२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

बिस्का जात्राभित्रका जात्रा

बिस्का जात्राभित्रका जात्रा
अ अ+ अ-

भादगाऊँ । नव वर्षको आगमनसँगै आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने भक्तपुरको प्रसिद्ध बिस्का ९बिस्केट० जात्राको मुख्य आकर्षण भैरवनाथ र भद्रकालीको रथ तान्ने र भेलुखेलस्थित यसीँख्यःमा ५५ हात लामो यसीँद्योः (लिङ्गो) उठाउनु हो ।

भैरवनाथको रथ तान्ने प्रचलन शुरु हुनुभन्दा अघि भद्रकालीको मात्र रथ तान्ने परम्परा रहेको संस्कृतिविद्हरू बताउँछन् । सुरुमा यो जात्रा दुई दिनमात्र मनाइन्थ्यो तर विभिन्न कालखण्डमा यो जात्राले नौ दिन आठ रातको रुप लिन पुगेको इतिहासकार एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । कुनै समय बिस्का जात्रामा भैरवनाथको मात्र रथ तान्ने परम्परा भएको उहाँको भनाइ छ । उहाँका अनुसार एक समय यहाँ ठूलो अनिकाल परेको थियो । त्यसबेलाको भद्रकालीको जात्रामा सहभागी सबैभन्दा अग्लो एक व्यक्ति भद्रकालीको रथको अघिपछि हिँड्दै गरेको देखेर एक सिद्ध आचाजुले ध्यानदृष्टिले हेर्दा उनी काशी विश्वनाथ भएको थाहा पाए ।

विश्वनाथले जात्रा हेर्न आएको चाल पाएपछि ती सिद्ध प्राप्त आचाजुले विश्वनाथलाई रोक्ने प्रयास गरे । त्यो थाहा पाएर विश्वनाथले काशी भाग्ने प्रयास गरे । भाग्ने क्रममा विश्वनाथ जमिनमुनि अलप हुन खोजे र त्यहीबेला आचाजुले हँसियाले टाउको छिनालिइदिए । सोही टाउकोलाई यहाँ स्थापित गरे । विश्वनाथको टाउकोलाई यता स्थापित गरेपछि देशमा सहकाल आयो ।

एकगेडा चामल पनि एक परिवारलाई बढी हुन्थ्यो । चामल नै काटी काटी खाँदा बढी हुनेसम्मको सहकाल आयो । त्यसबेलादेखि भद्रकालीको रथसँगै भैरवनाथको पनि रथ जात्रा शुरु भएको श्रेष्ठले बताउनुभयो । आचाजुले तान्त्रिक बलले हँसियाले विश्वनाथको टाउको काटेकाले नेवार समुदायमा अहिले पनि हँसियाले मासु काट्न हुँदैन भन्ने मान्यता छ । वास्तवमा बिस्का जात्राको मुख्य आकर्षण नै भैरवनाथको रथ तानातान गर्ने र यसीँ ठड्याउने नै हो । तर बिस्का जात्राको नौ दिन आठ रातमा भक्तपुरमा विभिन्न देवीदेवताका खट जात्रा पनि हुन्छ जसको छुट्टै र विशेषखालको धार्मिक तथा सांस्कृतिक महत्व रहेको संस्कृतिविद्हरु बताउँछन् ।

भक्तपुरको विभिन्न टोलटोलमा मनाउने विभिन्न देवीदेवताको जात्रालाई भैरव र भद्रकालीको सम्मानमा मनाउने गरिएको जात्राका रुपमा लिनुपर्ने इतिहासकार एवं संस्कृतिविद् प्राडा श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बिस्का जात्राको संस्कृतिलाई उचाइमा पुर्‍याउन र मानिसले मात्र नभई देवीदेवताले समेत भैरव र भद्रकालीले सम्मान व्यक्त गरेको अर्थमा भक्तपुरका टोल टोलमा रहेका देवीदेवताको जात्रा गर्ने प्रचलन शुरु भएको हो ।

‘स्याःक्वःत्याःक्वः’ र बाराही क्वाँहा बिज्याइगु

जात्राको तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपूजाको मासु प्रसादका रुपमा लाकुलाछेबासीलाई बाँडिन्छ जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ ।

जात्राको तेस्रो दिन नै तेखाचोस्थित बाराहीको द्यो छें (देवघर)बाट बाराही पीठस्थित बाराही मन्दिर लैजाने परम्परा रहेको छ । स्थानीय बाजागाजासहित बाराहीलाई पीठमा लैजाने परम्परालाई स्थानीय भाषामा बाराही क्वाँहा बिज्यागु भनिन्छ ।

