७ आश्विन २०८१, सोमबार
,
Latest
नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपत् व्यवस्थापन कोषमा डेढ अर्ब : बाढी-पहिरोपीडित बिचल्लीमा



अ+ अ-

काठमाडौं । बर्सेनि बाढी–पहिरोमा परी दर्जनौँले ज्यान गुमाउँछन् । हजारौँ प्रभावितको महिनौँसम्म बिजोग हुन्छ । हरेक वर्ष विपत् आउँछ भन्ने थाहा छ, तर यससम्बन्धी पर्याप्त तयारी सरकारले कहिल्यै गर्दैन । व्यवस्थित र प्रभावकारी उद्धार तथा राहत हुँदैन । त्यसैले स्रोतसाधनको अभावका कारण नभई व्यवस्थापन क्षमताको कमीले सर्वसाधारण मर्कामा पर्दै आएका छन् ।

गृह मन्त्रालयको केन्द्रीय विपत् व्यवस्थापन कोषमा यसवेला डेढ अर्ब रुपैयाँ छ । तर, देशभर बाढीपहिरोले हजारौँको बिचल्ली हुँदा विपत्मा खर्च गर्न भनेर राखिएको रकम खर्च हुन सकेको छैन ।

गृह मन्त्रालयले भने सबै निकायसँग समन्वय गरी व्यवस्थित रूपमा राहत र उद्धारको काम अघि बढाइएको जनाएको छ । शनिबार विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसी सबै निकायलाई निर्देशन दिइएको गृहले जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा बसेको विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले १३ बुँदे निर्देशन दिएको छ ।

बैठकले प्रभावित तथा सम्भावित जोखिममा रहेका व्यक्ति,परिवार र समुदायको तत्काल उद्धारसंगै सुरक्षित आश्रयस्थलको प्रभावकारी बनाउन सेना, प्रहरी, सशस्त्र प्रहरी, सरकारी गैरसरकारी सघ सस्थालाई सहयोगमा जुट्न निर्देशन दिएको छ ।

केन्द्रीय विपत् व्यवस्थापन कोषबाट नै जिल्लाहरूमा पैसा पठाइएको उपसचिव वेदनिधि खनालले बताए । ‘हाम्रो कोषमा डेढ अर्ब छ,’ उनले भने, ‘त्यही कोषबाट खर्च सुरु गरिएको छ ।’

एकद्वार प्रणालीमा राहत वितरण गर्न निर्देशन
अविरल वर्षापछि प्रभावित भएका सर्वसाधारणलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । स्थानीय तहसँगको समन्वयमा शनिबारदेखि नै खाद्यान्न, औषधि, त्रिपाल, लत्ता कपडालगायत राहत उपलब्ध गराउन पनि निर्देशन दिइएको छ ।

बैठकले प्रभावित तथा जोखिममा रहेका क्षेत्रका बासिन्दालाई राहत तथा आश्रयस्थलको व्यवस्थापनका लागि परिचालन हुन संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिको कार्यालयलाई आवश्यक समन्वय गर्न आग्रहसमेत गरेको छ ।

बैठकले खाद्यान्न उपलब्ध गराउन खाद्य संस्थान, चिकित्सक परिचालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गैरखाद्य सामग्री व्यवस्थापनका लागि रेडक्रसलगायत संघसंस्थालाई आग्रह गरेको छ । तत्कालका लागि जिल्ला विपत् व्यवस्थापन कोषबाट रकम खर्च गरी निकासा माग गर्नसमेत निर्देशन दिएको छ ।

