२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारी सञ्चारगृहको अक्षयकोषमा रु २२ लाख



अ+ अ-

झापा । झापाली महिला पत्रकारहरुको छाता सङ्गठन नारी सञ्चारगृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा रु २२ लाख रकम जम्मा भएको छ । 

तीन वर्षअघि रु २५ लाख पुर्‍याउने लक्ष्यसहित स्थापना गरेको अक्षयकोषमा स्थानीय तह र विभिन्न दाताको सहयोगमा सो रकम जम्मा भएको संस्थाकी अध्यक्ष भीमा शिवाकाटीले बताउनुभयो । काठमाडौँदेखि बाहिर जिल्लामा महिला सङ्गठित भएर स्थापना गरेको यो पहिलो पत्रकार महिलाको छाता सङ्गठन भएको उहाँको दाबी छ ।

विसं २०६९ मा जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको संस्थामा हाल ५२ जना पत्रकार महिला आवद्ध छन् । संस्थाले विगतदेखि नै महिलाको क्षमता अभिवृद्धिका लागि प्रदेश तथा जिल्लास्तरीय तालिम सञ्चालन गर्दै आएको छ । रेडियो, अनलाइन, पत्रिका र टेलिभिजनमा काम गर्दै आएका महिलालाई पत्रकारिता पेशामा टिकाइ राख्न, उनीहरुलाई दक्ष बनाउन र प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्नका लागि संस्थाले अक्षयकोष स्थापना गरेको अध्यक्ष शिवाकोटीको भनाइ छ ।

“हामी लक्ष्यको नजिक पुगेका छौं”, उहाँले भन्नुभयो, “दुई तीन महिनाभित्रमा अक्षयकोषमा रु २५ लाख पुग्ने निश्चित भइसकेको छ । अब पत्रकार महिलालाई नै लक्षित गरेर आकर्षक पुरस्कार स्थापना गछौं ।” उहाँले कोभिड १९ को सङ्क्रमणबाट धेरै पत्रकार महिलाले रोजगारी गुमाउनु परेको, काम गरिरहेका पत्रकारले पारिश्रमिक नपाइरहेको हुँदा उनीहरुलाई सम्बन्धित मिडिया हाउससँग समन्वय गरेर पारिश्रमिक दिलाउने र रोजगार गुमेका पत्रकारलाई स–सम्मान पुर्नवहालीका लागि संस्थाले पहल गरिरहेको बताउनुभयो ।

संस्थाकी संस्थापक अध्यक्ष सावित्रा दाहालले छोटो समयमै संस्थाले उल्लेखनीय प्रगति गरेको बताउनुभयो । उहाँले पत्रकारिता पेशा चुनौतीपूर्ण रहेको बताउँदै मोफसलको पत्रकारितालाई गुणस्तरीय र प्रभावकारी बनाउन संस्थाले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले अधिकांश पत्रकारिता औपचारिकतामै सीमित रहेको बताउँदै भन्नुभयो, “खोज तथा अनुसन्धानमूलक समाचारतर्फ मोफसलका पत्रकार महिलालाई यो संस्थामार्फत अब्बल र दक्ष बनाउन प्रेरित गरिन्छ ।”

नेपाल प्रेस युनियनकी जिल्ला सभापति इन्दु पूर्वेलीले पत्रकारिता महिलाका लागि चुनौती र अवसर दुवै भएको बताउनुभयो । उहाँले सञ्चारमा सहभागिता बढाउन, पत्रकार महिलाको भौतिक र पेशागत सुरक्षा गर्न यो संस्थाले विशेष भूमिका रहनुपर्ने बताउनुभयो ।  

रेडियो विराटकी प्रबन्ध निर्देशक लीला अनमोलले पत्रकार महिलाको लागि यो जिल्लाको मात्र नभइ देशकै एउटा गौरवको संस्था भएको बताउनुभयो । उहाँले पत्रकार महिलाको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा समेत सहयोग पुगेको बताउँदै नयाँ पुस्तालाई समेत संस्थाले प्रोत्साहन गर्न ठूलो मद्दत पुगेको बताउनुभयो ।