१२ आश्विन २०८१, शनिबार
,
Latest
केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला हत्याको एक वर्ष : न न्याय न आस



अ+ अ-

काठमाडौं। भीमदत्त नगरपालिका–२, उल्टाखाम कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ । वर्ष दिनको अवधिमा निर्मलाको न्यायका लागि सरकारी तवरबाट धेरै प्रयास भएको बताइए पनि उनले न्याय पाउन भने सकेकी छैनन् ।
‘वर्ष दिनसम्म न हत्यारा पत्ता लाग्यो न अब न्याय पाउने आस नै छ,’ पन्त परिवारको यो बिलौना निर्मलालाई गुमाउँदा जस्तो थियो अहिले पनि उस्तै छ । उनकी आमा दुर्गादेवी भन्छिन्, ‘न न्याय पाइयो, न अब आस नै छ ।’
१० साउन २०७५ मा साथीको घर जान भन्दै घरबाट हिडेकी निर्मलाको ११ गते बिहान घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । यसबीचमा हत्यारा पत्ता लगाउन सरकारबाट भएका हालसम्मका सबै प्रयास खेर गएको छ । तर, पनि सरकारले ढिलोचाँडो हत्यारालाई कानुनी कठघरामा ल्याउने दाबी गर्न भने छाडेको छैन ।

निर्मलाका बाबु यज्ञराज पन्तले छोरीको न्यायका लागि लड्दा लड्दै हारेको बताए । ‘न्यायको पर्खाइमा बस्दा बस्दै आस मरिसक्यो, हामीले छोरी मागेका थिएनौं, न्याय मागेका हौं, राज्यले एक वर्षसम्म पनि न्याय दिन सकेन, मैले हारें,’ निर्मलाका बाबु यज्ञराजले राजधानीसँग भने । उनले गृहमन्त्री रामबहादुर थापाको पछिल्लो अभिव्यक्तिले झनै निराश बनाएको बताए ।
‘अझै पनि झिनो आश त छ, न्याय पाइएलाकी भन्ने तर गृहमन्त्रीज्यूकै भनाइले राज्य नै हामीविरुद्ध लाग्यो जस्तो लाग्छ, अस्ति पनि गृहमन्त्रीले निराश पार्ने गरी बोल्नुभएछ,’ उनले थपे ।

आधा दर्जन समिति, प्रगति शून्य

यसबीचमा निर्मलाको हत्याको छानबिनका लागि करिब आधा दर्जन छानबिन समिति बनेका छन् । सबैजसो समितिले निर्मलाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको छ । यस्तै, ती प्रतिवेदनले प्रहरीबाट सुरुवाती चरणमा नै अनुसन्धानमा लापर्बाही भएको भन्दै निष्कर्षसमेत दिएका छन् । तर, हत्यामा संलग्नलाई भने कुनै पनि प्रतिवेदनले किटान गर्न सकेको छैन ।

हत्याको अनुसन्धानका लागि यसबीचको अवधिमा सरकारी तबरबाटै गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ७ भदौ २०७५ मा पाँच सदस्यीय छानबिन समिति बनाइएको थियो । प्रहरीका डीआईजीहरू र उच्च तहका सरकारी अधिकारी सम्मिलित सो समितिले स्थलगत अध्ययनपछि गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदनसमेत बुझाइसकेको छ । तर, सो प्रतिवेदन अहिलेसम्म अलपत्र छ ।
यसबाहेक पनि सो प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदनहरू तयार भएका छन् । अहिलेसम्मका कुनै पनि प्रतिवेदनले अभियुक्तको किटानी गर्न सकेका छैनन् ।
मैनाली समितिको प्रतिवेदनले निर्मलाको बलात्कारमा एक व्यक्ति मात्रै संलग्न रहेको नदेखिएको र अन्यत्रै हत्या गरेर उखुबारीमा फालिएको हुन सक्ने निचोड दिएको थियो ।

