२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाउचाउ र फ्रुटीमा लोभ्याएर बालिकाको बलात्कारपछि हत्या



अ+ अ-

काठमाडौं । जनकपुरधाम फ्रुटी र चाउचाउमा लोभिँदा धनुषाकी ११ वर्षीया बालिका रेश्माको ज्यान गएको खुलेको छ । छिमेकीको बिहे भोजमा रमाइरहेकी धनुषा मिथिला नगरपालिका—३ हरिहरपुर मगरटोलकी दुतिया रसाइली ९रेश्मा०लाई बिहेमै आएका एक युवाले फ्रुटी र चाउचाउमा लोभ्याएर बलात्कारपछि हत्या गरेका हुन् ।

फागुन १ गते राति ८ः३० बजेसम्म रेश्मा बाजाको धुनमा नाच्दै मख्ख थिइन् । तर, उनले त्यो रमाइलो भोलिपल्ट बिहान परिवारसँग साट्ने अवसर पाइनन् । नाचगानकै बीचमा लाइन गयो । अँध्यारो भएपछि केही केटाकेटीबाहेक अधिकांश घरतिर लागे । कोही नभएको मौका छोपेर बिहेमा सहभागी हुन आएका २२ वर्षीय नीरज जर्घामगरले रेश्मालाई सिकार बनाए ।

बोल्न नसक्ने रेश्मालाई नीरजले फ्रुटी र चाउचाउ दिएर फकाई खोलाको बाटो हुँदै उत्तरतर्फ करिब २ सय मिटर पर उखुखेतमा लगे ।

रक्सी, लागुऔषध (ट्याबलेट) र गाँजासमेत सेवन गरी मात्तिएका नीरजले रेश्मालाई फ्रुटी र चाउचाउ खान दिए । नीरजले रेश्मालाई जबर्जस्ती करणी गरे ।

बलात्कारपछि अचेत भएकी रेश्माले आफ्नो पोल खोल्ने डरले नीरजले उनको घाँटी थिचेर हत्या गरे । हत्यापछि बालिकाको शव लुकाउने र फिंगर प्रिन्टलगायत प्रमाण नष्ट गर्ने उद्देश्यले शवमाथि सुकेका उखुका पात, बालिकाले लगाएका कपडा र चप्पल राखेर आगो लगाइदिए ।

रेश्माको शवमा आगो लगाएपछि नीरज फेरि विवाहको घरमा गई नाचगान हेरी बसेका थिए । घटनाको भोलिपल्ट बिहान १०ः३० बजे स्थानीयले उखुबारीमा आधा जलेको शव देखे । शवमाथि कुनै लुगा नरहेको कारण पहिचान गर्न मुस्किल थियो । रेश्माले लगाएको स्वेटरको टुक्रा शवमाथि देखेपछि परिवारजनले उनको पहिचान गरेको थियो । उखुबारीमा आधा जलेको शव देखेपछि गाउँलेले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए ।

यसरी समातिए अभियुक्त

धनुषा बटेश्वर गाउँपालिका९४ बैगाली टोल काकाको घरमा बस्दै आएका नीरजको मामाघर हरिहरपुर मगरटोलमा छ । बालिकाको बलात्कारपछि हत्या गरी उनी बिहे घरबाट राति करिब ११ः३० बजे मामाघरमा गई सुते । बिहान उठ्दा गाउँमा बालिका हत्याको हल्ला भइसकेको थियो । नीरज आफैं पनि शव जलाएको ठाउँ हेर्न गए । घटनास्थलबाट मामाघर फर्किएर बिहान १० बजे गाउँबाट भागे ।

संवेदनशील एवं गम्भीर प्रकृतिको घटना भएकाले जिल्ला प्रहरी कार्यालय धनुषा, संघीय प्रहरी इकाइ जनकपुर र प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले अनुसन्धान थाल्यो ।

