५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा टाइफाइड खोप अभियान शुभारम्भ



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गर्नुभएको छ । रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोपको शुभारम्भ गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले कोभिड सङ्क्रमण नियन्त्रणमा सफलता पाएजस्तै टाइफाइडमा पनि सफलता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने उल्लेख गर्नुभयो । उहाँले राजधानीलगायत सहरी क्षेत्रमा फोहरको समस्याको दिगो समाधानका लागि फोहरको प्रशोधन प्लान्ट स्थापना गरी त्यसबाट ग्यास तथा विद्युतीय ऊर्जा उत्पादन गर्न सकिने हुँदा यसतर्फ लाग्न स्थानीय निकायहरूलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘धरानलगायत कतिपय सहरमा फोहर प्रशोधन प्लान्ट निर्माण गरी ऊर्जा उत्पादन गरिएको र त्यस ऊर्जाबाट सवारीसाधनसमेत सञ्चालन गरिएका छन् । आफ्नै लगानीमा गर्न सकिने यस्ता प्रविधितर्फ लाग्न खोजेमा सरकारले पनि आवश्यक सहयोग गर्नेछ ।” प्राकृतिकरूपमा सुन्दर राजधानी काठमाडौँमा फोहरको समस्याले सौन्दर्यतामा ह्रास आउनुका साथै अनेक रोगको सङ्क्रमण फैलने जोखिम रहने हुँदा फोहर व्यवस्थापनमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड रोग नियन्त्रणमा नेपालले विश्वमै उदाहरणीय सफलता हासिल गर्न सकेको उल्लेख गर्दै दक्षिण एशियामा नेपालले पहिलोपटक टाइफाइड रोगविरुद्धको खोप अभियान सुरु गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले विश्वमा हालसम्म १६ प्रकारका खोपको उत्पादन भएको र तीमध्ये धेरै खोपको प्रयोग गर्न कमै मात्र देशले सकेको अवस्थामा नेपालले १३ प्रकारका खोप सञ्चालनमा ल्याउन सकेको उल्लेख गर्नुभयो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले कोभिडविरुद्धको खोप अभियानमा बागमती प्रदेशले पहिलो सफलता हासिल गरेजस्तै टाइफाइड रोगविरुद्धको खोप अभियानलाई पनि सफल बनाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा रामपार्थ बिछाले वर्तमान सरकारले चैत मसान्तसम्ममा आम जनतालाई कोरोनाविरुद्धको खोप दिने कार्यलाई पहिलो प्राथमिकतामा राखेअनुसार सफलता हासिल भएको उल्लेख गर्दै १० वर्षको अनुसन्धानबाट प्रयोगमा ल्याइएको टाइफाइडविरुद्धको खोप निकै प्रभावकारी रहेको बताउनुभयो । मन्त्रालयका सचिव डा राजेश पोखरेलले टाइफाइड खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको बताउँदै देशभरका १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दिइने यस खोप अभियानको व्यवस्थित र प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि सबै पक्षसँग आग्रह गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले टाइफाइड रोगविरुद्धको खोप अभियानबाट कोही पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले विद्यालय र खोप केन्द्र गरी ६०० स्थान तोकिएको र यसमा स्थानीय निकाय, महिला स्वयंसेविकासँग समन्वय गरिएको बताउँदै केही दिनदेखि काठमाडौँको फोहर उठ्न नसकेकाले सरकारले आवश्यक समन्वय गरिदिन आग्रह गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा शैल रुपाखेतीलगायत विश्व स्वास्थ्य सङ्गठन, युनिसेफलगायत उच्च सरकारी अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।

राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमको रूपमा लिइएको छ । हाल यो कार्यक्रममार्फत १२ वटा एन्टिजेनसमेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउन सक्ने विश्वास गरिएको छ ।

नेपालमा अझै पनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहनाका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँचभित्र रहेको देखिएको छ । यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने जनाइएको छ ।  तस्वीर: सुशीला रेग्मी/रासस




भर्खरै