२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतामा जाऔँ, माओवादी पुनः एक नम्बर हुन्छ : नेता पौडेल



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले देश र जनताको पक्षमा इमानदारिताका साथ काम गर्ने पार्टी नै माओवादी भएकाले आगामी निर्वाचनमा पहिलो नम्बर बन्ने बताउनुभएको छ ।

सो पार्टीको चन्द्रागिरि–१ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विचार, सिद्धान्त र कार्यक्रमका हिसाबले पनि समकालीन अरु दलभन्दा आफूहरू नै क्रान्तिकारी र अग्रगामी भएको बताउनुभयो । उहाँले समाजवाद स्थापनाको लक्ष्यसहित एमालेसँग आफूहरुले एकता गरे पनि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जताततै समस्या खडा भएको उल्लेख गर्नुभयो । 

माओवादीले अगाडि सारेका नीति तथा कार्यक्रमलाई लिएर जनताको पक्षमा जान र उनीहरुको दुःख, पीरमर्कामा साथ दिन पार्टीका नेता तथा कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । अन्य पार्टीमा अनेकन खालका विग्रह र टुटफुटको अवस्था रहेको भन्दै नेता पौडेलले देश र जनताको पक्षमा उभिने तथा कोही कसैसँग पनि गलत सम्झौता नगर्ने भएकाले माओवादीले पुनः देशव्यापी विजयको झण्डा फहराउने विश्वास व्यक्त गर्नुभयो ।

नेता पौडेलले विचार, सिद्धान्तसहित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा एकाकार भई पार्टीका सबै नेता तथा कार्यकर्ता जनतामा जाने सङ्कल्प गर्नासाथ विजय टाढा नभएको बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य रुपा महर्जनले काठमाडौँ उपत्यकासहित देशभरको लोडसेडिङ माओवादी नेतृत्वमा नै अन्त्य भएको, सबैको हात–हातमा इन्टरनेट तथा विकास निर्माणको जग बसाएको जस्ता सकारात्मक विषयलाई आम जनतामाझमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले माओवादीमात्रै देश र जनताको हित गर्ने पार्टी भएकाले आफूहरुलाई जनताले पुनः विश्वास गर्ने बताउनुभयो । कार्यक्रममा गणेश गिरीको अध्यक्षतामा माओवादी केन्द्रको वडा समिति गठन गरिएको छ ।