१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संखुवासभा सामूहिक हत्या प्रकरणः परिवारै मिलेर अर्को परिवारको हत्या !



अ+ अ-

काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा भएको ६ जनाको सामूहिक हत्यामा नयाँ ट्विस्ट आएको छ । उक्त घटनामा एकै परिवारका तीनसहित पाँचजनाको प्रत्यक्ष संलग्नता रहेको नयाँ तथ्य प्रहरीले बाहिर ल्याएको छ भने उनीहरू सबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कार्कीले पनि आफू एक्लैले ६ जनाको हत्या गरेको बयान दिएका थिए । तर अनुसन्धानका क्रममा थप ४ जनाको संलग्नता देखिएको छ ।

२१ भदौमा तेजबहादुरसहित उनको परिवारका ६ जनाको हत्या भएको थियो । २७ भदौमा मृतक परिवारका आफन्त (भतिजो) लोकबहादुर कार्कीलाई पक्राउ गर्दै एक्ला अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । 

प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण बीसीले ठूलाबा तेजकुमारको व्यवहारका कारण अभियुक्तको मनमा घृणाभाव रहेको र घटना भएको दिन बिहानै उठाउँदा अचानक आवेशमा आएर घटना घटाएको देखिएको पत्रकार सम्मेलन गर्दै जानकारी दिएका थिए ।

घटना अनुसन्धानमा नयाँ ट्वीस्ट ल्याउँदै प्रहरीले लोकबहादुरका काका ४६ वर्षीय खड्गबहादुर कार्कीलाई घटनाको प्रमुख योजनाकार ठहर गरेको छ । साथै, उनका बुबा ४९ वर्षीय रणबहादुर कार्की, भाइ १७ वर्षीय नरेश कार्की र खड्गबहादुरका छोरा २८ वर्षीय हस्तबहादुर पनि घटनामा संलग्न पाइएको बताएको छ । लोकबहादुरको बयानका आधारमा चारजनालाई पक्राउ गरिएको हो । 

मृतक रञ्जनाको हराएको मोबाइल गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धानले नयाँ ढंगले मोडियो । त्यसपछि प्रहरी टोली थप अनुसन्धानका लागि फेरि घटनास्थल पुगेको थियो । प्रदेश प्रहरी प्रमुख विसीको निर्देशनमा संघीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा संयुक्त अनुसन्धान टोली थप अनुसन्धानमा जुटेको थियो ।

प्रहरीको अनुसन्धानबाट घटना योजनावद्ध ढंगले गराइएको खुल्नमा आएको छ । हत्याकाण्डको अघिल्लो रात करिब ८ बजे मुख्य योजनाकार खड्गबहादुर कार्कीसहित हस्तबहादुर कार्की, लोकबहादुर कार्की, नरेश कार्कीसहित बसेर योजना बनाएका थिए ।

प्रहरीले भनेको छ, ‘पूर्व योजनाअनुसार नै खड्गबहादुर बिहान ५ बजे तेजबहादुरको घरमा गएको र लोकबहादुर अल्छी छ, घरमै गएर खेताला निश्चित गर्नु भनेको, तेजबहादुर लोकबहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर घर पछाडि चिर्पट बोकेर तयारी हालतमा बसेको ।’

प्रहरीका अनुसार तेजबहादुरले कराएपछि लोकबहादुर उठेको र योजनाअनुसार चिर्पट र चक्कु बोकेर घरतिर फर्किएका ठूलोबालाई पछ्याएका थिए । उनले गोगनेको रुख नजिक पुगेपछि टाउकोमा चिर्पटले हाने । खड्गबहादुरले पनि चिर्पटले हाने भने हस्तबहादुरले चिर्पटका साथै चक्कुले पेटमा हानेर डिलबाट लडाएको प्रहरीको दाबी छ ।

त्यसपछि तेजबहादुरले लोकेले मार्‍यो भनेर कराएपछि उनकी पत्नी कमला र बुहारी रञ्जना आएका थिए । लोकबहादुरले कमलालाई चिर्पट हानेको र हस्तबहादुरले छुरा प्रहार गरेका थिए । नरेशले रञ्जनालाई ठेलेर खोल्सामा झरेको र खड्गबहादुर, लोकबहादुर र हस्तबहादुर मिलेर उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

नाबालक दीपेन र गोमालाई हस्तबहादुर र लोकबहादुरले बाटो छेकेर मुख थुनि चिर्पटले हिर्काउनुका साथै घाँटी बटारेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । 

त्यसपछि पाँचै जना अभियुक्तहरू मृतकको घरतर्फ गए । घरमा ८४ वर्षीय पार्वती कार्की मकै नंग्याइरहेकी थिइन् । हस्तबहादुरले उनलाई समातेर घरपछाडिको गोठ नजिक लगे भने लोकबहादुरले टाउको भित्तामा ठोक्काई घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ । यसअघि प्रहरीले लोकबहादुर घरमा गएको र कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीलाई टाउको भित्तामा ठोक्काएर हत्या गरेको बताएको थियो ।

घटनापछि सबैजना हत्यामा प्रयोग गरेको चिर्पट र छुरी बोकी लोकबहादुरको घरमा पुगेको । रगत लागेको छुरी पखालेर बुईंगलमा लुकाएको र चिर्पटहरू अँगेनामा डढाई रगत लागेका कपडाहरू समेत लुकाएको प्रहरीले भनेको छ ।

त्यसपछि उनीहरु फेरि भेला भएर कसैले सोधे केही थाहा नभएको भन्ने र प्रहरीले पत्ता लगाए लोकबहादुरले मानसिक औषधि खाने गरेकाले उनले जिम्मा लिने सल्लाह भएको प्रहरीको दाबी छ ।

घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको र अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको बताउँदै प्रहरीले घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोवाईल समेत वरामद गरि थप अनुसन्धान जारी राखेको जनाएको छ । 

प्रहरीले यसअघि घटनाको कारण व्यक्ति रिसिइबी भनेपनि अहिले पारिवारिक रिसिइबीले घटना घटाइएको बताएको छ  । २७ भदौमा प्रहरीले बताए अनुसार तेजबहादुरले लोकबहादुरलाई अल्छी, पागल भनेर गाली गर्ने गरेको र घटना भएको दिन पनि गाली गरेपछि आवेशमा आएर घटना घटाएको प्रहरीले जानकारी दिएको थियो । 

तर अहिले तेजबहादुरसँग अरु अभियुक्तको पनि रिस रहेको र मिलेर हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीले अहिले बताएअनुसार अभियुक्तमध्ये एक खड्गबहादुर मादक पदार्थ सेवन गरेर घर परिवारमा झगडा गर्थे, तेजबहादुर उनलाई थाली गर्थे । त्यसबेला नै उनले तलाईं मार्छु भनेको प्रहरीको दाबी छ ।

रणबहादुर र उनका छोरा नरेशलाई पनि केही गर्न सक्दैनन् भनेर भन्ने गरेको र उनीहरुले जहिले पनि हेप्ने भनेर मनमा ईख पालेकाले घटना घटाएको प्रहरीको निष्कर्ष छ ।

गत भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।