
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनसम्म काठमाडौं उपत्यका सहित मुलुकभरको मौसम बदली हुने जनाएको छ ।
महाशाखाका मौसमविद बरुण पौडेलका अनुसार मुलुकको पश्चिमी भेगबाट प्रि–मनसुनलाई सक्रिय बनाउने प्रणाली भित्रिएकाले काठमाडौं उपत्यकामा अपरान्ह हावाहुरी सहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।
सुदूरपश्चिमबाट भित्रिएको प्रणालीका कारण काठमाडौंमा आज अपरान्ह हावाहुरी सहित हल्का वर्षा हुने सम्भावना रहेको उनको भनाई छ ।
पौडेलका अनुसार तराईका केही भागमा चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन पनि उनले आग्रह गरे। बेलुकाको समयमा मध्य तथा पूर्वी तराईका एक दुई स्थानमा हुरीबतास लाग्ने उनको भनाई छ । आज र भोलि मौसम खासै राम्रो नरहेको र पर्सीबाट सुधार हुँदै जाने उनले बताए ।









