१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ : नेपालले सेमिफाइनलमा श्रीलंकासँग खेल्ने



अ+ अ-

मोरङ । साफ महिला च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा श्रीलंकासँग खेल्ने भएको छ ।
समुह बीको अन्तिम खेलमा भारतले श्रीलंकालाई ५–०गोलले हराएपछि नेपालले श्रीलंकालाई प्रतिद्धन्द्धी पाएको हो ।


शहीद रंगशाला विराटनगरमा भएको खेलमा भारतले सुरुवातदेखि नै श्रीलंकाको पोष्टमा आक्रमण गरेको थियो । भारतले सात मिनेटभित्रमा नै दुई गोल गर्न सफल भयो ।खेलको चौथो मिनेटमा ग्रिस डाङमेको गोलमा भारतले अग्रता बनायो । प्रतियोगिताको उनको यो दोस्रो गोल हो । त्यसपछि सातौ मिनेटमा भारतले दोस्रो गोल गर्यो ।

उसका लागि संध्या रंगनाथनले गोल गर्न सफल भइन् । त्यसपछि पनि भारतले आफ्नो आक्रमणलाई कायमै राख्यो ।२१ औं मिनेटमा भारतको डरलाग्दो मौकालाई श्रीलंकाकी गोलकिपर विजयरत्नाले बचाइन् । २५ औ मिनेटमा भारतको अर्को प्रहारलाई श्रीलंकाको डिफेन्सलाइनले बचायो । त्यसपछि खेलको ३६ औं मिनेटमा इन्दुमतीले गोल गर्दै भारतलाई तीन शून्यको अगेरता दिलाइन् ।


४२ औं मिनेटमा भारतले पेनाल्टीको अवसर पायो । भारतकी सञ्जुको प्रहार रोक्ने क्रममा श्रीलंकाली खेलाडीले हातले बल छोएपछि पाएको पेनाल्टीलाई संगिताले गोल गर्दै टिमलाई पहिलो हाफमा चार शून्यको अग्रता दिलाइन् ।

पहिलो हाफमा चार गोलको अग्रता बनाएको भारतले दोस्रो हाफको सुरुवातमा नै पाँचौ गोल गर्‍यो। ४६ औं मिनेटमा रतनबालादेवीले गोल गर्न सफल भइन् ।


त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र भारत समूह बी बाट विजेताका रुपमा सेमिफाइनलमा पुग्यो । हारपछि पनि उपविजेता बनेको श्रीलंकाले सेमिफाइनलमा बुधबार नेपालसँग र भारतले बंगलादेशसँग खेल्नेछन् ।