६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेढ वर्षमा ८ जना अधिकृत हेरफेर : घोडाघोडीमा किन कोही टिक्दैन ?



अ+ अ-

कैलालीको घोडाघोडी नगरपालिकामा पछिल्लो डेढ वर्षमा ८ जना प्रमुख कार्यकारी हेरफेर भएका छन् । यसले नगरपालिकाको विकास निर्माण र सेवा प्रवाहमा पारेको प्रभाव ।

कैलालीको घोडाघोडी नगरपालिकामा १८ महिना (डेढ वर्ष) मा ८ जना प्रमुख प्रशासकीय अधिकृत हेरफेर गरिएका छन् । पछिल्लो पटक २ वैशाख ०७६ यता खगेन्द्रबहादुर सिंहले प्रशासकीय प्रमुखको पद सम्हालिरहेका छन् । तर, उनी कतिञ्जेल त्यो पदमा रहने हुन निश्चित छैन । ०७४ को स्थानीय चुनावपछि घोडाघोडी नगरपालिकाको मेयरमा नेकपाका नेता ममताप्रसाद चौधरीले निर्वाचित भए । उनले पद बाहली गर्दा राजुप्रसाद न्यौपाने प्रशासकीय प्रमुख थिए । त्यस यता घोडाघोडीमा आठजना प्रशासकीय प्रमुख फेरिएका छन् ।

निजामती कर्मचारी ऐन २०४९ कोे दफा १८ को उप दफा ३ (क) र (ख) मा पहाडी तथा हिमाली जिल्लामा डेढ वर्ष र तराइमा कम्तीमा दुई वर्ष पुरा भएपछि मात्र कर्मचारी सरुवा हुुने व्यवस्था छ । तर, घोडाघोडी नगरपालिकाले त्यो प्रावधानको उल्लघन गर्ने गरेको छ ।

०७४ कार्तिकमा राजुप्रसाद न्यौपाने सरुवा भएपछि उनको स्थानमा कीर्तनराज पौडेल आए । न्यौपाने किन सरुवा भए र पौडेल किन त्यहाँ लगिए भन्ने बारे कसैसँग भरपर्दो जवाफ छैन् । पोखराका पौडेलले कैलालीको गर्मी सहन नसकेको कारण देखाउँदै छ महिना नबित्दै जेठ ०७५ मा सरुवा लिएर पाल्पा गए । उनीपछि नगरपालिकामै कार्यरत विद्यालय निरिक्षक उमेशराज पौडेलले निमित्त प्रमुखको जिम्मेवारी सम्हाले । तर, उनको कार्यकाल पनि एक महिना भन्दा लामो भएन । १९ असार ०७५ मा दीपक आचार्य निमित्त प्रमुख भएपछि पौडेल पुरानो जिम्मेवारीमै फर्किए ।

आचार्यको कार्यकाल पनि एक महिनामै सिमित भयो । उनीपछि सुरेश सुनार प्रमुख प्रशासकीय अधिकृत भए । तर, उनी पनि २ महिना मै सरुवा भए । सुनारपछि आचार्यले नै फेरि निमित्त बनेर एक महिना नगरपालिका चलाए । श्रम मन्त्रालयमा कार्यरत हुँदाको अनिमियताको आरोपमा अख्तियारले छानबिन सुरु गरेपछि ९ कार्तिक ०७५ मा आचार्यलाई त्यो जिम्मेवारीबाट मुक्त गरियो ।

त्यसपछिको तीन साता घोडाघोडी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन बन्यो । २८ कार्तिक ०७५ मा बसन्तबहादुर बोहरा प्रमुख भएर आए । बोहराले पनि ५ महिनामात्र त्यो जिम्मेवारीमा रहे । २९ चैत ०७५ उनी सरुवा भएपछि पालो आयो नगरपालिकाकै शिक्षा शाखाका उपसचिव खगेन्द्रबहादुर सिंहको । घोडाघोडीको प्रशासकीय प्रमुखमा दुुई महिने अनुभव लिएका सुरेश सुनार भन्छन् “उपसचिवमा बढुवा भए पछिको मेरो पहिलो सरुवा थियो । लामो समय काठमाडौ बाहिर बसेर काम गरेकाले काठमाडौ वा वरपर सरुवा चाहेको थिँए, गृह मन्त्रालयमै पाएपछि घोडाघोडी छाडेँ ।”

