१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फैसला नआउँदै रञ्जन फरार, ढकालका पिता भन्छन्– न्याय पाएजस्तै भयो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । पत्नी हत्यामा जन्मकैदको फैसला सुनाइएका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको सजायँ घटाइ रिहा भएका थिए । हाल निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उनको बाँकी सजायँ मिनाहा गरी जेलमुक्त गरिदिएका थिए । उक्त सजाय घटाउने आफ्नै पूर्वफैसलालाई सर्वोच्च अदालतले बदर गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशद्वय टंक मोक्तान र कुमार चुडालको इजलासले बिहीबार कोइरालालाई २० वर्षको जन्मकैद नै हुने पहिलेकै फैसलालाई सदर गरी बीचमा सजाय घटाइएको फैसला खारेज गरेको थियो । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले दुई वर्षअघि कोइरालालाई जन्मकैद घटाएर साढे ८ वर्ष बनाइदिने फैसला गरेको थियो भने सो फैसला हिजो बदर भएको हो ।

सर्वोच्चबाट साढे ११ वर्ष सजाय कटौती भएपछि २०७७ साउन ८ मा डिल्लीबजार कारागारबाट उनी बाहिरिएका थिए । पत्नी गीता ढकालको हत्या गरी टिस्टुङको जंगलमा जलाएको पुष्टि भएपछि कोइरालालाई जिल्ला र उच्च अदालतले २० वर्ष कैद सजाय सुनाएका थिए ।

तर हिजो भने अदालतले उनलाई बाँक जेल अवधि साढे ११ बर्ष जेल बस्नुपर्ने गरी फैसला गरेको थियो । त्यो फैसला सुनाइनु अघि नै उनी फरार भएका थिए । हिजो दिउँसो सर्वोच्चमा नै रहेका कोइराला आफ्ना विरुद्धमा फैसला आउने सुइँको पाएपछि फोन स्वीच अफ गरेर फरार रहेका छन् ।

तर उनलाई पक्राउ गर्न प्रहरीले सबैतिर पत्राचार गरिसकेको बताएको छ । कोइरालालाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी कार्यालयहरूलगायतबाट प्रहरी खटिएका छन् । उनी भाग्न सक्ने आशंकामा नेपाल–भारततर्फका सीमा नाकामा पनि निगरानी कडा बनाउन प्रहरी प्रधान कार्यालयले मातहत युनिटलाई निर्देशन दिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले सर्वोच्च अदालतको बिहीबारको फैसलापछि कोइरालालाई फरार सूचीमा राखेर खोजबिन अघि बढाइएको बताए । यता यो पछिल्लो फैसलापछि भने आफूहरुले न्याय पाएको अनुभूति गरेको गीता ढकालका पिता हरेराम ढकालले प्रतिक्रिया दिएका छन् ।