दुई दर्जन बढीको डीएनए जाँच

घटनाका विषयमा शंकामा रहेका दुई दर्जनभन्दा बढी शंकास्पद व्यक्तिको हालसम्म डीएनएसमेत जाँच भएको छ करिब एक दर्जन शंकास्पद व्यक्ति पक्राउ परेर पनि छुटिसकेका छन् । डीएनए परीक्षण गरिएका कसैको पनि नमुना निर्मलाको योनीबाट निकालिएको भेजिनल स्वाबसँग मेल खाएको छैन ।
यसबीचमा हजारौं व्यक्तिको कल डिटेललाई समेत प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । सो समयमा घटनास्थल नजिकको नेटवर्कमा चलेका प्रायः सबै जसो फोनलाई प्रहरीले ट्र्याक गरिसकेको छ । तर, पनि वास्तविक हत्यारा पत्ता लाग्न सकेको छैन ।

हत्यारा नभेट्दासम्म विश्राम हुन्न : प्रहरी

प्रहरीले भने निर्मला पन्तको हत्या अनुसन्धान जारी रहेको र हत्यारा पत्ता नलाग्दासम्म अनुसन्धानले विश्राम नपाउने बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी विश्वराज पोखरेलले निर्मला हत्याको अनुसन्धान निरन्तर चलिरहेको र हत्यारा पत्ता नलाग्दासम्म अनुसन्धानसमेत नरोकिने बताए ।‘अनुसन्धान अहिले पनि जारी छ, हत्यारा पत्ता नलाग्दासम्म अनुसन्धान जारी रहन्छ, अनुसन्धानले विश्राम लिँदैन ।’ प्रहरी प्रवक्ता पोखरेलले राजधानीसँग भने ।
उनले अहिले पनि स्थानीय प्रहरी, प्रदेश स्तरको प्रहरी टोली र केन्द्रबाट समेत अनुसन्धान टोली कञ्चनपुर गएर हत्या प्रकरणबारे अनुसन्धान जारी राखेको जनाए ।

डीआईजी पोखरेलले शंकास्पद व्यक्तिहरूलाई अहिले पनि प्रहरीले निगरानीमा राखिरहेको र पक्राउ परेर छुटेकालाई समेत बेलाबखत थप अनुसन्धानका लागि बोलाइने गरेको जनाए ।
निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि एक वर्षको अवधिमा दर्जनभन्दा बढी टोली कञ्चनपुरमा खटिइसकेका छन् । हत्या भए यता कञ्चनपुरका तीन जना प्रहरी प्रमुख सरुवामा परिसकेका छन् । सुरुवाती चरणमा नै एसपी रहेका डिल्ली विष्टलाई हटाएपछि सो प्रकरणको अनुसन्धानका लागि प्रधान कार्यालयले अर्का एसपी कुवेरसिंह कडायत र दुर्गा सिंहलाई पठाएको थियो ।

त्यसपछि अर्का एसपी सुदीप गिरीलाई पठाइएको थियो । हाल उनको पनि कैलाली सरुवा गरिएको छ । यस्तै, महानगरीय अपराध अनुसन्धान महाशाखाबाट डीएसपी मनोहर भट्टको पनि इलाका प्रहरी कार्यालय टीकापुरमा सरुवा गरिएको छ । सुरुवातमा नै अंगगुर जिसीलाई अनुसन्धानमा खटाइएको थियो ।
हाल केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० का एसएसपी रामदत्त जोशी सो घटनाको प्राविधिक विश्लेषणमा छन् । यस्तै, महानगरीय आयुक्तको कार्यालय, रानीपोखरीको इन्टलिजेन्स शाखाका एसपी गणेश चन्दसमेत अनुसन्धानका लागि कञ्चनपुरमै रहेको बताइन्छ ।

विष्टतिरै सुई

हत्याको अुसन्धानको सुरुवातको चरणमा नै प्रहरीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेको थियो । प्रहरीले विष्टलाई नै दोषी देखाउन अनेक बहानाबाजी समेत गरेको थियो । तर, सर्वत्र विरोधकै बीच भएको विष्टको डीएनए नमुना परीक्षणमा निर्मलाको योनीबाट निकालिएको भेजिनल स्वावको नमुनासँग मेल खाएन । त्यसपछि विष्ट छुटे ।
तर एक वर्षका बीचमा प्रहरीले फेरि विष्टतिर नै फेरि अनुसन्धानको सुई घुमाएको थियो । हाल पनि विष्टका विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी राखेको प्रहरी स्रोतले बताउँदै आएको छ ।

