काठमाडौं । ललितपुर प्याट्रियट्सले श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान सनदुन विराकोडीलाई टिममा अनुबन्ध गरेको छ ।
साविक विजेता ललितपुर प्याट्रियट्सबाट उनले एभरेस्ट प्रिमियर लिग(इपिएल) टि–२० क्रिकेट खेल्ने भएका हुन् ।
ललितपुरले सामाजिक संजालमार्फत पाँचौं विदेशी खेलाडीका रूपमा बायाँ हाते ब्याट्सम्यान विराकोडीलाई अनुबन्ध गरेको जानकारी दिएको छ ।
यसअघि ललितपुरले श्रीलंकाका ओशाडा फर्नान्डो,अफगानिस्तानका अलराउण्डर आजमतुल्लाह ओमरजाई, भुटानका ब्याट्सम्यान रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लेकलाई टिममा भित्र्याइसकेको छ ।
६ फ्रेन्चाइज टोलीको सहभागिता रहने चौंथो संस्करणको इपिएल असोज ९ गतेदेखि असोज २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । उद्घाटन खेलमा ललितपुरले काठमाडौं किङ्स–११ सँग प्रतिस्पर्धा गर्नेछ । विजेताले ५० लाख पाउनेछ भने उपविजेताले १५ लाख पुरस्कार पाउनेछ ।