७ पुष २०८२, सोमबार
,
Latest
देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारमा इतिहासमै सबैभन्दा बढी मुद्दा, फैसला कम



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरीको सामान ढुवानीको क्रममा अनियमितताको दाबीसहित चार पूर्वप्रहरी महानिरीक्षक (आईजीपी)माथि सजायको माग गर्दै विशेष अदालत पुगेको मुद्दामा अभियुक्तहरूलाई अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान र अदालतको आदेश दुवै चर्चामा छन् ।
उक्त मुद्दामा आयोगको अनुसन्धानमाथि नै विशेष अदालतले प्रश्न गरेको छ ।

चालू आर्थिक वर्षमा इतिहासमै सबैभन्दा बढी मुद्दा दर्ता गराएको आयोगले अदालती आदेशले आगामी कामकारबाहीमा भने कुनै प्रभाव नपर्ने दाबी गर्छ । बरु अझै प्रभावकारी रूपमा अगाडि बढ्ने आयोगले स्पष्ट गरेको छ ।

आयोगका पूर्वआयुक्त वेद सिवाकोटीले भने आयोगको अनुसन्धान र विशेष अदालतको सुनुवाइ दुवैमा समस्या हुन सक्ने बताउनुहुन्छ । उहाँका अनुसार, यसअघि विशेषले सफाइ दिएको मुद्दामा सर्वोच्चबाट दोषी ठहरिएका पनि थुप्रै उदाहरण छन् । “त्यसैले तत्कालै अनुसन्धान र आदेशबारे टिप्पणी गर्न सकिने अवस्था छैन” पूर्वआयुक्त सिवाकोटी थप्नुहुन्छ ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले भने अभियुक्तहरूलाई निष्पक्ष सुनुवाइको मौका नै नदिई आरोपपत्र दायर गर्नु प्रक्रियागत त्रुटि रहेको औँल्याउनुभयो । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइराला अभियुक्तहरूको बयान र जम्मा भएका प्रमाणको आधारमा आयोगले भने भ्रष्टाचार भएको दाबीसहित अदालत पुगेको प्रस्ट्याउनु हुन्छ । उक्त मुद्दामा पूर्वमहानिरीक्षक वासुदेव ओली, सनत बस्नेत, शैलेन्द्र श्रेष्ठ र कोषराज वन्त पदीय हैसियतमा रहँदा नक्कली बिल बनाएर करोडौँ अनियमितता गरेको अख्तियारको दाबी छ ।

“आयोगको चित्त नबुझेको अधिकांश मुद्दामा पुनरावलोकन गरिएको छ” भन्नुहुँदै प्रवक्ता कोइरालाले सशस्त्रका पूर्वप्रहरी महानिरीक्षकहरूको मुद्दामा पनि आदेशको पूर्णपाठ आएपछि निर्णयमा पुगिने बताउनुहुन्छ । पूर्वआयुक्त सिवाकोटीले विगतमा विशेषबाट दोषी ठहर नभएका आदेशको अध्ययन र विश्लेषण गरी अझै सशक्त र सूक्ष्म अनुसन्धान गरेर मात्रै सप्रमाण आरोपपत्र दायर गर्नुपर्ने सुझाउनुहुन्छ ।

उच्च उजुरी र अनुसन्धान
अख्तियारमा चालू आथिक वर्षको असार पहिलो सातासम्ममा नै २१ हजार हाराहारी उजुरी परेको छ । तीमध्ये छ सय मुद्दामा भ्रष्टाचार भएको र प्रमाण जुटाउन सकिने प्रारम्भिक अध्ययनमा फेला परेको छ । छानबिन गर्दा आयोगले तीन सय मुद्दामा भ्रष्टाचार भएको दाबीसहित प्रमाण लिएर विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