कारण मेयर पनि

निजामति सेवा ऐनको दफा ४ मा कुनै कर्मचारीलाई कार्यरत कार्यालयमा राख्न उपयुक्त नभएमा सरुवा गर्न सकिने व्यवस्था छ । यही छिद्रमा टेकेर आफूू अनुकुलको अधिकृतलाई आकर्षक र पायक पर्ने ठाउँमा छिटो छिटो सरुवा गर्ने गरिएको छ । यसैको शिकार भएको हो घोडाघोडी नगरपालिका । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित कर्मचारी संमायोजनमा संक्रमणकाल जारी रहेकोले छिटोछिटो प्रशासकीय प्रमुख बदलिएको ठान्छन् ।

यो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हेरफेरका अदृश्य कारण जे भए पनि देखिने कारण चाहिँ मेयर ममताप्रसाद चौधरी हुन । उनीसँग जोडिएका केही विवादास्पद प्रकरणले कर्मचारी त्यहाँ जानै नमान्ने, गइहाले त्यहाँबाट भाग्ने ध्याउन्नमा हुन्छन् । सुनार भन्छन्, “मेयरका विवादमा परिन्छ कि भनेर हाकिमहरु आफै सरुवा मिलाएर अन्यत्र जाने गरेका छन् ।”

२४ फागुन ०७४ मा कैलालीको घोडाघोडी नगरपालिका ५ देवकलियाकी किशोरी राधा चौधरीलाई बोक्सी आरोपमा चरम यातना दिएको घटनाले सभ्य समाजलाई लज्जित बनाएको थियो । भोलेबाबा नामधारी स्थानीय रामबहादुर चौधरीले बोक्सी आरोपमा राधालाई निर्लज्ज यातना दिए । त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो ।

घटना लगतै प्रहरीले रामबहादुरलाई पक्राउ गरेर इलाका प्रहरी सुख्खड ल्यायो । उनलाई छुटाउन मेयर ममताप्रसाद चौधरी सक्रिय भए । मेयरकै रोहबहरमा रामबहादुर छुटे पनि । इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक दिनेश विष्टका अनुसार रामबहादुरलाई वडा नम्बर १ अध्यक्ष प्रेम रोकाया, राधाका बुबा जोखन चौधरी र मेयर चौधरीको रोबहरमा छाडिएको थियो । तर, फेरि दबाब बढेपछि रामबहादुरलाई प्रहरीले गिरफ्तार ग¥यो ।

कैलाली जिल्ला अदालतले १७ जेठ ०७५ मा रामबहादुरलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद र एक लाख रुपियाँ जरिवाना गरेको छ । यो काण्डले मेयर चौधरी विवादमा मुछिए । यो प्रकरणले घोडाघोडी नगरपालिका र जनप्रतिनिधिप्रति नै नकारात्मक धारणा बन्यो । मेयर चौधरीले रामबहादुरलाई आफूले नछुटाएको दाबी गरेका छन । तर, यो काण्डपछि कुरा बुझ्ने कर्मचारी घोडाघोडीमा नगरपालिकामा सरुवा हुन हिच्किचाउने गरेका छन् ।

ममताप्रसाद चौधरी, मेयर र सुरेश सुनार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत

२८ फागुन ०७४ को राति साढे ८ बजे मेयर चौधरीलाई उनको घर नजिक गोली हानियो । गोलीले गम्भीर घाइते भएका चौधरीको उपचार बाँकेको कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा हुन नसकेपछि सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइयो । महाराजगञ्ज शिक्षण अस्पतालमा एक महिना उपचार गरेपछि मेयर निको भए । मेयरलाई गोली हानेको आरोपमा प्रहरीले विप्लव माओवादीका चार जनालाई पक्राउ गरी ज्यान मुद्दा चलाएको छ ।

यो प्रकरणले उनीप्रति सहानुुभूति भने बढ्यो । बोक्सी काण्डमा खलनायक जस्ता देखिएका चौधरी गोली काण्डपछि भने आम जनताको सहानुुभूतिका पात्र भए । तर, मेयरमाथि नै गोली चलेका कारण घोडाघोडी नगरपालिका त्रासको शिकार भयो । मेयरमाथि नै गोली चलेपछि कर्मचारीहरु घोडाघोडीमा थप भयभीत हुने गरेका छन् ।

त्यसो त मेयर चौधरीले नगरपालिकामा आफ्ना निकटहरुलाई लाभ पुुग्ने काम पनि गरेका छन् । उनले २६ पुस ०७४ मा आफ्ना दाई दयाराम चौधरीलाई बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डको उपाध्यक्षमा नियुक्त गरे । मासिक ३० हजार तलव सुविधाको कार्यकारी त्यो पद अरुलाई पन्छाएर दाइलाई दिएपछि उनी विवादमा परे ।