सुर्खेतबाट उडेको हेलिकोप्टरले धनुषामा उद्धार
खराब मौसमका कारण शुक्रबार पनि बाढीपहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टरबाट उद्धार कठिन भएको गृह मन्त्रालयले जनाएको छ । शनिबार सुर्खेतबाट उडेको हेलिकोप्टरले धनुषामा नौजनाको उद्धार गरेको छ । कमला नदीको बाढीका कारण फसेका नौजनाको हेलिकोप्टरबाट उद्धार गरिएको गृह मन्त्रलायअन्तर्गतको राष्ट्रिय आपत्कालीन सेवा सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले बताए । ‘खराब मौसमका कारण उपत्यका र पूर्वक्षेत्रबाट हेलिकोप्टर उडाउन सकिएन,’ उनले भने ।

भारतीय बाँधले पानी रोक्दा गौर डुब्यो, बाढीले भत्काएपछि पनि एसएसबीले थुन्यो
हिँड्ने बाटो बनाउने बहानामा भारतले दशगजा क्षेत्रमा नेपाली भूभागभन्दा २५ फिट अग्लो माटोको ड्याम खडा गरेपछि पानीको निकास थुनिएर शनिबार गौर चुर्लुम्मै डुब्यो । लालबकैया र बाग्मतीको पानीले निकास नपाएपछि गौर डुबेको हो । घरका एक तालासम्म पानी पुग्यो । तर, प्रमुख जिल्ला अधिकारी किरण थापाले भारतीय पक्षसँग पहल गर्दा पनि बाँध नखोलेपछि डुबानमा फसेकाहरूलाई पाँचवटा डुंगा परिचालन गरेर उद्धार गरिएको थियो । ‘मैले बाँध खोलिदिन पटक–पटक आग्रह गरेँ, तर नखोलिदिँदा समस्या भयो,’ प्रजिअ थापाले भने ।

दिउँसो पानीको बहावको धक्काले नै भारतीय माटेबाँध फुटाइदिएको थियो । तर, तत्कालै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले थुनिदिएको थियो । त्यति नै वेला काठमाडौंमा गृह प्रवक्ता प्रेमकुमार राईले भने पत्रकार सम्मेलन गर्दै भारतले पानी खोलिदिएको बताएका थिए । भारतले बाँध खोलिदिएपछि पानी घट्दै गएको दाबी राईले गरे पनि गौरका मेयर अजय गुप्ता भने बाढीले नै बाँध भत्काएको, तर तत्काल एसएसबीले पुनः थुनेको बताउँछन् ।

राति १० बजे सप्तकोसीको सबै ढोका खोलियो

निरन्तरको वर्षाका कारण पूर्वी पहाडी क्षेत्रमा आएको बाढीका कारण सप्तकोसीमा पानीको बहाव उच्च भएको छ । कोसी ब्यारेजका सबै ढोका खोलिएका छन् । शनिबार साँझ ६ बजेको मापनअनुसार ब्यारेजमा पानीको मात्रा ३ लाख ३१ हजार २ सय २० क्युसेक पुगेको छ । वर्षा नरोकिएकाले बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोसी तटका बासिन्दालाई सतर्क रहन अपिल गरेको छ । कोसी ब्यारेज पूर्णतया भारतीय पक्षको निगरानी र नियन्त्रणमा छ, कन्ट्रोल रुममा भारतीय कर्मचारी छन् ।

पानीको सतह बढेपछि कोसी गाउँपालिका–८ का दुई दर्जन घरपरिवार डुबानमा परेका छन् । शनिबार प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्र्कीले राहत तथा उद्धार कार्यमा कुनै कमी हुन नदिने बताएका छन् । कोसी ब्यारेज क्षेत्रका बाढी प्रभावितको अवस्था बुझ्दै उनले मृतकको परिवारलाई एक लाखका दरले राहत दिने व्यवस्था प्रदेश सरकारले मिलाएको बताए ।

