दाङ । दाङको गढवामा एक बालिकामाथि अपरहणपछि बलात्कार भएको छ।
गढवा गाउँपालिका वडा नं. ६ नी १५ वर्षीया बालिका माथि ३२ वर्षीय कृपाराम यादवले विभिन्न प्रलोभन देखाउँदै लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
‘प्रलोभनमा पारी अपहरण शैलीमा विवाह गर्छु भनि लगेर यादवले बलात्कार गरेको पीडितको जाहेरमा उल्लेख छ,’ जिल्ला प्रहरी प्रवक्ता विनोदविक्रम शाहले भने।
बालिकालाई ललाइफकाई गर्न स्थानीय ६८ वर्षीय रामसुन्दर यादव, ३६ वर्षीय मोहन यादव, २६ वर्षीय धर्मराज यादव र गढवा ५ बाँकी निवासी ३० वर्षीय अंगतकुरमा यादवको समेत संलग्नता रहेको पीडितको जाहेरीमा उल्लेख छ। जाहेरीका आधारमा पक्राउ परेकाहरूमध्ये दाङ देउखुरी जिल्ला अदालतको जेठ १३ गतेको आदेशले राम सुन्दर यादवलाई ५० हजार र धर्मराज यादवलाई २० हजार धरौटीमा छुटेका छन्।
त्यसैगरी अदालतको आदेश अनुसार अंगतकुरमा यादव र मोहन यादव साधारण तारेखमा छुटेका छन्। मुख्य अभियुक्त मानिएका कृपाराम यादव भने अझैं थुनामा छन्। उनको फैसला आउन बाँकी नै छ। गत चैत २६ गते साँझ साढे ८ बजे अपहरण गरी बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ।
चैत २६ गते अपहरणपछि बलात्कार भएको प्रहरीले बताएको छ।