२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यालिब्रेसनका लागि तयार भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल



अ+ अ-

 रुपन्देही I भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइट अर्थात् परीक्षण उडानका लागि तयार भएको छ ।  विमानस्थल निर्माण आयोजना प्रमुख ई प्रवेश   अधिकारीले न्यूजपोलारसँग भन्नुभयो, “संरचना निर्माणको काम लगभग ९८ प्रतिशत सकिएको छ । जडान भएका सञ्चार लगायत अन्य उपकरणको उडान परीक्षणका लागि हामी तयार छौं ।”  उहाँका अनुसार पूर्व सम्झौता अनुसार विमानस्थलको प्राविधिक पक्ष हेरेको थाइल्याण्डको एरोथाई कम्पनीबाट प्राविधिकहरु आउनु पर्ने भएपनि थाई सरकारको स्वास्थ्य मापदण्डका कारण उनीहरुलाई नेपाल आउने अनुमति नदिँदा  परीक्षण उडानमा ढिलाइ भएको छ । 

विमानलाई सुरक्षित रुपमा उडान र अवतरणका लागि आवश्यक पर्ने परीक्षण उडान  गर्न विशेष प्रकारको हवाइजहाज आवश्यक पर्ने र त्यस विमानबाट दिउँसो तथा राती परीक्षण उडान गरी जडान गरिएका उपकरणहरुले सही सूचना दिए नदिएको हेर्नु पर्ने हुन्छ, त्यो प्रक्रिया सकिएपछि विमानस्थल सुचारु गर्न कुनै कठिनाइ हुँदैन । आयोजना प्रमुख अधिकारीका अनुसार टर्मिनल भवनको फर्निचर तथा सजावटको कार्य पनि अन्तिम चरणमा पुगेको छ ।  

संशोधित बजेट कुल ६ अर्ब ८२ करोड रुपैयाँको लागतमा विमानस्थल निर्माण भैरहेको छ । विमानस्थल आयोजनाका अनुसार हालसम्म तीन हजार मिटर लामो धावनमार्ग, जहाज पार्किङ्ग गर्ने एप्रोन, सव वे, ट्याक्सी वे लगायतका संरचनाहरुको निर्माण सकिएको छ ।  यसैगरी, मुख्य टर्मिनल भवन, टर्मिनल टावर, ट्याक्सी पार्किङ्ग लगायतका संरचनाहरु निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।  सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो ।

बुधबार मात्र  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य बारे जानकारी लिनु भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा प्रयोग गर्न सकिने यस गौतमबुद्ध विमानस्थल मार्फत नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ । साथै पोखरामा समेत अर्को क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य जारी छ ।