गत वर्ष आयोगमा परेको उजुरीको सङ्ख्या १९ हजार ४८८ रहेको थियो, जसमध्ये आयोगले सूक्ष्म अध्ययन र अनुसन्धान गरी प्रमाणसहित १९४ मुद्दालाई विशेष अदालतसम्म पुर्यायो । त्यसमध्ये ८७ मुद्दामा अदालतले दोषी ठहर गरी सजाय गर्यो। यीमध्ये अधिकांश सार्वजनिक सम्पत्ति हिनामिनासम्बन्धी रहेको थियो ।


विशेष अदालतका अनुसार, चालू आवको असार १७ गतेसम्म ३७९ मुद्दा फछ्र्योट गर्न बाँकी रहेको छ । जसमध्ये गैरकानुनी सम्पत्ति आर्जन २०, अनियमितताको १२५, नक्कली प्रमाणपत्रको ५७ र घुस लिएको १६५ मुद्दा विचाराधीन अवस्थामा छन् । गत वर्ष घुससहित पक्राउ परेको मुद्दाको सङ्ख्या ९७ रहेको थियो । यस वर्ष एक सय पुगेको छ ।

गत वर्ष नक्कली प्रमाणपत्र र ‘स्टिङ अपरेसन’ को मुद्दालाई प्राथमिकतामा राखेको अख्तियारले यस वर्ष भने सार्वजनिक निकायमा हुने अनियमितता र सम्पत्ति हिनामिनाको मुद्दालाई विशेष प्राथमिकता दिएर छानबिन गर्दैछ ।

चर्चित काण्ड
अख्तियारले गत बुधबार विशेष अदालतमा दायर गरेको त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्षसहितका १० जनामाथिको आरोपपत्र निकै चर्चामा रहेको छ । भतिजी, छोरीलगायतका आफन्तलाई जागिर दिने नाममा मनपरी नगर्न त्रिवि सेवा आयोगका पदाधिकारी तथा सदस्य र विश्वविद्यालयका उच्च ओहोदाका कर्मचारीलाई आयोगले यसअघि पनि सचेत गराएको थियो ।

सेवा आयोगको विज्ञापन नं. ७/२०७२/०७३ मा उपप्राध्यापक पदको स्थायी पदपूर्तिमा अनियमितता भएको जनाउँदै आयोगले गत वर्ष नै सचेत गराउँदै सुधारको अपेक्षा गरेको थियो तर आयोगको उक्त सुझावलाई बेवास्ता गरी अनुत्तीर्णलाई उत्तीर्ण र उत्तीर्णलाई अनुत्तीर्ण गर्ने क्रम नरोक्दा त्रिवि सेवा आयोगका पदाधिकारी र कर्मचारीमाथिको निगरानीले अदालतसम्म पुर्याइसकेको छ ।

अख्तियारभित्रै बसेर पदीय आचरणविपरीत भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहेको आरोपमा आयुक्त राजनारायण पाठकलाई समातियो । आफ्नै सक्रियतामा भेद नखुले पनि आयोगले आरोप लाग्ने बित्तिकै पाठकको मुद्दामा छानबिन गरी अदालतमा आरोपपत्र दायर गरेको छ । त्यसैगरी, सिक्टा सिँचाइ आयोजनामा दुई अर्ब १६ करोड भ्रष्टाचार भएको मुद्दा वर्षकै सबैभन्दा ठूलो धनराशिको भ्रष्टाचार भएको मुद्दा हो । उक्त आयोजनाको निर्माण पूर्वमन्त्री विक्रम पाण्डेको कम्पनीले गरेको थियो । कमसल माटोमाथि नहर निर्माण गर्दा निर्माण पूरा नहुँदै भत्किँदा उक्त आयोजना अख्तियारको छानबिनमा परेको थियो ।

आयोगले आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काले आर्जन गरेको १८ करोड रुपियाँ सम्पत्तिको स्रोत नखुल्दा विशेष अदालतमा मुद्दा दायर गरेको छ । भृकुटीमण्डपको जग्गा भाडामा दिन तत्कालीन मन्त्री बद्री न्यौपानेले ३१ करोड हिनामिना गरेको दाबीसहित अख्तियारले विशेष अदालतमा सजायको माग गर्दै आरोपपत्र दायर गरेको छ । दस रुपियाँको नोट छपाइको क्रममा तत्कालीन गभर्नर तिलक रावलले अनियमितता गरेको दाबीसहित सजायको माग गरी आयोग विशेष अदालत पुगेको यसै वर्ष हो ।

