२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकमा मुद्दती निक्षेपको ब्याजदर बढ्यो, देशकै उच्च



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गको सनराइज बैंकले एक वर्षसम्म वा सोभन्दा बढी अवधि मुद्दती खातामा रकम जम्मा गर्ने ग्राहकलाई दिइरहेको ब्याज अन्य बैंकभन्दा उच्च रहेको जनाएको छ । 

बैंकले यही असोज १ गतेदेखि लागू हुने गरी एक वर्ष वा सोभन्दा बढी अवधिको बचतमा १०.०७ प्रतिशतसम्म ब्याज दिने बताएको छ । सर्वसाधारणका लागि यो निकै आकर्षक ब्याजदर हो । 

“सनराइज महा मुद्दती” नाम दिइएको मुद्दती खाताहरुलाई तीन वर्गमा विभाजन गरेर बैंकले ग्राहकलाई ब्याज दिनेछ । तीन देखि ६ महिनासम्मको मुद्दतीमा ९.१० प्रतिशत, ६ महिनादेखि एक वर्षको अवधिको मुद्दतिमा ९.६० प्रतिशत र एक वर्ष वा सोभन्दा बढी अवधिको मुद्दतीमा १०.०७ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । यी खातामा रकम जतिसुकै राख्न सकिने छ ।

सनराइज एनआरएन मुद्दती खाताधनीलाई पनि वार्षिक १०.०७ प्रतिशत ब्याज दिइने छ तर यसका लागि न्यूनतम एक लाख बचत हुनु पर्नेछ । संस्थागत मुद्दती खातामा समेत बैंकले आकर्षक ब्याज उपलब्ध गराउने जनाएको छ । न्यूनतम तीन महिना र एक वर्षभन्दा मुनिको अवधिका लागि ९ प्रतिशत तथा एक वर्षभन्दा बढी अवधिका लागि १० प्रतिशत ब्याज उपलब्ध गराइने बैंकको भनाइ छ ।  नेपालका अन्य बैंकहरुले हाल मुद्दती खातामा ८ प्रतिशतको हाराहारीमा ब्याज दिइरहेका छन् ।बैंकले प्रदान गर्ने कर्जामा पनि ब्याजदर संशोधन गरेको छ ।

यही असोज १ गतेदेखि लागू हुने कर्जा सेवा अन्तर्गत घर कर्जालाई तीन वर्गमा बाँडेर ऋण उपलब्ध हुनेछ । पाँच वर्षसम्मका लागि १२.५० प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि १३ प्रतिशत तथा १० देखि १५ वर्षका लागि १३.५० प्रतिशत ब्याजदर तोकिएको छ ।

त्यस्तै, शैक्षिक कर्जातर्फ पाँच वर्षसम्मका लागि १३ प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि १३.५० प्रतिशत तथा १० देखि १५ वर्षका लागि १४ प्रतिशत ब्याजदर तोकिएको छ । सनराइज सजिलो कर्जातर्फ पाँच वर्षसम्मका लागि १२.७५ प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि १३ प्रतिशत तथा १० देखि १५ वर्षका लागि १३.५० प्रतिशत ब्याजदर तोकिएको छ ।

यसैगरी, सवारीसाधन कर्जातर्फ व्यापारिक प्रयोजनका लागि पाँच वर्षसम्मका लागि १३ प्रतिशत र ५ देखि ८ वर्षसम्मका लागि १४ प्रतिशत तोकिएको छ भने निजी सवारीसाधन खरिदमा प्रदान गरिने ऋणमा पाँच वर्षसम्मका लागि १२.७५ प्रतिशत र ५ देखि ८ वर्षसम्मका लागि १३ प्रतिशत तोकिएको छ । बैंकले सिग्नेचर ऋणको पनि व्यवस्था गरी ब्याजदर तोकेको छ । यो ऋणमा तीन वर्षसम्मका लागि १३.५० प्रतिशत तथा पाँच वर्ष सम्मका लागि १४.५० प्रतिशत ब्याजदर राखिएको छ ।
साथै, बैंकले बचत खाता रहेका सबै ग्राहकलाई स्वास्थ्य बीमा सुविधा उपलब्ध गराएको छ जसमा मेडिकल र ओपिडी समेत एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा तथा पाँच लाखसम्मको दुर्घटना बीमा समेटिएको छ ।

डिजिटल बैंकिङ तर्फ बैंकले नेपाल विद्युत प्राधिकरणको महशुल भुक्तानी “मिस्डकल”का आधारमा भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ । यो सुविधा नेपालमै पहिलो हो । साथै, मिस्डकलकै आधारमा मोबाइल टपअप गर्ने, ब्यालेन्स चेक गर्ने, कार्ड नभई पनि पैसा झिक्न पाइने जस्ता सुविधा बैंकले ल्याएको छ ।