डोल्पामा पहिरोमा चार बालबालिकासहित नौ बेपत्ता

मुड्केचुला गाउँपालिका–१ र २ को बीचमा पर्ने घोटाओलमा पहिरोमा पुरिएर चार बालबालिकासहित नौजना बेपत्ता भएका छन् । अर्का बेपत्ता धनराज बोहोराको भने शव भेटिएको छ । काँशी खोलामा आएको बाढीको कटानले पहिरो गएको स्थानीय पत्रकार धर्मराज सिंहले बताए । उनका अनुसार पानीघट्टमा गएका धनरुपा बोहोरा, विचित्र बोहोरा, सारिका बस्नेत र निर्मल बोहोरा बेपत्ता छन् ।

५० मिटर माथिबाट खसेको पहिरोले वडाध्यक्ष भानुभक्त बोहोरा, जंगबहादुर बोहोरा र धर्मराज बोहोराको घर बगाएको छ । अन्य २५ घर जोखिममा छन् । काँशीखोला जलविद्युत् आयोजना पनि बगाएको छ । स्थानीय प्रहरी घटनास्थल पुगिसकेको छ भने सदरमुकामबाट प्रमुख जिल्ला अधिकारीसहित सेना र प्रहरीको टोली जाने तयारी गरिरहेको छ । सदरमुकामबाट घटनास्थल एक दिनको पैदल दूरीमा पर्छ ।

परीक्षा दिएर फर्किँदै गर्दा तीन बालिकालाई खोलाले बगायो

इलामको माई नगरपालिका–१ को बर्धरे खोलाले परीक्षा दिएर घर फर्कंदै गरेका तीनजना बालिकालाई बगाएको छ । १५ वर्षका सुनिता साउदेन, निशा साउदेन र आकृति लिम्बूलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डेरामा बसेर विद्यालय जाने उनीहरू शुक्रबार परीक्षा सकिएपछि घर फर्किरहेका थिए ।

बेपत्ता बालिकाहरूको खोजीका लागि जिल्ला प्रहरी कार्यालय, दानाबारी र महमाईका चौकीबाट प्रहरी परिचालन गरिएको छ । बाघडोर खोलाले बगाएर बेपत्ता भएका चुलाचुली गाउँपालिका १ का ५५ वर्षीय अञ्चल लावतीको शव शुक्रबार झापामा मृत अवस्थामा फेला परेको थियो । शुक्रबार लावतीको शव झापाको कमल गाउँपालिका–२ भालुगाउँमा भेटिएको थियो ।

जनकपुरमा तीन फिटसम्म पानी, निर्माणाधीन पुल बगायो
प्रदेश २ को राजधानी जनकपुरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्, जिल्ला प्रशासन, वन निर्देशनालयको कार्यालयमा तीन फिटसम्म पानी जमेको छ । त्यस्तै जनकपुर अञ्चल अस्पताल र विमानस्थल पनि डुबानमा परेका छन् । जनकपुर बजार क्षेत्रका २५ वटै वडाका सडक नालामा बदलिएका छन् ।

धनुषा र सिरहाको सीमा क्षेत्रमा पर्ने कमला नदीको बाँध फुटेपछि मलहनियाँका एक सय ५० घर डुबेका छन् । स्थानीयको उद्धार प्रयास भइरहेको धनुषा प्रहरी उपरीक्षक शेखर खनालले बताए । डुवानमा परेका जनकनन्दनी गाउँपालिकाका नौवटा गाउँका वासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी दिपक कँडेलले बताए । त्यस्तै, क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर र शान्तिपुर जोड्ने औरही खोलाको निर्माणाधीन पुल शुक्रबार राति भत्किएको छ । सो पुल रोशन कन्स्ट्रक्सनले ६ वर्षदेखि निर्माण गर्दै आएको थियो । डुबानको बिचल्लीमै जनकपुरमा तरकारी र खाद्यान्नको मूल्य अकासिएको छ । २५ रुपैयाँ प्रतिकेजी रहेको आलुको मूल्य ४० रुपैयाँ पुगेको छ । ३५ रुपैयाँ प्रतिकेजी बिक्री भएको प्याज ५५ रुपैयाँमा कारोबार भएको छ । दाल, चामल र पिठोको मूल्य पनि महँगिएको छ ।

