अबुधाबीः भारत टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । न्यूजील्यान्डले समूहका अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गरेसँगै भारत प्रतियोगिताबाट बाहिरिएको हो ।
अबुधाबीमा पहिले टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ८ विकेटको क्षतिमा १२४ रन मात्र बनाएको थियो । अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा ट्रेन्ट बोल्टले ३, टिम साउदीले २, एडम मिल्न, जेम्स निशाम र ईश सोढीले समान एकएक विकेट लिएका थिए ।
अफगानिस्तानका लागि नजिबुल्लाह जड्रानले ७३ रनको महत्वपूर्ण योगदान दिएका थिए । तर प्रारम्भिक अघिल्लो पंक्तिका ब्याट्सम्यानहरु हजरतुल्लाह जजई २, मोहम्मद शहजाद ४, रमानुल्लाह नाइब १५ रन बनाएर आउट भएका थिए ।
कप्तान मोहम्मद नाबीले १४ रन बनाएका थिए । यो पराजयसँगै अफगानिस्तानले समूह चरणमा दुई खेल जितेर ४ अंक मात्र बनाएको छ ।
न्यूजील्यान्डले २ विकेट गुमाएर १२५ रन बनाएको थियो । न्यूजील्यान्डका लागि कप्तान केन विलियम्सनले ४०, डेभोन कोन्भोएले ३६, मार्टिन गप्टीले २८ तथा ड्यारिल मिचेलले १७ रन बनाएका थिए ।
प्रतियोगितामा न्यूजील्यान्डले ५ खेलबाट ८ अंक बनाएर समूहमा दोस्रो स्थान हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले ४ खेलबाट ४ अंक बनाएको छ र भोलि सोमबार नामिबियासँग अन्तिम खेल खेल्दैछ ।
अफगानिस्तानले न्यूजील्यान्डलाई पराजित गरेको अवस्थामा मात्र भारतको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना हुन्थ्यो, तर त्यसो भएन । लिग चरणमा भारत न्यूजील्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो ।
सेमिफाइनलमा न्यूजील्यान्ड र इङल्यान्ड तथा पाकिस्तान र अस्ट्रेलियाबीच खेल हुनेछ । एजेन्सी
अंक तालिका
समूह क | खेल | अंक | समूह ख | खेल. | अंक. |
इङल्यान्ड | ५ | ८ | पाकिस्तान | ५ | १० |
अस्ट्रेलिया | ५ | ८ | न्यूजील्यान्ड | ५ | ८ |
दक्षिण अफ्रिका | ५ | ८ | भारत | ४ | ४ |
श्रीलंका | ५ | ४ | अफगानिस्तान | ५ | ४ |
वेस्ट इन्डिज | ५ | २ | नामिबिया | ४ | २ |
बंगलादेश | ५ | ० | स्कटल्यान्ड | ५ | ० |