
भक्तपुर । अरनिको राजमार्गअन्तर्गत जगातीबाट बनेपातर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका–६ का ३४ वर्षीय दीपेन्द्र लामा रहेको छ ।
बा ४९ प ५४२७ नम्बरको मोटरसाइकललाई बा १९ प ५०८९ नम्बरको कारले सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा ठक्कर दिँदा लामाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।
मोटरसाइकलमा पछाडि सवार काठमाडौं महानगरपालिका–३० बस्ने ३९ वर्षीय पञ्च खड्गीको मध्यपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
कार चालक भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३४ वर्षीयको राजकुमार गौतमलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको पोखरेलले बताए ।










