२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा (एस) मा युवा, सामाजिक संस्था र अन्य दलको आकर्षण बढ्दै छ : नेपाल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलमा युवा, सामाजिक क्षेत्र र अन्य दलका कार्यकर्ताको आकर्षण बढिरहेको बताउनुभएको छ ।

 प्रस्तावित समाजवादी प्रेस सङ्गठन नेपालसँग आबद्ध पत्रकारसँगको आज यहाँ आयोजित अन्तरक्रियामा उहाँले पार्टी जबजको मूल्यमान्यता कायम राख्दै सामाजिक न्याय, उत्पादनमा वृद्धि र समान वितरणका साथ वैज्ञानिक समाजवादको दिशातर्फ अघि बढ्ने बताउनुभयो । 

उहाँले पार्टीमा सामाजिक चेतना वृद्धि, युवा हस्तान्तरण, विचार एवं सोचमा परिवर्तन, जनतासँग सम्बन्ध, आचरण सुधारमा जोड दिने कुरामा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग मतभेद बढेको बताउँदै ओलीले सङ्कटका बेलामा मात्र वार्ता र सम्झौताको कुरा गर्ने गरेको स्मरण गर्नुभयो । 

आफूसँग असहमति राख्नेप्रति ओलीको असहिष्णु प्रवृत्ति रहने गरेको आरोप लगाउँदै नेता नेपालले त्यसको भण्डाफोर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीमा तेस्रो धार भनिएकाहरु आँट र विद्रोह गर्न नसक्ने र अध्यक्षसँग गल्ने स्वभावका भनेर समेत आरोप लगाउनुभयो । 

एक प्रसङ्गमा उहाँले एमसीसी कम्प्याक्ट गर्दा नेपालले असंलग्न नीति परित्याग गर्न नहुने, कुनै सैन्य सङ्गठन र सुरक्षा छाताभित्र नरहने, नेपालले स्वतन्त्र निर्णय गर्न पाउनुपर्ने, बौद्धिक सम्पत्तिमाथि अधिकार र जग्गाको स्वामित्व तथा लेखापरीक्षण नेपालकै हुनुपर्ने तथा परियोजनामा नेपाली कर्मचारी र श्रमिक रहनुपर्नेमा स्पष्ट गर्नुभयो । 

आगामी निर्वाचनसम्म पाँच दलीय मोर्चा कायमै राखिने बताउँदै उहाँले अध्यादेशलगायत विषयले सरकार विस्तारमा ढिलाइ भइरहेको स्वीकार्नुभयो । वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ संयोजक तथा १५१ सदस्यीय कार्यसमिति रहने समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको जानकारी पनि सो अवसरमा दिइएको थियो ।