६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी पानी बोक्न बाध्य



अ+ अ-

डडेल्धुरा । डडेल्धुरा अमरगढी नगरपालिका–१० राईमा रहेको सहश्रलिङ्ग माध्यमिक विद्यालयमा केही महीना यतादेखि खानेपानीको चरम अभाव भएको छ । विद्यालयमा खानेपानीको अभाव हँुदा विद्यार्थीहरु दैनिक घरबाटै खानेपानी बोकेर ल्याउने गर्दछन् ।

विद्यालयमा खानेपानीको आपूर्ति हुँदै आइरहेको साउरोडा खानेपानी योजनाको मुहान सुकेपछि सहश्रलिङ्ग माध्यमिक विद्यालयमा खानेपानीको चरम अभाव भएको हो । विद्यालयमा खानेपानी आउन छाडेपछि पिउनका लागि बोतल तथा भाँडामा घरबाट नै भरेर कापीकिताबसित नै बोक्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ ।

लामो समयको खडेरीका साथै जथाभावी सडक निर्माणका कारण मुहान सुकेपछि यस विद्यालयमा रहेका धारामा पानी आउँदैन । विद्यालयमा खानेपानीको चरम अभाव भएपछि विद्यार्थीहरुले घरबाटै खानेपानी बोकेर ल्याउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोगराज ऐरले बताउनुभयो । गर्मीको मौसममा पानी बोकेर नल्याउँदा प्यासले पढ्न नसकिने र पढेको कुरा बुझ्न पनि ध्यान नजाने विद्यार्थीहरु बताउँछन् ।

खानेपानीको चरम अभाव हुँदा विद्यार्थीको पढाई प्रभावित हुनुका साथै शौचालय पनि दुर्गन्धित भएको विद्यालयका प्रधानाध्यापक शिवदत्त जोशीले बताउनुभयो । घरबाट ल्याएको पानी सकिएपछि विद्यार्थीहरु नजिकैका पसल वा विद्यालयदेखि घण्टौँको दुरीमा रहेको पँधेरामा पानी खान जाने गरेका छन् ।

कक्षा १२ सम्मको पढाइ हुने यस विद्यालयमा करीब चार सय जना विद्यार्थी अध्ययन गर्दछन् । अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले विद्यालयमा खानेपानीको आपूर्तिका लागि मुहानको खोजी भइरहेको बताउनुभयो ।