६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुढाले बजार नपाउँदा कैदीबन्दी दुःखी



अ+ अ-

तनहुँ । बाहिरी जिल्लाबाट सस्तो मूल्यमा मुढा आयात हुन थालेपछि तनहुँ कारागारका कैदीबन्दीले उत्पादन गरेको मुढाको बिक्री ठप्प भएको छ । कैदीबन्दीले बनाएको मुढा बलियो र टिकाउ हुने भएकाले यसको माग बढी हुन्थ्यो तर पछिल्लो दुई महीनादेखि ती मुढा बिक्री भएको छैन ।विभिन्न अपराधमा सजाय भोगिरहेका कैदीबन्दीे उत्पादन गरिएका मुढा बिक्री नभएपछि चिन्तित भएका छन् । बन्दी विष्णुहरि घिमिरेले बाहिर सस्तोमा मुढा आउन थालेपछि आफूले बनाएको मुढा बिक्री नभएको बताउनुभयो । उहाँका अनुसार कारागारबाट रु २५० देखि रु ३७५ सम्मका मुढा बिक्री हुँदै आएको र अहिलेसम्म ती मुढामा गुनासो आएको छैन ।

पाँच सयभन्दा बढी मुढा बिक्री नभएपछि कैदीबन्दीले मुढा बनाउनसमेत छाडेका जानकारी दिँदै बन्दी घिमिरेले भन्नुभयो, “मेरो मात्रै ३०० भन्दा बढी मुढा बिक्री भएको छैन । अरु साथीको पनि बिक्री नहुँदा अहिले काम नै बन्द गर्नुपरेको छ ।” कारागारमा बित्ने समयको सदुपयोग र आम्दानीको बाटोको रुपमा रहेको मुढा बिक्री नहुँदा आफूहरूलाई चिन्तित बनाएको आर्का कैदीबन्दी विनोद गन्दर्भले बताउनुभयो । उहाँका अनुसार एउटा मुढा बिक्री गर्दा रु ५० जति फाइदा हुने र एउटा मुढा तयार गर्नका लागि दुई÷तीन लाग्ने भएकाले श्रम अनुसारको प्रतिफल नपाइए पनि फुर्सदको समयमा गरेको कामबाट मासिक रु चार÷पाँच हजार भने कमाइ हुँदै आएको थियो ।”

कारागारमा रहेका कैदीबन्दीमध्ये ७० ले मुढा बुन्ने गरेको कारागार प्रशासनले जनाएको छ । मुढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्दै आएका छन् । टायर राखेको रु १०, मुढा उठाएको रु १५, बिट मारेको र बुट्टा भरेको रु ३०÷३० का दरले कैदीबन्दीले पाउने गर्दछन् । यसरी काम गर्दा एक जनाले मासिक रु पाँचदेखि छ हजारसम्म कमाई गर्ने गरेका छन् ।
कारागारका निमित्त प्रमुख नारायण अधिकारीले मुढा बिक्री नभएपछि कैदीबन्दीले आफूलाई समेत गुनासो गरेको र मुढा बिक्रीका लागि आफूले प्रयास भइरहेको जानकारी दिनुभयो ।