बाराही तिप्वा जात्रा

बिस्का जात्राको चौथो दिन अर्थात् चैत मसान्तको दिन अष्टमात्रिकाका शक्तिशाली देवीमध्ये एक बाराहीको बाराही तिप्वा जात्रा हुन्छ । यसिँख्यमा यसीँ ९लिङ्गो० उभ्याउने जात्रा पछि भक्तपुर नगरपालिका–३, तेखाचो टोलमा रहेको बाराहीको मूर्तिलाई खटमा राखी उक्त तिप्वा जात्रा हुने गर्छ । प्यागोडा शैलीमा निर्मित बाराहीको खटलाई सिंगारपटारसहित तयार गरी बाराहीलाई विराजमान गराइन्छ ।

जात्रामा स–साना बालबालिकादेखि वृद्धवृद्धासमेत चिलाख बालेर जात्रामा सहभागी हुने गर्छन् । जात्रामा हजारौँ भक्तालु धूप, बत्ती, सुकुन्दा बाली सहभागी हुने गर्छन् । शक्तिकी देवी बाराहीलाई एक रात पीठमा नै राखी भोलिपल्ट लिङ्गो ढालिसकेपछि बाराहीको खटलाई पुज्न टोल टोलमा लगी पूजा आराधना गरी चटामरीलगायत विभिन्न प्रसाद चढाउने गरिन्छ । पूजामा बाराहीलाई प्रसादको रुपमा चतामरी छरिदिने परम्परा छ । सबै टोलको परिक्रमापछि देवगृहमा लगिन्छ ।

इन्द्रायणी देवीको त्वारिवा जात्रा

बिस्का जात्राका क्रममा मनाइने अष्टमात्रिका शक्तिशाली देवीको जात्रामध्ये इन्द्रायणी देवीको त्वारिवा जात्रा पनि महत्वपूर्ण छ। यसबेला इन्द्रायणीको खटलाई विभिन्न प्रकारले शृङ्गार गरेर रथजात्रा मनाउने चलन रहेको छ ।

सो रथमा इन्द्रायणी देवीको द्यो छेँमा रहेको मूर्तिलाई खटमा विराजमान गराई आफ्नो इलाकामा जात्रा मनाउने गरिन्छ। यतिबेला सो इलाकाभित्रका बासिन्दाहरुले आ–आफ्नो घरबाट त्वारिवा ल्याई देव बत्ती बालेर इन्दायणी त्वारिवा जात्रामा सहभागी हुने गर्छ। स्थानीय दाफा, भजन खलःको भजन र बाजाहरुले जात्रालाई थप रौनकता प्रदान गर्छ ।

भैरव र भद्रकाली रथ जुधाउने जात्रा

बिस्का जात्राको अर्को आकर्षण भैरव र भद्रकालीको रथ जुधाउने जात्रा पनि हो । परापूर्वकालदेखि नै सञ्चालित लिङ्गो जात्राको समापनलगत्तै वैशाख १ गते स्थानीय खँला टोलमा भैरव र भद्रकालीको रथ संगम जात्रा हुने गर्छ । यसलाई भैरव र भद्रकालीको विवाहका रुपमा पनि लिने गरिन्छ ।

महाकाली र महालक्ष्मीको जात्रा

बिस्का जात्राको अवसरमा टोलटोलमा हुने जात्रामध्ये महत्वपूर्ण जात्राका रुपमा लिइने अर्को जात्रा हो महाकाली र महालक्ष्मीको संगम जात्रा । यो जात्रा वैशाख २ गते भक्तपुरमा बडो धुमधामका साथ मनाइन्छ । यो जात्राका क्रममा महाकाली द्यो छेँबाट मूर्तिलाई विमान आकारको खटमा राखी भोलाछेंबाट जात्रा सुरु गरिन्छ । अर्कोतर्फ महालक्ष्मीको मूर्तिलाई पनि विमान आकारकै खटमा विराजमान गराई जात्रा सुरु गरिन्छ ।

यस जात्राको अवसरमा जात्रालुहरुले एकातर्फ पहेँलो टोपी र अर्कोतर्फ रातो टोपी लगाउने परम्परा छ । जात्राका क्रममा मध्यभागमा महाकाली र महालक्ष्मी भेट भएपछि दुवै खटलाई जुधाई संगम गराउने प्रचलन छ ।

