२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइडबडी भन्दा डरलाग्दो घोटला : फोरजीमा १२ अर्ब भ्रष्टाचार



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग १ हजार ५ सय, २ हजार, ५ हजारदेखि २० हजार रुपैयाँ घुस लिनेलाई पक्राउ गरी ठूलो प्रचार गर्छ । तर, करोड र अर्ब रुपैयाँ भ्रष्टाचार गर्नेलाई अख्तियारले केही गर्दैन भन्ने सन्देश जनमानसमा फैलिएको छ ।

अख्तियारको क्रियाकलापले जनमानसले अनुभूति गरेको कुरालाई प्रतिविम्वित गर्दछ । अख्तियारले ठूला–ठूला ठेक्कामा हुने करोड र अर्ब भ्रष्टाचार प्रकरणमा तदारुकताका साथ छानविन गर्न सकेको छैन । २/४ हजार घुस लिनेले देश खोक्रो बनाउँदैनन् । तर, २/४ अर्ब नीतिगत भ्रष्टाचार हुँदा देश खोक्रो हुन्छ ।

यसैक्रममा वाइडबडी विमान खरिद काण्डभन्दा पनि ठूलो भ्रष्टाचार काण्ड नेपाल टेलिकमको फोरजी सेवा विस्तारको ठेक्कामा भएको छ । हालै नेपाल टेलिकमले फोरजीको ठेक्का चाइनीज कम्पनी हुवावेलाई दिएको छ । टेलिकममा ५४ नम्बरका कनिष्ट डिल्लीराम अधिकारी प्रवन्ध निर्देशक भएपछि उनले हुवावेलाई फोरजीको ठेक्का दिएका हुन् ।

फोरजीको ठेक्कामा १२ अर्ब घोटला भएको छ । एनसेलले अहिले टेलिकमले हुवावेलाई दिएको फोरजीको ठेक्का ६ अर्ब भन्दा कममा विस्तार गरेको थियो । तर, नेपाल टेलिकमले त्यही प्रकृतिको ठेक्का १८ अर्बमा हुवावेलाई दिएको छ । एनसेलले ६ अर्बमा गराएको काम टेलिकमले १८ अर्बमा गराउन लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५४औं नम्बरका कनिष्ट अधिकारीलाई प्रवन्ध निर्देशक बनाउनासाथ टेलिकमको फोरजीको ठेक्का हुवावेलाई दिलाउने निर्णय गर्न लगाएका छन् । यसअघि पूर्व प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले १८ अर्बमा हुवावेलाई नै ठेक्का दिन खोज्दा ठूलो घोटला गर्न लागेको भनेर उनलाई बर्खास्त गरिएको थियो ।

जसका कारण फोरजी सेवा २ वर्ष अवरुद्ध हुन पुगेको थियो । कामिनीलाई घोटला गर्न खोजेको आरोप लगाउने सरकारले १८ अर्बमै उक्त ठेक्का हुवावेलाई दिएको छ । ६ अर्बमा हुने काम १८ अर्बमा ठेक्का दिएर १२ अर्ब ओली सरकारले घोटला गरेको पुष्टि हुन्छ ।

एकै प्रकृतिको काममा एउटा कम्पनीसँग ६ अर्बमा ठेक्का लिने र अर्को कम्पनीसँग १८ अर्बमा लिंदा सोझै १२ अर्ब घोटला भएको देखिन्छ ।
संघीय संसदको अर्थसमितिको केही दिनअघि बसेको बैठकमा फोरजी ठेक्काको अनियमितताको बारेमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटा र नेकपाका सांसद रामकुमारी झाँक्रीबीच दोहोरी नै चलेको थियो । झाँक्रीले एनसेलको फोरजी सेवा विस्तार ६ अर्बमा हुने तर, त्यही सेवा टेलिकमले १८ अर्बमा ठेक्का दिएर घोटला गरेको कुरा समितिमा उठाएकी थिइन् ।

झाँक्रीले यो कुरा उठाएपछि मन्त्री बास्कोटा तर्कसंगत उत्तर दिनुको सट्टा हप्काउने शैलीमा प्रस्तुत भएका थिए । ‘सतीले सरापेको देश हो हो । फोरजी सेवा विस्तार गर्न नदिने रु’ भन्दै उनले झाँक्रीप्रति आक्रोश पोखेका थिए । मन्त्रीको हाउभाउ देखेपछि अरु सांसदहरुले थप कुरा उठाएनन् ।

केपी ओली गुटकै अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले मन्त्री बास्कोटालाई थप विवादमा नपारी समितिबाट विदा गरेका थिए । १२ अर्ब घोटलामा मन्त्री बास्कोटा देखिने पात्र मात्र हुन् ।

प्रधानमन्त्री ओलीको संकेतविना ६ अर्बको ठेक्का १८ अर्बमा दिइएको कुरामा कोही पनि विश्वास गर्न तयार छैनन् । प्रधानमन्त्री ओलीले यस्तै यस्तै ठूला ठेक्का र नियुक्तिहरुमा आफूले भने बमोजिम गर्न बास्कोटा जस्ता ‘एसम्यान’ लाई मन्त्री बनाएको अहिले आएर पुष्टि भएको छ । स्रोतका अनुसार फोरजी ठेक्का प्रकरणमा मन्त्री बास्कोटा निमित्त नायक मात्र हुन् ।

यस ठेक्काको सम्पूर्ण डिल बालुवाटारबाटै भएको छ । सञ्चार मन्त्रालय अन्तर्गतका सम्पूर्ण नियुक्तिदेखि ठेक्का सबै बालुवाटारको सहमतिविना मन्त्री बास्कोटाले गरेका छैनन् । त्यो कुरा नियुक्ति र ठेक्का पाउनेहरुको सूची हेर्दा स्पष्ट हुन्छ ।
यसअघि नेपाल टेलिकमले हुवावेलाई काठमाडौं र पोखराको फोरजी सेवाको ठेक्का दिएको थियो । हुवावेले ठेक्का लिएको काठमाडौं र पोखराको फोरजी सेवा गुणस्तरहीन भएको व्यापक गुनासो आएपछि सार्वजनिक लेखासमितिले छानविन गरेको थियो ।

छानविनका क्रममा काठमाडौंका विभिन्न ठाउँमा परीक्षण गर्दा थ्रीजी बराबर पनि सेवा नभएको पाइएको थियो । काठमाडौं र पोखरामा फोरजी सेवा गुणस्तरहीन भएकाले हुवावेलाई पुनः ठेक्का नदिन र कालोसूचीमा राखी कारबाही गर्नका लागि लेखासमितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो ।

हुवावेलाई फोरजी सेवाको ठेक्का दिने तत्कालीन प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलगायत दोषी कर्मचारीमाथि कारबाही गर्न लेखासमितिले अख्तियारलाई निर्देशन पनि दिएको थियो ।
तर, दुई तिहाई बहुमत प्राप्त सरकारका प्रधानमन्त्री ओलीको निर्देशनमा टेलिकमका प्रवन्ध निर्देशक अधिकारीले त्यही गुणस्तरहीन काम गर्ने हुवावेलाई देशका अरु जिल्लामा पनि १८ अर्बमा फोरजी सेवा विस्तारको ठेक्का दिएका छन् ।

हुवावेका नेपाली एजेन्ट रुपक प्रधान हुन् । उनको पहुँच सिधै प्रधानमन्त्री ओलीको बेडसम्म छ । उनलाई प्रधानमन्त्रीसम्म पुर्याउने काम इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्य र उनका पति प्रदेश सांसद अजयक्रान्ति शाक्यले गरेका हुन् । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।