काठमाडौंः रोजगारीको सिलसिलामा विदेश जाने नेपाली कामदारको जीवन अति जोखिममा परिरहेको सरकारकै आंकडाले पुष्टी गरेको छ ।
वैदेशिक रोजगारीका लागि मलेसिया, खाडी मुलुकमा खासगरी धेरै नेपालीको ज्यान गइरहेको छ । बैदेशिक रोजगार बोर्डको सचिवालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७५-७६ को विवरणमा वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु भएकामध्ये ७८३ जनाको शव नेपाल ल्याइएको उल्लेख छ । यीमध्ये पुरुषको संख्या ७६६ र महिलाको १७ जना रहेको छ ।
बोर्डले मृतक कामदारको शव उनीहरुका घर ठेगानासम्म पु¥याउन एक करोड ५७ लाख खर्च गरेको जनाएको छ ।
त्यस्तै, मृतक कामदारका परिवारलाई आर्थिक सहायता स्वरुप ४८ करोड ४९ लाख ४० हजार खर्च भएको छ । उक्त रकम वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु भएका ७३० जना पुरुष र २३ जना महिलाका परिवारलाई दिइएको छ ।
बोर्डका अनुसार ३३५ जना अंगभंग भएका कामदारलाई पनि ९ करोड १४ लाख १३ हजार आर्थिक सहायता प्रदान गरिएको छ । २९ जना कामदारलाई १२ लाख १५ हजार औषधोपचार सहयोग तथा ७८ जना अलपत्र कामदारलाई नेपाल झिकाउन ६५ लाख ६५ हजार खर्च भएको छ ।
विदेशमा मृत्यु भएर अलपत्र परेका ८२ जना कामदारको शव नेपाल ल्याउन ७८ लाख ५८ हजार खर्च भएको पनि बोर्डले जनाएको छ ।
बोर्डका अनुसार तालिम गोष्ठी, जनचेतना र छात्रवृत्ति समेतका कार्यमा बोर्डले एक वर्षको अवधिमा कूल ६२ करोड ३६ लाख ५४ हजार खर्च गरेको छ ।
© 2023