
सिन्धुपाल्चोक । नेपाली कांग्रेस जागरण अभियानको उद्घाटन कार्यक्रममा झडप भएको छ । झडप हुँदा तरुण दलका १ कार्यकर्ता घाइते भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच सिन्धुपाल्चोकको कार्यक्रमस्थलमै कुटाकुट हुँदा तरुण दल क्षेत्र नं. १ का समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएका हुन् । श्रोष्ठको टाउकोमा चोट लागेको छ ।
जागरण अभियान उद्घाटन कार्यक्रममा पार्टी जिल्ला सभापति विकास लामाले सामूहिक नेतृत्वमा अघि बढ्नुपर्नेमा एकलौटी पार्टी चलाएको भन्दै देउवा पक्षधर हरिशरण श्रेष्ठ र जिल्ला सचिव झलक नेपालले आरोप लगाएका थिए ।
श्रेष्ठ र नेपालपछि मञ्च पाएका जिल्ला सभापति लामाले आफूमाथि लागेका आरोपबारे प्रष्टीकरण दिएपछि दुई पक्षबीच भनाभन सुरु भएको र त्यसले झडपको रुप लिएको कांग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव बिलबहादुर तामाङले जानकारी दिए ।
झडपपछि कार्यक्रमका सहभागीबीच भागभाग मच्चिएको थियो ।
कार्यकर्ताबीच विवाद भएपछि कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले सम्झाउने प्रयास गरे पनि कार्यकर्ता थप उत्तेजित बन्दै कुटपिटमा उत्रिएका थिए । कार्यक्रममा तनावपछि बस्नेत समस्या बोकेरै राजधानी फर्केको पार्टी जिल्ला सभापति विकास लामाले बताए ।
सिन्धुपाल्चोकमा लामो समयदेखि शेरबहादुर देउवा र पौडेल पक्षबीच चरम विवाद रहँदै आएको छ ।










