काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग गर्ने अनुमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा सत्तारुढ नेकपाका प्रमुख सचेतक देब गुरुङले राष्ट्रिय सुरक्षाका निम्ति पारमाणविक पदार्थको प्रयोगको अधिकार निजी क्षेत्रलाई दिन नहुने स्पष्ट पारेका थिए ।
उनले त्यस पदार्थको सुरक्षित प्रयोगका लागि आवश्यक अनुसन्धान केन्द्रको स्थापना गर्न पनि सरकारसँग माग गरे ।
बैठकमा प्रतिनिधिसभाका सांसदहरु योगेशकुमार भट्टराई र खगराज अधिकारीले पनि पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग गर्ने अनुमति निजी क्षेत्रलाई दिने काम नगर्न सरकारलाई सचेत गराएका थिए ।