मेयर चौधरीका विवादास्पद काम यतिमै सकिदैन । उनले भजिता प्रेम चौधरीलाई नगरपालिका ठेक्का पट्टाको काम जिम्मा दिने गरेका छन् । उनका भतिजा नगर क्षेत्रका निर्माण व्यवसायी हुन । नगरपालिकाका धेरै विकास निर्माणका योजना प्रेमले पाउने गरेका छन् । प्रेम भन्छन्, “मैले प्रक्रिया पुरा गरेर ठेक्का पाएको हुँ ।”

घोडाघोडी नगरपालिकाको कार्यालय पूर्वपश्चिम राजमार्ग मै छ । नेपालगञ्ज र धनगढीबाट करिब २/३ घन्टाको दुरीमा पर्छ घोडाघोडी । दुर्गम र खान बस्न असहज क्षेत्र होइन यो नगरपालिका । तैपनि यहाँ कर्मचारी टिक्दैनन । एक महिना निमित्त प्रशासकीय प्रमुख भएका नगरपालिकाका विनि उमेशराज रेग्मी भन्छन “मेयर साबमा जनप्रतिनिधि र कर्मचारीसँग समन्वय गर्ने क्षमताको अभाव छ । अरुसँग समन्वय नगरी काम संचालन गर्ने शैलीले गर्दा घोडाघोडीमा प्रशासकीय प्रमुख नटिकेका हुन् ।”

नगरपालिकाका प्रशासकीय प्रमुखले नगर संसद र कार्यपालिका सचिवको भूमिका पनि खेल्नुुपर्छ । तर छिटो छिटो हाकिम सरुवा हुँदा विकास निर्माण र सेवा प्रवाह प्रभावित भएको मेयर चौधरी स्वीकार गर्छन् । घोडाघोडी नगरपालिकामा ११ वटा वडा छन । करिब ८० हजार जनसंख्या भएको यो नगरपालिका क्षेत्रफलका हिसाबले जिल्ला कै ठूलो नगरपालिका हो । मेयर चौधरी भन्छन्, “छिटो छिटो कार्यालय प्रमुख सरुवा हुँदा धेरै काम प्रभावित भएका छन् ।”

हुन पनि मेयर चौधरीको कार्यशैली प्रति उपमेयर र वडा अध्यक्षहरु समेत रुष्ट रहेछन् । नगरपालिकाको नीति, कार्यक्रम र बजेट बनाउँदा मेयरले एकलौटी गरेको आरोप कतिपय वडा अध्यक्षहरुको छ । मेयरको कार्यशैलीप्रति घोडाघोडी नगरपालिकाका १२ मध्ये ९ वडाका अध्यक्षहरुले १६ असार २०७५ मा संयुक्त रुपमा विरोध जनाए । उनीहरुले त्यतिबेला जारी गरेको विज्ञप्तिमा ‘मेयर चौधरीले नगरपालिकामा अधिनायकवाद लादेको, आत्मकेन्द्रीत भएको, आफन्त मोहमा फसेको’ आदि आरोप लगाइएको छ । चौधरीको कार्यशैलीबाट दिक्क भएर संयुुक्त रुपमा विरोधमा उत्रिन बाध्य भएको वडा २ का अध्यक्ष हरिराज बिष्ट बताउँछन् । यता, वडा १ का अध्यक्ष मनराज शाहीले त मेयरलाई ‘बिना श्रीपेचको राजा’ भनेर आलोचना गरेकाछन् ।

कर्मचारी अभावका कारण अहिले पनि नगरपालिकाका ३, ५ र ७ नम्बर वडा एकै जना सचिवले चलाई रहेका छन । त्यसैगरी २ र ६, ४ र ९ तथा १० र ११ नम्बर वडा पनि एउटै सचिवले चलाई रहेका छन । एउटै सचिवबाट २र३ वटा वडाहरु संचालन गर्नु पर्दा विकास निर्माण र सेवा प्रवाहमा समस्या रहेको वडा अध्यक्ष विष्टको कथन छ ।

घोडाघोडी नगरपालिका कैलालीकै सबैभन्दा बढि सामुदायिक वन, मुक्त कमैया र गरिब तथा विपन्न समुदाय बसोबास रहेको क्षेत्र हो । विष्ट थप्छन्, “हाकिम हेरफेर हुने र कर्मचारी नहुने रोगले गर्दा जनताले स्थानीय सरकारको अनुभूति नै गर्न पाएनन ।”

खोज पत्रकारिता केन्द्रका लागि