काठमाडौं । शाही युवा शक्ति, नेपालले पक्राउ परेका आफ्ना कार्यकर्ताहरुको अबिलम्ब रिहाई नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे शाही युवा शक्ति नेपालले यस्तो चेतावनी दिएको हो । काठमाडौंको गोगंवु–बानियाँटारबाट आज बिहान पक्राउ परेका केन्द्रिय सदस्य बिनोद केसी, राम प्रसाद सुवेदी, मिन बहादुर क्षेत्री र दिपेश खड्कालाई अपहरण शैलीमा घरैबाट पक्राउ गरेको भन्दै घोर आपत्ति जनाएको छ ।
कार्यक्रममा बोल्दै शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले राज्यबाट नागरिकको आम स्वतन्त्रतालाई कुण्ठित पार्ने काम भएको आरोप लगाए । देशका विभिन्न अपराध र बिसंगतिहरु ब्याप्त रहेको भन्दै उनले नागरिकका अधिकारहरु राज्यले दबाउन नहुने सुनाए ।
आफ्ना कार्यकर्तालाई घरभित्रै छिरेर अपहरण शैलीमा पक्राउ गरिएको भन्दै उनले सरकारलाई निःशर्त रुपमा छोड्न चौबिस घण्टे अल्टिमेटम पनि दिएका छन ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निरंकुशवादी सोच र व्यवहार बढाएको भन्दै उनले देशमा ब्याप्त बिसंगति र बिकृतिका बारेमा आवाज उठाउँदा आफुहरुमाथि दमन गर्न खोजेकोे उनको आक्रोश छ ।