अनुसन्धानका लागि हेटौंडाबाट तालिम प्राप्त कुकुरलाई पनि परिचालन गरियो । जनकपुर अञ्चल अस्पतालबाट चिकित्सकहरूको फरेन्सिक टोलीले घटनास्थलमा गई अनुसन्धान गर्‍यो ।

घटनास्थल, परिवारजन, आफन्त, प्रत्यक्षदर्शी र घटना भएको अघिल्लो दिनसम्म गाउँमा भएकाको उपस्थितिलाई प्रहरीले सूक्ष्म रूपमा केलायो । प्रारम्भिक अनुसन्धानले नीरज घटना हुँदा र पछि पनि गाउँमा रहेको देखिए पनि प्रहरीको सक्रियता बढ्न थालेपछि भागेको देखायो ।

नीरज आपराधिक प्रवृत्तिका युवा भएको प्रहरीको रेकर्डले देखाएको छ । प्रहरीले उसको खोजतलास तीव्र पार्‍यो । लुकिछिपी भारततर्फ भाग्न लागेको अवस्थामा प्रहरीले नीरजलाई धनुषा विदेह नगरपालिका—२ दुहबीटोलबाट सोमबार पक्राउ गरेको छ ।

चोरीका घटनामा संलग्न रहेको, केटी जिस्क्याएको आरोपमा इलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिई कारबाही गरेको, सार्वजनिक अपराधमा प्रहरी वृत्त कालिमाटीका साथै ३ महिना केन्द्रीय कारागारमा बसिसकेको प्रहरी रेकर्डले देखाएको एसपी शेखर खनालले जानकारी दिए ।

नीरजमाथि जबर्जस्ती करणी, कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

आरोपीलाई कडा कारबाही गर्न माग

परिवारमा भएको अकल्पनीय घटनाले रेश्माका आफन्त सम्हालिन सकेका छैनन् । रेश्माका बुबा एक सातापछि पनि राम्ररी बोल्न सकेका छैनन् । भतिजीको बलात्कार र हत्यामा संलग्नलाई कडा कारबाही गर्न काका देवराज रसाइलीले जाहेरी दिएका छन् ।

धनुषा प्रहरी कार्यालयमा अन्नपूर्णसँग देवराजले भने, ‘हाम्री कलिली छोरीलाई निर्मम तरिकाले हत्या गर्नेलाई आजीवन कारावासको सजाय हुनुपर्छ ।’

बढ्दो बलात्कार

प्रदेश २ मा गत वर्षको तुलनामा यस वर्ष बलात्कारका घटना दोब्बर संख्यामा वृद्धि भएको छ । चालु वर्षको ६ महिनामै प्रदेशभर १ सय ६० वटा जबर्जस्ती करणीका घटना भए । बलात्कारका घटना धेरै चिनजानकै व्यक्तिबाट भएको प्रहरी तथ्यांक छ । चालु वर्षमा भएका बलात्कार घटनामा १ सय ८६ जना पीडक चिनजानका छन् । २ जना आफन्त र २९ जना अपरिचित व्यक्ति छन् ।

बलात्कार पीडित भने १० वर्षभन्दा मुनिका १७, १० देखि १६ वर्षसम्म ७० र १६ वर्षभन्दा माथिका ७३ जना छन् ।

यस वर्ष बलात्कार घटनामा संलग्न १ सय २८ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ भने ९८ जना फरार रहेको प्रहरीले जनाएको छ । जबर्जस्ती करणी उद्योगका ७८ घटना जाहेर भएकामा ५६ जना पक्राउ परेका छन् । ३४ जना फरार छन् । गत वर्ष १ सय ७० जना बलात्कृत भएका थिए ।

साना बालिका छिट्टै लोभमा पर्ने र उनीहरूलाई सजिलै नियन्त्रणमा लिन सकिने हुनाले पनि बलात्कारको सिकार हुने गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी हरिबहादुर पाल बताउँछन् । अन्नपूर्णमा खबर छ ।