आयोगका प्रवक्ता कोइरालाले भने चर्चामा नरहेका व्यक्तिले पनि ठूलो रकम हिनामिना गर्दा मुद्दा ठूलो बन्ने बताउनुहुन्छ । राजनीतिक व्यक्तित्व वा सार्वजनिक निकायको उच्च तहमा बसेर थोरै रुपियाँ हिनामिना गर्दा मुद्दा ठूलो हुने उहाँ बताउनुहुन्छ । त्रिभुवन विमानस्थलमा सुन जाँच्न उपकरण चलाउने प्राविधिक श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध अख्तियारले गत माघ महिनामा आरोपपत्र दायर ग¥यो । श्रेष्ठले १४ करोड ६१ लाख रुपियाँ गैरकानुनी आर्जन गरेको अख्तियारको दाबी छ । प्रवक्ता कोइराला सानो ओहोदामा बसेर ठूलो रकम हिनामिना गरेको मुद्दालाई पनि ठूलै मुद्दाका रूपमा पहिचान गरेको तर्क गर्नुहुन्छ ।
आयोगले यसै वर्ष रुग्ण आयोजनाको पनि अध्ययन गर्यो । करिब एक खर्ब रुपियाँ लगानी रहेको एक हजार बढी आयोजना अलपत्र रहेका छन् । जसमध्ये कामै नगरी २४ अर्ब रुपियाँ पेश्कीबापत ठेकेदार कम्पनीले बुझिसकेको छ । उक्त अध्ययनको निष्कर्षसहितको अन्तिम प्रतिवेदन भने आउन बाँकी नै रहेको छ ।

बढ्दो भ्रष्टाचार
ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०१८ को सूचकाङ्कबमोजिम नेपाल विश्वका भ्रष्टाचार हुने मुलुकमा १२४ औँ मा पर्छ । ट्रान्सपरेन्सीले करिब दुई दशकदेखि विश्वव्यापी रूपमा सार्वजनिक निकायमा हुने भ्रष्टाचारजन्य गतिविधि अध्ययन र विश्लेषण गर्दै आएको छ । उसले विश्वको १८० राष्ट्रमा सर्वेक्षण गरेको थियो । अध्ययनबमोजिम नेपालले ३१ अङ्क प्राप्त गरेको छ ।

सन् २०१६ मा नेपाल १३१औंँ स्थानमा थियो । सन् २०१७ मा १२२औँ स्थान ल्याएर सार्वजनिक निकायको सेवा प्रवाह सुध्रिएको विश्लेषण गरियो तर २०१८ मा आएर फेरि दुई अङ्क तल झर्दा सेवा प्रवाहको अवस्था अस्थिर रहेको सूचकाङ्कले देखाउँछ । “सार्वजनिक निकायमा भ्रष्टाचार बढ्दा लोकतन्त्रप्रति नागरिकको आस्था घट्छ” पूर्वआयुक्त सिवाकोटी भन्नुहुन्छ, ‘‘सार्वजनिक सेवा प्रवाहमा देखिएको अनियमितता अन्त्य गर्न आयोगसँगै राजनीतिक नेतृत्व पनि सचेत र संवेदनशील हुनुपर्छ ।’’

आयोगका अधिकारीहरू भने सबै निकाय भ्रष्टाचार हुँदै जाने र आयोग पछिपछि लाग्ने सम्भव नरहेको टिप्पणी गर्नुहुन्छ । प्रवक्ता कोइराला भन्नुहुन्छ, ‘‘शाखा प्रमुख, कार्यालय प्रमुख, विभागीय प्रमुख र वडाध्यक्षदेखि सरकार प्रमुखले आफ्नो मातहातमा हुने अनियमित गतिविधि नियन्त्रण गरेर मात्रै भ्रष्टाचार नियन्त्रण हुन्छ ।’’। समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।