काठमाडौँ । सक्कली नोट स्क्यानिङ गरी त्यसैबाट धेरै कपी प्रिन्ट गरी प्रयोग गरेको ओपमा एक जोडी युवा–युवतीपोखरामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा, मकवानपुर घर भै पोखरा महानगरपालिका–५, पस्र्याङमा डेरा गरी बस्ने ३२ वर्षीय नरेश लामा तथा २५ वर्षीया सरस्वती बलामी रहेका छन् ।
उनिहरुलाई अर्मला, पोखराका किराना पसलहरूमा नक्कली नोट दिँदै रिचार्ज कार्ड लिएर फरार भएको सूचनाका आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरूले प्रहरीसँगको आफ्नो बयानमा पोखराका विभिन्न स्थानमा रिचार्ड कार्ड तथा अन्य सामग्री नक्कली नोट नै प्रयोग गरी खरिद गर्ने गरेको कास्कीका प्रहरी प्रमुख एस.पी ओमबहादुर रानाले बताए ।
एस.पी रानाका अनुसार उनीहरूले झण्डै ५ लाख रुपैयाँ जति नक्कली नोट बजारमा पठाइसकेको बताए पनि प्रहरीले ९ लाख रुपैयाँजति नक्कली नोट बजारमा पठाइसकेको अनुमान गरेको छ । विदेश जाने लक्ष्यका साथ टोफेल–आइएलटिएस पढ्न पोखरा आएको उनीहरूले बताएका छन् । यो जोडी नक्कली नोट, नोट प्रिन्ट गर्ने प्रिन्टर तथा अन्य सामग्री सहित पक्राउ परेको हो ।
उनीहरूलाई खोटा मुद्रासम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।