७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

संरक्षणको पर्खाइमा दाङको थारु नमूना ग्राम

संरक्षणको पर्खाइमा दाङको थारु नमूना ग्राम
अ+ अ-

देउखुरी । घोराही उपमहानगरपालिका–७ सीसहनियाँमा रहेको थारू नमूना ग्राम संरक्षणको पर्खाइमा रहेको छ । उक्त ग्राम विसं २०६५ सालमा स्थापना भएको थियो । थारू समुदायको बाहुल्यता रहेको सीसहनियाँ गाउँमा दक्षिणतिर बबई नदी र नजिकै सामुदायिक वन क्षेत्र छ । त्यसैको आडमा लस्करै बनाइएको थारू रहनसहन र परिवेश झल्कने उत्तर–दक्षिण फैलिएका घरहरू छन् ।

घरको आँगनमा घाँस उम्रियर घरसम्म पुग्ने बाटो छैन । थारू ग्राम करिव एक बिघामा रहेको छ । जीर्ण अवस्थामा उभिएका घरमा मिथिला कला शैलीमा बनाइएका विभिन्न जनावर र औजारहरूको कलाकृति देख्न पाइन्छ । कला, सीप र संस्कृतिलाई कसरी जोगाउने भन्नेमा स्थानीय चिन्तामा देखिएका छन् ।

संरक्षण नहुँदा अतिक्रमण बढ्ने र सार्वजनिक सम्पत्ति हराउने खतरा बढेको देखिन्छ । थारू समुदायका नागरिक मात्र रहेको उक्त गाउँमा नमूना ग्राम स्थापना भएपछि स्थानीय निकै खुशी थिए । लोप हुँदै गएको आफूहरूका कला–संस्कृति बच्ने, प्रचार–प्रसार हुने र गाउँमा पर्यटकहरू आउने, गाउँको विकास हुने भन्दै आफूहरू निकै खुशी भएको स्थानीय जनक चौधरी बताउनुहुन्छ । तर, अहिले उक्त ग्रामको अवस्था देखेर उहाँ दुःखी देखिनुहुन्छ । उहाँले भन्नुहुन्छ, “हाम्रो ठाउँमा थारू नमूना ग्राम स्थापना भएपछि अब हामीहरूको कला–संस्कृतिको संरक्षण हुने र यहाँको विकास हुने लागेको थियो । स्थानीयले निकै जोसजाँगरका साथ काम गरेका थियौँ । तर, जुन उद्देश्यका साथ स्थापना भएको हो, त्यो अहिलेसम्म पुरा नहुँदा दुःख लागेको छ ।” तत्कालीन जिल्ला विकास समिति दाङले करिव सवा तीन लाख रुपैयाँ खर्च गरेर थारू ग्रामको घोषणा गर्दै बनाइएका ५ नमूना घरहरू बनाएको चौधरीले बताउनुभयो ।

संघीयता लागू भएसँगै जिल्ला विकास समिति खारेज हुनु र संरचनाका लागि बजेट नआउँदा अहिले सबै घरहरू जीर्ण बन्दै गएको चौधरीको भनाइ छ । अहिले ती घरहरू थोत्रिएका छन् । छानो चुहिने, भित्ता मक्किएका तथा बेवारिसे अवस्थामा पुगेका छन् । खरको छानो भएकाले चुहिने भएको हो । “जीर्ण अवस्थामा रहेको थारू नमूना ग्रामलाई संरक्षण गर्न सकेमा बनिसकेको संरचना जोगाउन सकिन्छ”, चौधरीले भन्नुभयो ।

थारू नमूना ग्राम स्थापना गर्ने बेला थारू समुदायको परम्परागत घर, बालविकास केन्द्र, थारू संग्रहालय, उद्यानलगायत स्थापना गर्ने सम्झौता भएपनि ती विषय लागु नगर्दा थारू नमूना ग्राम अलपत्रको अवस्थामा आइपुगेको थारू नमूना ग्रामका सञ्चालक समितिका अध्यक्ष बेझलाल चौधरीले बताउनुभयो । उक्त नमूना थारू ग्राममा अपर्याप्त सहयोग र सम्झौता अनुसार कार्यान्वयन हुन नसक्दा तथा बजेट अभावका कारण जीर्ण अवस्थामा आइपुगेको उहाँको भनाइ छ ।

थारू संस्कृति झल्काउने विभिन्न थारू नाचको लागि पहिरन भेषभूषा, मादल, शुद्ध खानेपानी, मोटर बाटो, सिचाई, विद्युत, जीवनशैली झल्किने औजार, सामान, पूजा गरिने देवी देवता तथा उठबसका क्रममा प्रयोगमा आउने सामग्रीलगायतको व्यवस्था गर्ने सम्झौता भएको भएयता पनि त्यो अहिले सम्म नभएको उहाँको भनाइ छ ।

उपमहानगरको ७ नं वडा कार्यालयले संरक्षणका लागि वार्षिक रु एक लाख बजेट छुट्टाउँदै आएको भएयता पनि त्यो रकम अपुग हुँदा संरक्षणमा समस्या भएको वडा सदस्य सुशीला चौधरीले बताउनुभयो । शुरुमा गाउँमा थारू ग्राम स्थापना भएपछि सात देशका पाहुनाहरु घुम्म आएको जनाउँदै वडाले विभिन्न ठाउँमा संरक्षण र विकासका लागि पहल गरेको भएयता पनि कतैबाट सहयोग नआएका कारण संरक्षणमा पछिपरेको उहाँको भनाइ छ । “हामीले वडाकोतर्फबाट सक्दो सहयोग गरेका छौँ,” उहाँ भन्नुभयो, “वडाको सानो बजेटबाट संरक्षण र विकास गर्न नपुग्ने रहेछ, हामीले धेरै ठाउँमा पहल गरेका थियौँ तर, कतैबाट सहयोग आएन ।” समिति पदाकिारी तथा स्थानीय युवा नै अग्रसर नहुँदा समस्या भएको उहाँँले बताउनुभयो ।

उपमहानगरले नूमना थारू ग्रामको विकासका लागि आर्थिक वर्ष २०७७/७८ मा डिपीआर तयार पार्न भन्दै रु पाँच लाख बजेट विनियोजन गरेको थियो । तर, विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर०को काम हुन नसक्दा बजेट ‘फ्रिज’ भएको थियो । यस वर्ष भने ग्रामलाई उपमहानगरले कुनै शीर्षकमा बजेट छुट्याएको छैन । उपमहानगरले दिएको बजेट पनि कार्यान्वयन नहुँदा यो वर्ष ग्रामका लागि बजेट नराखिएको उपमहानगरले जनाएको छ । तर, त्यस ठाउँको विकासका लागि प्रदेश सरकारसँग पहल भइरहेको उपमहानगरका सूचना अधिकारी भिमबहादुर चौधरीले बताउनुभयो ।

नगरस्तरिय पर्यटन समितिको निर्णयअनुसार पिकनिक स्थल र होमस्टे संचालन गर्नका लागि सिसहनियाँलाई छनोट गरेको चौधरीले बताउनुभयो । उपमहानगरले त्यहाँको संरक्षण र विकासको लागि बजेट छुट्टाएको भएता पनि त्यहाँका स्थानीयले संक्रियता नदेखाएकाले काम गर्न समस्या भएको उहाँले बताउनुभयो । थारु समुदायको पहिचानसँग जोडिएको थारु नमूना ग्राम संरक्षण गर्नका लागि युवा पुस्ताले चासो दिनुपर्ने देखिएको छ । रासस