ब्रह्मायणी र महेश्वरीको जात्रा

अष्टमात्रिकामध्ये प्रमुख शक्तिशाली देवीका रुपमा पुजिने ब्रह्मायणी र महेश्वरीको जात्रा वैशाख ३ गते मनाइन्छ । सूर्यमढीस्थित द्यो छेँमा रहेको ब्रह्मायणीको मूर्तिलाई खटमा राखी जात्राको प्रारम्भ गरिन्छ । स्थानीय टोलका बालबच्चादेखि वृद्धासम्मले चिलाख र मुस्याख्व बत्ती बाली खटको अगाडि लाग्छन् । स्थानीय इनाचो टोलमा रहेका महेश्वरी द्यो छेँको मूर्तिलाई खटमा राखी शृङ्गारपटारका साथ जात्रा शुरु गरिन्छ । यी दुवै देवीको आ–आफ्नो इलाकामा जात्रा शुरु गरेपछि स्थानीय दत्तात्रय चोकको बीच भागमा आइपुग्दा भेट गराएर दुवैको रथ जुधाइन्छ । यसबेला दुवै खटको प्रसाद साटासाट गरिन्छ भने दुवैले आ–आफ्नो चिलाख बत्तीसमेत साटासाट गर्ने प्रचलन छ ।

बटुकभैरव र ज्याठा गणेशजात्रा

बिस्का जात्राको अवसरमा अष्टमात्रिका देवदेवीको मात्र जात्रा नभई भैरव र गणेशको पनि जात्रा हुने गर्छ । स्थानीय बुलुचा टोलको बटुक भैरव र कुम्हाले टोलको ज्याठा गणेशको जात्रा पनि गरिन्छ । जात्राका क्रममा खटलाई सिङ्गारेर देवताका मूर्ति स्थापना गरी खटलाई आ–आफ्नो टोलमा घुमाउने गरिन्छ । सो अवसरमा बटुक भैरव र ज्याठा गणेशको रथ जहाँ भेट्छ, त्यहाँ रथ जुधाउने गरिन्छ ।

परदेशी भीमसेनको खटजात्रा

वैशाख ३ गते आर्दशस्थित रहेको परदेशी भीमसेनको खटजात्रासमेत गरिन्छ । यसदिन स्थानीय खल्ला टोलका समुदायले बिहानै भीमसेनलाई बोकासहितको बलि पूजा गरिन्छ । पूजापछि स्थानीयवासी लस्करै बसेर प्रसादको रुपमा समेबजी खाने परम्परा छ । साँझ खटलाई शृङगारपटार गरी विभिन्न बाजागाजाका साथ देवता लिन जान्छन् । देवता लिन जाँदा स–साना बालबालिकादेखि वृद्धवृद्धासमेत धूप सुकुना बालेर सहभागी हुने गर्दछन् ।

त्यसपछि देवतालाई खटजात्रा गरी खल्ला टोलमा राखिन्छ । ४ गते सगुन पूजापछि बेलुका विभिन्न बाजागाजासहित पुनः देवगृहमा पु¥याइन्छ ।

छुमा जात्रा गणेश

बिस्का जात्राको आठौँ दिन अर्थात् वैशाख ४ गतेका दिन छुमा गणेशको जात्रा गरिन्छ । यसबेला शक्तिका देवता छुमा गणेशको मूर्तिलाई खटमा राखी स्थानीय चोछें टोलमा घुमाई जात्रा मनाइन्छ । स्थानीय टोलवासीले जात्राका क्रममा घर घरबाट चटाँमरी प्रसाद चढाउने गर्छन् ।

द्यो सगँ पूजा (सगुन जात्रा)

वैशाख ४ गते मनाइने द्यो सगँ पूजा पनि बिस्का जात्राको एक महत्वपूर्ण पूजाको रुपमा रहेको छ । यसलाई स्वगं पूजाको नाममा चिनिन्छ । यो पूजा प्राचीनकालदेखि नै सञ्चालन हुँदै आएको इतिहासमा उल्लेख रहेको पाइन्छ । बिस्का जात्रालाई विस्तृत पारी शक्तिशाली देवदेवीका पूजालाई सगुन पूजाको नामले उल्लेख भएको भाषा वंशावलीमा समेत उल्लेख रहेको पाइन्छ ।

यस दिनमा भक्तपुरका शक्तिशाली देवदेवीलाई आ–आफ्नो द्यो छेँबाट निकाली प्राङ्गण, सतल र पाटीहरुमा राखेर पूजाआजा गरी विभिन्न प्रसाद चढाउने गर्छ । यसै परम्परालाई नै सगुन जात्रा भन्ने गरिन्छ । (रासस, लक्ष्मी गारु)