चितवन । दुई महिना रोकिएर काम सुरु भएकै दिन चितवनमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि २४ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।
चितवनमा रहेको पूर्वेली समाज र त्यसमा आवद्ध सदस्यहरुले २४ लाख रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेका हुन् ।
पूर्वेली समाजका तर्फबाट ५ लाख, पञ्चरत्न फिडका सञ्चालक डा. तिलचन्द्र भट्टराई र प्रा.डा. शारदा थपलियाबाट १० लाख, कुमार डाँगीबाट ५ लाख, वडा नः १२ वडाध्यक्ष नरेन्द्र कन्दगवाबाट १ लाख ३५ हजार र शिवकुमार घिमिरेबाट १ लाख ५ हजार सहयोग रंगशाला निर्माणका लागि सहयोग रकम फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई हस्तान्तरण गरे ।
सोहि दिन नै रंगशाला निर्माणका लागि चितवनको गाउँपालिका इच्छाकामनामा, गाउँपालिका अध्यक्ष गीता गुरूङको संयोजकत्वमा ४६ सदस्यीय क्रिकेट रंगशाला निर्माण सहयोग समिति गठन गरिएको अध्यक्ष धुर्मसले बताए ।
रकम हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र प्रदेश सांसद विजय सुवेदीले पूर्वेली समाजले रंगशाला निर्माणका लागि ठूलो सहयोग गरेको भन्दै सह्राहना गरे ।