७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

चुरे काछका बासिन्दामा बाढीपहिराको त्रास

चुरे काछका बासिन्दामा बाढीपहिराको त्रास
सांकेतिक तस्बिर
अ+ अ-

महोत्तरी । मनसुन प्रभाव विस्तार हुँदै गएर सघन वर्षा भइरहेपछि जिल्लाको सुदूर उत्तरवर्ती चुरे काछका बासिन्दामा अहिले त्रास बढेको छ ।

जिल्लामा बर्दिबास नगरपालिकाका वडा नं ३, ४, ५, १० र ११ चुरे पहाडसँग जोडिएका छन् । चुरे पहाडी काछमा बसोबास गर्दै आएका यहाँका बासिन्दा कतिखेर बर्खे भेल र पहिराले पुरिने हो भन्ने चिन्ताले पिरोलिएका हुन् ।

“के गरम् हजुर, निन्द्रा लाग्दैन, कतिखेर कुन पाखा झर्ने हो भन्ने त्रास भइरहन्छ”, बर्दिबास–१० भाङ्ग्रे बस्तीकी सन्तमाया तामाङले भन्नुभयो, “बस्ती नजिकको पाखामाथि कालो बादल मडारिएको देखेपछि राति कसरी निदाउन सकिन्छ र ?” गत चैतमा बस्ती नजिकको तीनतले पाखामा सुक्खा पहिरो गएदेखि बिजुली कड्किनासाथ अब के हुने हो भन्ने त्रासले पिरोल्ने गरेको सन्तमायाको भनाइ छ ।

तीनतलेमा गत चैत ९ गते सुक्खा पहिरो गएर खयरमारा खोला थुनिएपछि बाहिर कतै जाने बाटो नपाएर काछवासीको महिनौँसम्म बाहिरी सम्पर्क टुटेको थियो । “न यहाँबाट बाहिर निस्कन सकिन्थ्यो, न बाहिरका कोही यहाँसम्म पुग्न सक्थे”, भाङ्ग्रेकै पवीमाया तामाङले भन्नुभयो, “नानीहरु काखमा च्यापेर घरै बसी रह्यौँ ।” करिब दुई सातापछि खयरमारा खोला थुनेको पहिराको गेग¥यान हटाइएपछि बाटो खुलेर हाटबजार जान आउन पाइएको पवीमाया सम्झनुहुन्छ ।

सुक्खायाममै पहिरो व्यहोरेका काछवासीलाई अहिले बर्खामा झन् त्रास बढेको छ । प्रत्येकजसो पहाडी गल्छीडापिच्छे ठाडा खोल्सी रहेका चुरेमा सामान्य वर्षामै भेल बग्ने गर्छ । पहाडका थुम्का, ढिस्का झरेर खोल्सी थुनिने र भेल बस्ती पस्ने व्यथा त आपूmहरुको नियति नै बनेको बर्दिबास–३ पर्साहीधापका सामाजिक कार्यकर्ता बुद्ध मोक्तान बताउनुहुन्छ ।

जेठ अन्तिम साता लागेदेखि नै दिनहुँजसो परेको पानीले पाखा झारेर कैयौँ ठाउँको बाटो अवरुद्ध पारेको मोक्तानको भनाइ छ । बर्दिबास नगरक्षेत्रभित्र चुरे काछमा पाँच वडामा गरी ३० भन्दा बढी बस्ती छन् । त्यसमा बर्दिबासका वडा नं १० र ११ को खयरमारा शिरमै १५ भन्दा बढी छन् ।

सबैजसो बस्तीको बाटो नदी भएरै हुँदा बर्खाभरि हाटबजार पनि आवतजावत अत्यन्त कम हुन्छ । “हाम्रो बाटो नै खोलैखोला छ, बर्खे भेलले त्यो बाटो पुरेपछि त हिँडडुल नै बन्दजस्तै हुन्छ”, बर्दिबास–१० चुरे काछकै बस्ती भालुचौरकी ६० वर्षीया सञ्चमाया तामाङ भन्नुहुन्छ, “काछभित्रका सबैजसो घर थुम्का, पाखा र खोल्सा किनारका चौरमा छन्, कतिखेर पुरिन्छौँ पत्तै नपाइने भयो ।”

खयरमारा बजारबाट उत्तरतर्फ चुरे पर्वतीय शृङ्खला छन् । यिनै चुरे पहाड काछमा बर्दिबासका वडा नं १० र ११ का १५ भन्दा बढी बस्ती छन् । गर्दीखोला, चनौटे, छोड्के, झ्याउरे, भाङ्ग्रे, पीपलदमार, गुरुङखोला, भालुचौर, बम्जनटार, पूर्वीखोला, सात दिने, शिर, चिसापानी, मासखोला र दोभानसहितका सबै बस्ती चुरे काछका हुन् ।