मृतकका परिवारलाई जनही तीन लाख दिने प्रदेश सरकारको घोषणा

प्रदेश २ सरकारले आठ जिल्लामा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई क्षतिपूर्तिस्वरूप ३÷३ लाख दिने निर्णय गरेको छ । प्रदेशमा चार जनाको मृत्यु भएको छ । पर्साको पर्सागढी नगरपालिका–१ का १० वर्षीय निखिल पटेल र महोत्तरीको बलवा नगरपालिका–२ का ६० वर्षीय हमिद मियाको मृत्यु भएको हो । धनुषाको चारनाथ नगरपालिका–५ मा एक बृद्ध र जनकनन्दनी गाउँपालिका–३ मा एक युवकको शव भेटिए पनि सनाखत नभएको प्रहरीले जनाएको छ । त्यस्तै, प्रत्येक जिल्लामा राहतका लागि १०÷१० लाख दिने निर्णय गरेको छ । जिल्ला दैवी प्रकोप तथा उद्धार समितिलाई तत्काल राहतका समग्री खरिद गरी वितरण गर्न सरकारले निर्देशन दिएको प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताए ।

गाडीसहित पहिरोमा परेका चालकको १२ घन्टापछि उद्धार

बिपी राजमार्गमा शुक्रबार राति गाडीसँगै पहिरोमा पुरिएका चालकलाई १२ घन्टापछि उद्धार गरिएको छ । सुनकोसी गाउँपालिका–१ कमेरेस्थित राजमार्गमा लेदो पहिरोले को।१च ८९५६ नम्बरको बोलेरो पुरेको थियो । गाडीसँगै सिरहा गोलबजार–३ का ३० वर्षीय इन्दल साह पुरिएका थिए । उनको सुनकोसी गाउँपालिकामा रहेको भरोसा अस्पतालमा उपचार भइरहेको छ । ठाउँ–ठाउँमा गएको पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध छ । पहिरोले जिल्लामा करिब दुई सय बिजुलीका पोल बगाएको विद्युत् प्राधिकरणले जनाएको छ ।

३३ घन्टापछि इन्जिनियरसहितको टोलीको उद्धार

निर्माणाधीन पुलको सिमेन्ट सुरक्षित ठाउँमा राख्न शुक्रबार बिहान कमला नदीमा गएको इन्जिनियरसहित नौजनाको ३३ घन्टापछि उद्धार भएको छ । सुर्खेतबाट आएको सेनाको हेलिकोप्टरले शनिबार साँझ ६ बजेतिर उद्धार गरेको हो । ठेकेदार कम्पनीका इन्जिनियर जामुन यादव, स्काभेटर चालक भोला मण्डल, इन्दल पटेल, चौकीदार कमला दास, मुखलाल दास, मजदुरहरू रविन मण्डल, सञ्जित मण्डल, सन्तोष मुखिया र मनीष शर्मा अविरण वर्षसँगै आएको बाढीको घेराबन्दीमा परेका थिए । उद्धारपछि उनीहरूलाई मध्यपूर्वी पृतना हेडक्वार्टरमा राखिएको छ ।

सिरहामा बाढीमा परेर २ जनाको मृत्यु भएको छ । कल्याणपुर नगरपालिका–४ का ५० वर्षीय कामेश्वर यादवलाई कमला नदीले बगाएको छ भने मिर्चैया नगरपालिका–१ मा खाल्डोमा डुबेर ११ वर्षीया बालिका राघनी कुमारी महतोको ज्यान गएको प्रहरीले जनाएको छ । बाढी र डुबानका कारण जिल्लामा एक हजार आठ सय ३४ घरपरिवार प्रभावित भएको प्रहरी प्रवक्ता अपिलराज बोहराले बताए ।

