• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा

यात्रु नपाउँदा बैतडी पाटन–धनगढीको हवाई सेवा बन्द



बैतडी । यहाँस्थित पाटनको हवाई सेवा अढाइ महिनादेखि बन्द रहेको छ । गत चैत १० गते पाटन–धनगढी उडान भएपनि त्यसपछि हवाई सेवा बन्द रहेको हो । साताको एक दिन बिहीबार पाटनबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो ।

नियमितरूपमा उडान हुने गरेकामा हाल यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत चेतराज भट्टले बताउनुभयो । समिट एयरले यात्रु बढी पाइने पर्यटकीय क्षेत्रमा बढी उडान भइरहेकाले पाटन आउन नसकेको जनाएको छ । उहाँले भन्नुभयो, “यात्रु नहुँदा नियमित उडान गर्न सकिएको छैन, लुक्ला र जोमसोमतिर पर्यटकहरूको घुइँचो छ, उतैतिर बढी उडान भर्ने गरेको छ ।”

अढाइ महिनादेखि बन्द रहेको हवाई सेवा अबको दुई हप्तासम्म पुनः सञ्चालनमा आउने समिट एयरका सम्पर्क व्यक्ति कृष्णदत्त भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लुक्ला जोमसोमलगायतका पर्यटकीय क्षेत्रमा हाल उडान भइरहेको छ, उता बढी यात्रुको चाप हुने सिजन हो, अब उताको सिजन सकिँदैछ, केही हप्तापछि यता नियमितरूपमा सञ्चालन हुन्छ ।”

अठार यात्रु क्षमताको समिट एयरको जहाजका साप्ताहिकरूपमा उडान हुँदै आएको थियो । यसअघि गत पुसदेखि पनि यहाँको हवाई सेवा बन्द भएको थियो । यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा बन्द रहेकामा फागुन पहिलो साता सञ्चालन भएको थियो ।