेशन मसुद र मोहमद नदिमले एक/एक विकेट लिनुभयो । 

जितसँगै ओमान लिगको शीर्षस्थानमा कायमै रहेको छ । ओमान ११ खेलमा नौमा जित तथा दुईमा हारका साथ १८ अङ्कसहित शीर्षस्थानमा छ । नेपाल भने हालसम्म खेलेका छ खेलमध्ये तीनमा जित तथा तीनमा हारका साथ आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ । 

आइसिसी विश्वकप लिग–२ खेलिरहेको अमेरिका १३ खेलमा छ मा जित र सातमा हारसहित १२ अङ्क जोड्दै दोस्रो, स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारसहित नौ अङ्कसहित तेस्रो, नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अङ्कसहित चौथो, युनाइटेड अरब इमिरेटस् (युएई) सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ तथा पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजयका साथ अङ्कविहीन बन्दै लिग–२ को पुछारमा छ । 

लिग–२ अन्तर्गत सन् २०२३ सम्म नेपालसहित उक्त समूहका सातवटै देश प्रत्येकले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् । नेपालले अब शुक्रबार अर्को खेल अमेरिकासँग छ ।