मोरङमा ११ सय परिवार प्रभावित

वर्षा र डुबानका कारण मोरङका ११ सय परिवार प्रभावित भएका छन् । खासगरी विराटनगर महानगरपालिका, बुढीगंगा, कटहरी, धनपालथान र जहदा गाउँपालिकाका ४ हजारभन्दा बढी व्यक्ति प्रभावित भएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । ‘विस्थापितलाई स्कुल, अग्ला स्थान, सामुदायिक भवन, मन्दिरजस्ता सार्वजनिक स्थानमा राखिएको छ,’ उनले भने । खासगरी सुकुम्बासी बस्ती रहेको विराटनगर महानगरपालिकाको १, ६, ८, १२ र १६ नम्बर वडा सबैभन्दा बढी प्रभावित बनेका छन् ।

तीन दिनदेखि बाग्मती खोलाको टापुमा थुनिएका १७ गोठाला आफैँ निस्किए

वृन्दावन नगरपालिका–१ स्थित बागमती खोलाको दुई भंगालोको बीचमा फसेका १७ गोठाला तीन दिनपछि आफैँ निस्किएका छन् । बिहीबार अपराह्नदेखि फसेका उनीहरूलाई शुक्रबार सुरक्षाकर्मीको टोलीले हेलिकोप्टरबाट उद्धारको प्रयास भए पनि मौसमका कारण सफल भएको थिएन । शनिबार पानी पर्न रोकिएर बस्तीतर्फको एउटा भंगालोको बहाव घटेपछि उनीहरू बस्तुभाउसहित फर्किन सफल भएका हुन् ।

तीन दिनसम्म भंगालोमा फसेका श्रीपूजन साहको भोगाइ स् बाढीले सबैलाई एकैचोटि सोहोर्छ भन्ने डर थियो, धन्न बाँचियो
बागमती खोलाको दुई भंगालोबीच हाम्रो खेत छ । गाईभैँसी चराउन र खेतमा काम गर्न बिहीबार बिहान त्यहाँ गएका थियौँ । बेलुका फर्किने तयारी हुँदै गर्दा खोलामा एक्कासि भेल आयो । हाम्रो घरतर्फको सानो भंगालो पनि तर्नै नसक्ने गरी उर्लियो । साथमा मोबाइल थियो, घरपरिवारलाई जानकारी गरायौँ । आफूहरूलाई बाढीले सोहोर्छ भन्ने चिन्ता हुँदा पनि घरमा नआत्तिन भन्यौँ । मेयर राम स्नेही यादवलाई पनि फोनबाटै भन्यौँ । रातिमा उद्धार सम्भव हुने कुरै भएन । रातभर डरैडरमा मुखामुख हेर्दै बस्यौँ । बागमती जोडले सुसाउँदा अब एकैचोटि सोहोर्ने भयो भन्ने डरले सातो जान्थ्यो । पानीसम्म नखाँदा पनि भोकको महसुस नै भएन । बस्नका लागि भने खेतमा पहिल्यै बनाएको झुपडी थियो ।

शुक्रबार उज्यालो भएपछि केही राहत महसुस भयो । किनभने खोलाको अवस्था देखियो । दिउँसोसम्म त उद्धार हुन्छ भन्ने अपेक्षा पनि थियो । सिडिओसँग पनि कुरा भएको थियो । तर, हेलिकोप्टरबाट उद्धारको प्रयास सफल नभएको भनेपछि फेरि डर सुरु भयो । एक रात त भाग्यले जोगायो, दोस्रो रात बढार्ने भयो भन्ने लाग्यो । धन्न बाँचेर परिवारसँग खुसी साट्न लेखेको रहेछ, बागमती खेततिर छिरेन ।

शनिबार बिहानसम्म भंगालो केही सानो भएको थियो । पानी पर्न छाडेपछि दिउँसोतिर त स्वाट्टै घट्यो । अबचाहिँ तरेरै जानुपर्छ भन्ने निर्णयमा सबै पुग्यौँ । बेलुका १७ जना नै भंगालो तरेर घर आइपुगेका छौँ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।