१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईजीपी नियुक्ति प्रकरणको बहस सकियो, आदेश आजै आउने



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ ।

एआईजी विश्वराज पोखरेलले सोमबार दायर गरेको रिटमाथिको बहस न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा केही बेरअघि सकिएको हो ।

बहस सकिएसँगै आदेश तयार गर्ने कार्य जारी रहेको बताइएको छ । रिटउपर आजै आदेश आउने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । बुधबारदेखि सुरु भएको सुनुवाइ सो दिन नभ्याइएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

आज इजलासमा पोखरेलको तर्फबाट अधिवक्ताहरू सानुराजा पोखरेल, ललित बस्नेत, माधव बस्नेत, सुनील पोखरेल र रमेश बडालले बहस गरेका थिए । यस्तै पोखरेल आफैले पनि बहस गरेका थिए ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले यही वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । वैशाख १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।