काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरी अध्यक्ष बन्ने बाटो खुलेको छ ।
एमालेको जारी विधान महाधिवेशनबाट ७० वर्षमा कोही उम्मेदवार भएर जितेमा पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था गरेसँगै ओलीलाई फेरि अध्यक्षमा दोहोरिने अवसर मिलेको छ ।
वि.स. २००८ साल फागुन ११ गते जन्मिएका ओली ७० वर्ष पुग्न झण्डै पाँच महिना बाँकी छ ।
नेतृत्व चयन गर्ने १० औं महाधिवेशन आगामी मंसिरमा हुँदैछ । जसअनुसार महाधिवेशनबाट ओली पुनः अध्यक्षमा दोहोरिन पाउनेछन् ।
एमालेले कुनै पनि व्यक्ति पार्टीको कमिटीमा ७० वर्ष पूरा नहुँदै निर्वाचित भएर कार्यकालको बीचमै ७० वर्ष पूरा भएपनि पूर्ण कार्यकाल काम गर्न पाउने गरी विधान पारित गरेको छ।
सो नयाँ परिभाषा अनुसार विधानमा गरिएको ७० वर्ष उमेर हदको कारण अब ओली अध्यक्षको उम्मेदवार हुन र निर्वाचित भए पाँच वर्षे कार्यकाल पूरा गर्न उनलाई रोकतोक नहुने देखिन्छ ।