डीएनएमै प्रश्न

निर्मला हत्याको सुरुवाती चरणको अनुसन्धानको कमजोरीका कारण यदाकदा उनको योनीबाट निकालिएको भेजिनल स्वाबमा समेत प्रश्न उठ्ने गरेको छ । सोही प्रश्नका कारण एक वर्षको यस अवधिमा उनको आमाको डीएनएसँग समेत उनको नमुना परीक्षण गरिएको थियो । तर, सो नमुनासँग छोरीको नमुना मेल खाएपछि भने सो प्रश्न गलत साबित भएको मानिन्छ ।
तर, निर्मलाको भेजिनल स्वाबसँग हालसम्म शंकास्पद ज–जसको डीएनए जाँच गरियो ती सबै नमुना ठीक छन् त भन्ने प्रश्नसमेत हालसम्म पनि शंकाको घेरामा नै छ । यसैबीच प्रहरीले डीएनए जाँचका लागि लिइएका नमुनालाई अन्तर्राष्ट्रिय स्तरमा जाँचका लागि पठाउने तयारी गरेको बताइए पनि हालसम्म त्यतातर्फ प्रहरी पुग्न सकेको छैन । अर्कातर्फ डीएनए जाँचका लागि भएको प्रविधिमा समेत बेलाबखत प्रश्न उठ्दै आएको छ ।

अदालतमा मुद्दा

प्रहरी भन्छ, निर्मला घटनाको अनुसन्धान जारी छ । हाल तत्कालीन एसपी डिल्लीराज विष्टसहित आठ जनाविरुद्ध प्रमाण नष्ट र चार जनाविरुद्ध यातना कसुरको मुद्दा अदालतमा विचाराधीन छ । उनीहरूलाई जिल्ला अदालतले धरौटीमा छाडेको छ । घटनामा संलग्नताको आरोप लागेकाहरूले पनि मानहानिसँगै क्षतिपूर्तिको माग गरी जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

घाइतेको बिचल्ली

निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा घाइते भएकाहरू अहिले पनि राजधानीमा उपचार जारी छ । ७ भदौको आन्दोलनका क्रममा दायाँ खुट्टामा गोली लागेर घाइते भएका भीमदत्त नगरपालिका–४ का अर्जुन भण्डारा काठमाडौंस्थित शिक्षण अस्पतालमा अझै अचेत अवस्थामा छन् । उनको दायाँ खुट्टा काटिएको छ भने शरीरका अन्य भागसमेत चल्दैन । एक वर्षदेखि अस्पतालमा रहेका उनको उपचारमा समस्या भएको अर्जुनकी आमा शिवकला गुनासो गर्दै आएकी छन् । गत वैशाखबाट सरकारले उपचार खर्च दिन छाडेपछि समस्या भएको उनले बताएकी हुन् ।

निर्मलाका बुवा यज्ञराज पन्तसमेत घाइतेका परिवारले फोन गरेर गुनासो गर्ने गरेको बताउँछन् ।
‘हामीले त न्याय पाएनौं ती घाइतेका परिवारबाट फोन आउँछ । सरकारले उपचार खर्च दिन छाड्यो भनेर रुन्छन्, ‘हामीलाई केही चाहिएन घाइतेको उपचार होस्,’ निर्मलाकी बाबु पन्तले भने ।
प्रहरीको गोली लागेर घाइते भएका उमेश देउवा पनि अहिले उपचारमै छन् । उनको स्वास्थ्यमा भने क्रमिक सुधार आएको छ । उनलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ । तर, नियमित फलोअप गराउन आर्थिक अभावका कारण समस्या भएको उनको परिवारको समेत गुनासो छ । यसैगरी, चेतन भट्ट, सुरेन्द्र देउवालगायत घाइते पनि नियमित उपचारकै क्रममा अस्पताल धाउँदै आएका छन् ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।