२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

भक्तपुरमा यमःद्यो ठड्याउँदै इन्द्रजात्रा आजदेखि सुरु

भक्तपुरमा यमःद्यो ठड्याउँदै इन्द्रजात्रा आजदेखि सुरु
अ अ+ अ-

भादगाउँ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन भक्तपुर नगरका टोल टोलमा इन्द्रको मूर्तिस्वरुप यमःद्यो ठड्याएर जात्रा सुरु गरिन्छ । भक्तपुरको इन्द्रजात्रामा स्थानीय गुठियारले टोलटोलमा यमःद्यो ठडयाएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरवको जात्रा, याँमता (आकाश दीप) जात्रा, मुपात्र जात्रा र पुलुकिसी जात्रा गरी आठ दिनसम्म धुमधामका साथ मनाइन्छ । 

जात्राको पहिलो दिन स्थानीय गुठियारले नगरका टोलटोलमा विधिवत् पूजाआजासहित नगरका इताछें।, तेखापुखुः, मुलाखुः, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, गःहीटी, महालक्ष्मी स्थान, चासुखेललगायतका स्थानमा यमःद्यो ठड्याइन्छ । दोस्रो दिनलाई शून्य दिन मानिन्छ । यस दिन जात्राको कुनै कार्यक्रम हुने छैन । जात्राको तेस्रो दिनअर्थात् इन्द्रजात्राको दिन साँझ खौमास्थित इन्द्रायणी देवीको खट जात्रा मनाइन्छ । 

जात्रामा ईन्द्रायणी देवीलाई शृङ्गारपटार गरी विधिवत् पूजा गरेर परम्परागत बाजागाजाका साथ दाफा, भजन गाएर, स्थानीय महिला हाकुपटासीमा सजिएर सुकुना बालेर, बालबालिका र वृद्धहरु ढुप दीप बालेर सिद्धपोखरीले परिचित इन्द्रदहको दक्षिण दिशाको बिचमा ल्याई विराजमान गराइन्छ । जात्राको क्रममा राती पालाको दीप बालेर दहलाई सजाइन्छ । यस दिन राति दहमा मेला लाग्छ । मध्यराति तान्त्रिक पूजा गरी इन्द्रायणीलाई भोग बलि चढाउने परम्परा छ । 

जात्राको चौथौ दिन यन्या पुन्ही ९भाद्र शुक्ल पूणर्िमा०का अवसरमा धार्मिक तीर्थस्थलका रुपमा रहेको प्रसिद्ध प्राचीन इन्द्रदहमा बिहानै स्नान गरी इन्द्रायणी देवीको पूजाआजा गर्ने भक्तजन ठूलो घुइँलो लाग्ने गर्छ । देवराज इन्द्रले स्नान गरेको दह हुनाले यस दिन इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आराधना गरेमा पुण्यप्राप्ति हुनाका साथै पारिवारिक सुख समृद्धि मिल्ने जनविश्वास छ । यस दिन इन्द्रायणी देवीको मात्र नभएर दह छेउछाउमा रहेका लिच्छविकालीन र मल्लकालीन शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्ति तथा वासुकी नागको समेत पूजा गरिन्छ । दहको पूर्वदिशामा रहेको शिवलिङ्गमा जल चढाइ पिउने परम्परा छ । राति इन्द्रायणी देवीलाई परम्परागत बाजागाजाका साथ पुनः जात्रा गरी खौमास्थित देवगृहमा ल्याई विधिवत् पूजा गरी आशनमा विराजमान गराइन्छ । जात्राको पाँचौँ दिनलाई पनि शून्य मानिन्छ ।

जात्राको छैटौँ दिनदेखि तीन दिनसम्म लगातार याँमता र मुपात्र जात्रा मनाइन्छ । पहिलो दिन सकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिरमा एक जोडी याँमता (त्रिशूल आकारको माथि फर्किएका तीन वटा टुप्पामा बालिने बत्ती) बालिन्छ । लगत्तै तचपालको सँला गणेशलाई विधिवत् पूजा गरी खटमा राखिन्छ । गणेशलाई खटमा राखिसकेपछि अगाडि याँमता त्यसपछि सलाँ गणेशको जात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा मनाइन्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको ठाउँमा परिक्रमा गराइन्छ । 

जात्रामा मुपात्र प्रमुख र धिःचा नामक उनका अन्य दुई जना सहायकसहित तीन जनालाई राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ लगाई शृङ्गारपटारका साथ तरबार समात्न लगाई सहर परिक्रमा गराउने प्रचलन छ । सहर परिक्रमा गर्दा टोल टोलमा ठड्याएको यमःद्योलाई मुपात्रले तीन पटक घुमेर तरबारले हान्ने गरिन्छ ।