त्यसैगरी बर्दिबास–५ को टोड्के, बर्दिबास–४ को वरडाँडा र बर्दिबास–३ का राइमण्डल, भव्सी, पर्साहीधाप तथा रजबास दुर्गम बस्ती मानिन्छन् । यहाँको कर्णाली भनिने बर्दिबासभित्रका यी बस्ती बर्खायामभरि बाहिरी संसारसँग पूरै सम्बन्ध विच्छेद हुन्छ । लगातार पानी परी रहँदा खोलाखोल्सीका बाटो थुनिँदा आवागमन नहुने भोग्दै बुझ्दै आएका काछवासी बर्खाभरिको नुनतेलको जोहो पहिले नै गर्छन् । हिउँद लागेपछि खोलाखोल्सीका बाटो खुल्छन् । बजार हाट आउने जाने हुन्छ ।

यसपाली चैत मासको सुक्खायाममै तीनतलेमा ठूलो पहिरो गएपछि काछवासी बसी आएको ठाउँमा गुजारा हुँदैन कि भन्ने चिन्तामा पनि छन् । “बर्खामा त भेल, सानोतिनो पहिरो खेप्दै आएका हुँदा बानी परेको थियो, तर यसपाली चैतमै पहिरो गएको दृश्य सम्झँदा आङ्सिरिङ्ग हुन्छ”, दोभान बस्तीकी ३० वर्षीया पार्वती तामाङ भन्नुहुन्छ, “चैतको पहिरोयता बढी डर पसेको छ ।”

आकासमा बादल गड्गडाएपछि स–साना नानी कान थुन्दै घर पस्छन् । घरभित्रैको बसाइँ पनि कुनै ढिस्को झरेर पुरी पो दिने हो कि भन्ने चिन्ताले पिरोल्ने गरेको काछवासी बताउँछन् । बर्खामा अहिले खानेपानीका मुहान धमिलिएर राम्रो पानी पनि खान नपाइएको काछवासीको भनाइ छ । बर्खाभरि धमिलिएको पानी नै छान्ने, तताउने गरेर धान्ने गरिएको त्यहाँका बासिन्दा बताउँछन् । बर्खामा भेलको प्रदूषित धमिलो पानी नै खानपर्दा रुघाखोकी, पखाला र अपचजस्ता स्वास्थ्य समस्या यहाँ आम कुरो भएको दोभानकै बिर्खबहादुर तामाङ बताउनुहुन्छ ।

गत चैतमा सुक्खा याममा सबैलाई तर्साउने गरी पहिरो गएपछि बर्खामा झन् यो सङ्कट बढ्ने यहाँका बासिन्दा बताउँछन् । “अब हामी काँ जाम, काँ बसम रु”, चुरे काछ बस्तीका बासिन्दाको एउटै स्वर छ । चुरे काछका बस्तीमा दमै, कामी जाति समुदायका एकाध घर भए पनि ९५ प्रतिशत चाहिँ तामाङ छन् । गरिबी, अभाव, अशिक्षा सबैले भोग्ने यहाँको पीडा रहेको खयरमाराका सामाजिक कार्यकर्ता चन्द्रलाल गौतम बताउनुहुन्छ । बर्दिबासका पाँच वडामा गरी चुरे काछमै बसोबास गर्ने घरधुरी ५०० माथि छन् ।

यसैबीच बर्दिबासका नवनिर्वाचित नगर प्रमुख प्रह्लाद क्षत्री काछवासीको पीडामा आपूm साथ रहेको बताउनुहुन्छ । अब आफ्नो प्राथमिकतामा खोल्सी, गल्छी व्यवस्थापन र सघन वृक्षरोपण रहेको क्षत्रीको भनाइ छ । “चुरे पाखाको माटो फस्के छ, सानै पानीमा पनि बग्ने, त्यसैले भूक्षय रोक्न जरा धेरै फिँजारिने प्रजातिका रुख रोप्ने योजना छ”, क्षत्री भन्नुहुन्छ, “यसले भूक्षय रोक्नसँगै वातावरणमा पनि सकारात्मक प्रभाव बढाउँछ ।” यसबाहेक काछवासीका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका समस्या सम्बोधन र खोल्सी/गल्छी व्यवस्थापन तथा नदी किनार तटबन्धका काम अघि बढाइने क्षत्रीको भनाइ छ । रासस