२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले प्लास्टिक झोलामुक्त नेपाल अभियान सञ्चालन गर्ने



अ+ अ-

काठमाडौं । सरकारले एक पटक मात्र प्रयोग हुने पातलो प्लास्टिक झोलामुक्त नेपाल अभियान सञ्चालन गर्ने भएको छ । नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि सरकारले यो अभियान सञ्चालन गर्न थालेको सरकारी अधिकारीले बताएका छन् । 

४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाले वातावरणीय प्रदूूषण बढाएको र जथाभावी फ्याँक्ने प्रवृत्तिले माटोभित्र पनि नकुहिने भएकाले त्यस्तो खालको प्लास्टिकको झोलालाई प्रतिबन्ध लगाउने योजना सरकारले बनाएको छ । ४० माइक्रोनभन्दा बढीको पुनः प्रयोग गर्न मिल्ने वा प्लास्टिकको विकल्पमा कपडा वा कागजको झोलालाई प्रोत्साहन गर्ने गरी सरकारले यो योजना अघि बढाउन थालेको छ ।

त्यसका लागि वातावरण विभागले कार्ययोजना तयार पारेको छ । कार्ययोजना स्वीकृत भएपछि यो अभियानको काम थालनी गरिने विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले बताए । २०७८ भदौ २८ गते वन तथा वातावरण मन्त्रालयले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्ण रूपले रोक लगाउन राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।

कार्ययोजनाअनुसार ४० माइक्रोनभन्दा कमका झोला उत्पादन, आयात, ओसारपसार, भण्डारण तथा बिक्री वितरणमा पूर्ण रोक लगाइने भएको छ । सोभन्दा माथिका झोला तथा वैकल्पिक वस्तुको झोला प्रयोगमा प्रोत्साहन गर्न चाहने प्लास्टिक उद्योगलाई नयाँ मेसिनका लागि पुँजीगत अनुदान दिइने र नयाँ प्रविधिको मेसिनका लागि प्राविधिक सहयोग सरकारले उपलब्ध गराउने भएको छ ।

उद्योगलाई दिइने पुँजीगत अनुदानका लागि तत्काल कार्यविधि निर्माण गरिने महानिर्देशक निरौलाले बताए । ४० माइक्रोनभन्दा माथिका प्लास्टिक झोलामा उत्पादन गर्ने उद्योगको नाम, ठेगाना, पुनः प्रशोधन गर्ने मिल्ने, झोलाको मोटाइ स्पष्ट बुझिने र देखिने गरी २४ देखि २६ अक्षरको आकार अनिवार्य गरिने भएको छ । यसअघिको प्लास्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका २०६८ लाई तत्कालै संशोधन गरिने पनि विभागका महानिर्देशक निरौलाले जानकारी दिए ।

सर्वोच्च अदालतले प्लास्टिकका झोला प्रतिबन्ध कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न मुख्यसचिवको संयोजकत्वमा संयन्त्र तयार गर्न समेत आदेश दिएको थियो । सोही आदेश कार्यान्वयन गर्न मुख्य सचिवको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति पनि निर्माण गरिने कार्ययोजनामा उल्लेख छ ।

३ वटै तहका सरकार र मातहतका निकायको सक्रिय र प्रभावकारी अनुगमन गर्न संयन्त्र निर्माण गरिने भएको छ । प्रदेश स्तरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा र स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति निर्माण गरिने भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।