जात्राको सातौँ दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीको मानन्धर समुदाय साँझ छुमा गणेशकहाँ गएर सुकुना बालेर आइसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा सुरु गरिन्छ । याँमता चोछेंमा पुगेपछि छुमा गणेश त्यसको पछाडि गई जात्रा गर्छ । लगत्तै भक्तपुरको दरबार स्क्वायरबाट मुपात्र निकालेर जात्रा गरिन्छ ।

जात्राको अन्तिम दिन तल्लो टोलको मानन्धर समुदायले एक जोडी याँमता लाने परम्परा छ । यस दिन याँमतासँगै तमारी९तौमढी०को भैरवको खट जात्रा र पुलुकिसी जात्रा गरिन्छ । सुरुमा तल्लो टोल तेखाचो र तापालाछींका मानन्धर समुदायले भैरवनाथ मन्दिरमा गई सुकना बालेर आउँछन् । त्यसपछि बुलाचास्थित ढुङ्गेधारामा एकजोडी याँमता बालेर जान्छ । त्यसको पछाडि तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ । खट जात्रामा नायखिङ (खड्गी समुदायको विशेष)बाजा बजाएर भैरवनाथको रथलाई परिक्रमा गराइन्छ । परिक्रमा गर्नुपूर्व गुठी संस्थानबाट भैरवलाई विधिवत्रुपमा बली पूजा गरिन्छ । 

भैरवको खट जात्रा गरेपछि स्थानीय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रो माथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गरिन्छ । जात्रा सुरु गर्नु अगाडि तमारीको भैरव मन्दिर अगाडि तीन पटक घुमेर पुलुकिसी जात्रा सुरु गरिन्छ । जात्रामा पुलुकिसीलाई चार मानिसले बोकेर ल्याइन्छ भने एक जनाले पुलुकिसीभित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।

देवराज इन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीका रुपमा लिइने पुलुकिसीलाई नगर परिक्रमा गराउँदा दोबाटो चौबाटोमा धान खुवाउने, टौमढी र दरबार स्क्वायरको डबलीमा आगो तपाउने, सुजमारीको तला तुन्छी (इनार)मा पानी खुवाउने प्रचलन रहेको छ । जात्राको क्रममा पुलुकिसीको सुँढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार पुलुसिकी आउ“दा सुँढले छुन्छकी भनी मानिस परपर भाग्ने गर्दछन् । देवीपुराण ग्रन्थअनुसार पुलुकिसी जात्रा देवराज इन्द्रका पुत्र जयन्तलाई खोज्न हिँडेको सम्झनामा मनाइने गरिएको हो ।

जात्रामा पुलुकिसीले कथंकदाचित मुपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मुपात्र जात्रा सुरु गरिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकालिन्छ । 

इन्द्रजात्रा द्वापरयुगदेखि सञ्चालन भए पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण र पद्यपुराणको सङ्कलन गरी ती पुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको संस्कृतिकर्मी बताउँछन् ।  लोककथनअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको खाँचो पर्‍यो । इन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फूल खोज्न पठाए । जयन्त पारिजातको फूल खोज्दै दैत्यको बगैँचामा प्रवेश गरे । दैत्यहरुले उनलाई देखेर पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा इन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यसँग लगाइ गरे । लडाइँमा इन्द्रको जित भयो । दैत्यहरुले इन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरुले जयन्तलाई बाँधेको डोरी काटेर माफी माग्छन् । सो क्रममा दैत्यलाई जनतामाझ सहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख भएको आधारमा जात्रा प्रारम्भ गरिएको किवंन्दती रहेको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।

देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो । पारिजात फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ गर्‍यो । त्यसपछि जयन्तलाई दुई हात पछाडि बाँधेर राख्यो । पछि जयन्तलाई छुटाउन देवता र दैत्यबीच सङ्ग्राम भई देवताको जित भएको खुसियालीमा इन्द्रजात्रा मनाउँदै आएको किवंन्दती रहेको संस्कृतिकर्मी हरिशरण राजोपाध्यले बताउनुभयो ।

भक्तपुरमा इन्द्रजात्रा देशमा सुख, शान्ति, समृद्धि कायम होस्, कुनै पनि प्राकृतिक विपति आइनलागोस्, देशमा अनिकाल, महामारी, अतिवृष्टि नहोस, काल र शत्रु नाश होस् भन्ने उद्देश्यले मनाउँदै आएको प्रा डा श्रेष्ठले बताउनुभयो । साथै यस जात्राले मुला चोर पनि चोर घोडा चोर पनि चोर नै हो भन्ने मुख्य सन्देश दिएको उहाँको भनाइ छ ।