७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा रक्षा मन्त्रालयको भवन नजिकै बम विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु



अ+ अ-

काबुल । आफगानिस्तानको राजधानी काबुलस्थित रक्षा मन्त्रालयको भवन नजिकै बम विस्फोट भएको छ । सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन् ।

टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतङ्ककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र आतङ्कारीबीच दोहोरो गोली हानाहान भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।

शुरुमा आतङ्ककारीले विस्फोटक पदार्थ बोकेको एक कारलाई विस्फोटन गराएको पनि प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । निर्माणाधीन भवनमा दोहोरो गोली हानाहान भएको र केही समयपछि सुरक्षा अधिकारीले सो स्थानमा पुगेका र स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।

आक्रमण भएको यस स्थानमा सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएर घेरा लगाएका र पत्रकारहरुलाई समेत यस इलाका जानका लागि अनुमति नदिएको समाचारमा जनाइएको छ । आक्रमण र यसपछि तालिबानी समुहले विज्ञप्ति जारी गर्दै उक्त घटनाको जिम्मा लिएको छ । तालिबान प्रवक्ता जाबुहुल्लाह मुजाहिदले जारी गरेको विज्ञप्तिमा हमला आम नागरिकप्रति नभएर सैनिकहरुप्रति लक्षित गरिएको बताइएको छ ।

संयुक्त राष्ट्रसंघ तथा केही गैरसरकारी संस्थाहरुले उक्त घटनामा मारिएका र घाइते भएकाप्रति चिन्ता व्यक्त गर्दै तालिबानी समुहको आलोचना गरेका छन् ।

यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन । घाइतेमध्ये कैयौंको अवस्था चिन्ताजनक भएको र मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का गरिएको छ ।