
काबुल । पूर्वी अफगानिस्तानमा अमेरिका र नेटोआवद्ध संयुक्त गठबन्धन सेनाको बाग्राम हवाई अखाडा नजिकै सोमबार साँझ भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार सोमबार साँझ ५ः४५ बजे सो आक्रमण भएको थियो ।
अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार बम आक्रमणमा ज्यान गुमाउनेमा तीन अमेरिकी सैनिक, एक अमेरिकी ठेकेदार र एक आतङ्ककारी समूहका सदस्य रहेका छन् ।
पार्वान प्रान्तको बाग्राम जिल्लाको पुल ए बरिकमा भएको यस आत्मघाती आक्रमणमा बाटो हिँडिरहेका पाँच बटुवा पनि घाइते भएको बताएको छ ।
घाइते भएका सर्वसाधारणलाई नजिकैको सरकारी अस्पताल लगिएको संचार माध्यमहरुले जनाएको छ ।
अफगानिस्तानको राजधानी काबुलबाट करिब ५० किलोमिटर उत्तरमा रहेको बाग्राम हवाई अखाडा नजिकै अमेरिकी र नेटो सैन्य शिविर रहेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यस आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।









